
एउटै दिन, दुई अनुभूति : कसैको लागि उत्सव कसैको लागि सम्झना
–रमेश अधिकारी
कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन। अस्तिका दिन सामाजिक सञ्जालमा बुबा प्रतिको प्रेम, सम्मान, सम्झना र अभावका अनेक अभिव्यक्ति देखिए। कसैले बुबासँगको तस्बिर सार्वजनिक गर्दै शुभकामना दिए, कसैले बुबालाई सम्झिएर भावुक शब्द लेखे। तर ती पोस्टहरू पढ्दा कुशे औँसी केवल एउटा पर्व नभएर बुबासँग जोडिएका फरक–फरक जीवन भोगाइको सार्वजनिक अभिव्यक्ति बनेको देखिन्थ्यो। यस लेखमा हिजो सार्वजनिक भएका तिनै विशिष्ट पोष्टहरुलाइ छनोट गरी विष्लेषण गरिएको छ।
यदुनाथ अधिकारीले दिवंगत बुबालाई सम्झँदै फेसबुकमा लेखेका छन्–“भोक तिर्खा घाम पानी नभनी छोरा छोरीको उज्जवल भविश्य निर्माणमा अहोरात्र खटी छोरा छोरीलाइृ आत्मनिर्भर वनाउनु हुने हाम्रा वुवा आज हामी माझ हुनुहुन्न वुवाले छोडेर गएको पनि २१ वर्ष भएछ । तर वुवाको माया र याद हरपल आइनै रहन्छ। यस धर्तिमा जति दुख र संघर्ष गर्नु भयो स्वार्गमा त्यस्तो दुख कष्ट नहोस हार्दिक श्रर्दाञ्जलि छ वुवा ।”
यो पोस्टमा कुशे औँसी उत्सव भन्दा बढी स्मृतिको दिन बनेको छ। यहाँ कुशे औँसीको टीका, मिठाई र औपचारिक संस्कार भन्दा बुबाले जीवन भर गरेको त्यागको स्मरण छ। ध्रुव सुवेदीको पोस्ट पनि दिवंगत बुबाप्रतिको यस्तै भावनाले भरिएको छ। उनले लेखेका छन्–“कुशे ओंसिको यस पवित्र दिनमा मेरो प्यारो वुवालाइ भावपूर्ण सम्झना। आज हजुर हाम्रो साथमा हुनुहुन्न तर हजुरले दिनु भएको माया संस्कार आशिर्वाद र सम्झनाहरु संधै हाम्रो हृदयमा जीवित छन। समय वित्दै गएपनि वुवाको अभाव कहिल्यै पुरा हुँदैन । हजुरलाइ हरेक दिन सम्झन्छु वुवा।” यहाँ ‘माया, संस्कार, आशीर्वाद र सम्झना’ चारवटा शब्दले बुबाको भौतिक उपस्थिति भन्दा पनि उहाँले सन्तानको जीवनमा छोडेर गएको प्रभावलाई देखाउँछन्। अभिभावक गुमाउनुको पीडा समयले मेटाउन नसक्ने संकेत गर्छ।
तर सामाजिक सञ्जालमा सबै पोस्ट दिवंगत बुबाको सम्झनामा मात्र सीमित थिएनन्। बुबा जीवित भएका सन्तानका पोस्टमा प्रेम, कृतज्ञता र शुभेच्छाका फरक रंग देखिए। आँचल श्रेष्ठले आफ्ना बुबालाई ‘जीवित भगवान्’ भन्दै लेखेकी छन्–“मेरो जीवित भगवान । हजुरले गर्नु भएको माया साथ सपोर्ट र मेहनतको कदर शव्दमा व्यक्त गर्न सक्दिन । सधै हजुरको छाँया वनेर साथ दिन पाउँ भन्ने चाहना छ। छोरी भएर जन्मिएकी हुँ तर कर्तव्य माया र साथमा कहीले छोरा भन्दा कम हुने छैन भगवानले हजुर लाइ सधै स्वास्थ्य र खुशी राखुन। Happy father’s Day Dadji” यो अभिव्यक्तिमा बुबा प्रतिको सम्मानसँगै छोरीको भूमिका बारेको सामाजिक धारणा पनि जोडिएको छ। ‘छोरी भएर जन्मिएकी हुँ तर कर्तव्य, माया र साथमा कहिल्यै छोरा भन्दा कम हुने छैन’ भन्ने भनाइले छोराले मात्र बुढेसकालको सहारा दिन्छ भन्ने परम्परागत सोचलाई चुनौती दिन्छ। यसले बदलिँदो नेपाली पारिवारिक सम्बन्धमा छोरीको भूमिकामा आएको परिवर्तनलाई पनि संकेत गर्छ।
तर यी भावुक र प्रेमपूर्ण पोस्टहरूबीच पूर्णमान श्रेष्ठको पोस्ट भने केही फरक देखिन्छ। उनले कुशे औँसीको अवसरलाई सामाजिक सञ्जालमा प्रदर्शन गरिने प्रेम भन्दा व्यवहारमा देखाइने प्रेमसँग जोड्दै लेखेका छन्–“सकिन्छ भने वाँचुनजेल ह्याप्पी राखौ सवै बृद्धलाइ चाहे जो सुकै होस। सकिन्न भने साठी–सत्तरी कटि सकेकालाइ आफ्ना वाउलाइ मात्र भने पनि ह्याप्पी राख्ने कोशिश गरम फेसवुकमा होइन घरमा । मरे पछी मात्र चटक देखाउने छोरा धेरै देख्छु।जहाँ फादर हुँदैन त्यहाँ वढी ह्याप्पी फादर अझ फेसवुकमा । नमरुन्जेल के दियो र वाउले भनेर सुनपानी नदिने छोराहरु पनि समाजमा देखिन्छन ।”
यो पोस्टले भने कुशे औँसीको मूल भाव माथि नै प्रश्न उठाएको छ। जीवित छँदा बुबा आमालाई माया, सम्मान र समय दिनु भन्दा सामाजिक सञ्जालमा तस्बिर राखेर शुभकामना दिनु कति अर्थपूर्ण छ भन्ने प्रश्न यसमा छ। बुबा जीवित छँदा ‘के दियो र बाउले’ भनेर प्रश्न गर्ने तर निधनपछि सामाजिक सञ्जालमा भावुक श्रद्धाञ्जली लेख्ने प्रवृत्ति माथि उनले गरेको टिप्पणीले कुशे औँसीलाई समिक्षा गर्ने अवसर पनि बनाइ दिएको छ।
आधुनिक फादर्स डे को सुरुआत अमेरिकाकी सोनोरा स्मार्ट डोडसँग जोडिन्छ। सन् १९०९ मा उनले आफ्ना पिताको सम्मानमा फादर्स डे मनाउने अभियान अघि बढाइन्। सन् १९१० मा अमेरिकाको वासिङ्टन राज्यस्थित स्पोकानेमा पहिलो औपचारिक फादर्स डे मनाइएको थियो। नेपालमा मनाइने बुवाको मुख हेर्ने दिनको परम्परा निकै पुरानो मानिन्छ। यसको सुरुआत कहिले देखि भयो भन्ने यकिन ऐतिहासिक मिति भने भेटिँदैन। पौराणिक कालदेखि नै मनाउँदै आएको भन्ने जन विश्वास छ। त्यसैले कुशे औँसी केवल एउटा पर्व मात्र होइन। यो प्रकृति, धर्म, संस्कार र पितृ प्रतिको श्रद्धा जोडिएको दिन हो।
कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन कसैका लागि उत्सव हो भने, कसैका लागि सम्झना मात्र। यो दिन सामाजिक सञ्जालमा बुवासँगका तस्बिर र ‘ह्याप्पी फादर्स डे’का शुभकामना छाउँछन्, दिवंगत बुवाका तस्बिरमा श्रद्धाञ्जली अर्पण गरिन्छ। तर प्रश्न उठ्छ–बुवा प्रतिको माया फेसबुकको स्टाटस र तस्बिरमा मात्र सीमित छ तरु बुवा जीवित हुनुहुन्छ भने उहाँसँग समय बिताउनु, कुरा सुन्नु, आवश्यक पर्दा साथ दिनु र सम्मान गर्नु नै साँचो माया हो। कुशे औँसी हिन्दु संस्कार र परम्परासँग जोडिएको पर्व हो।
भाद्र कृष्ण औँसीका दिन कुश पूजा गरी घरमा भित्र्याउने भएकाले यसलाई कुशे औँसी भनिन्छ। यही दिन बुवाको सम्मान, सम्झना र पितृ प्रतिको श्रद्धा व्यक्त गर्दै बुवाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ। आधुनिक फादर्स डे र नेपाली बुवाको मुख हेर्ने दिनको परम्परा फरक भए पनि दुवैको मूल भावना पिता प्रतिको सम्मान हो। त्यसैले कुशे औँसी केवल पर्व होइन, सम्बन्ध, संस्कार र सम्झनाको दिन हो–बुवालाई माया गरेको प्रमाण फेसबुकमा होइन, उहाँसँगको व्यवहारमा देखिनुपर्छ।
अस्तु । ।।।




