
कुकुर बिरालोले टोकेपछी के गर्ने ?
डा. प्रकाश अधिकारी
आज सेप्टेबर २८ अर्थात बिश्व रेबिज दिवस।विश्वभर “ एकतामा शक्ति रेबिजबाट मुक्ति” भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी रेबिज दिवस मनाईदैछ।रेबिज रोग लक्षण देखा परिसकेपछि सत प्रतिशत प्राणघातक भएता पनि आवश्यक सतर्कता अपनाउन सके सत प्रतिशत रोकथाम गर्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनको विश्वव्यापी रणनीतिक योजनाले संन् २०३० सम्ममा कुकुर टोकाइले सर्ने रेबिज बाट हुने मानव मृत्युलाई शून्यमा पु¥याउने लक्ष्य मा नेपालले पनि प्रतिबद्दता जनाएको छ । रेबिज रोग प्राचीन रोग हो यधपि अहिले पनि यो रोग बाट हरेक ९ मिनेटमा एक ब्यक्तिको मृत्यु हुने गरेको छ ।मृत्यु हुने हरुमा ४० ५ भन्दा बढ़ी बालबालिका रहेका छन । नेपालमा पनि हरेक बर्ष यो रोगको कारण एक सय भन्दा बढ़ी मानिसको मृत्यु हुन्छ भने हरेक बर्ष करिव एक लाख मानिसले कुकुरको टोकाई पश्चात खोप लागएको तथ्यांक छ ।
रेबिज रोग कुकुर बाहेक बिरालों, मूसा, चमेरो वा अन्य जंगली जनावर बाट सर्ने भएता पनि मृत्यु हुने मानिसहरुमा ९५ ५ भन्दा बढ़ी कुकुरको टोकाईबाट हुने गरेको छ। कुकुरले जब आफूलाई असुरक्षित र त्रासित महसूस गर्छ तेतिबेला टोकने कुरा सामान्य हो। यो कुकुरहरुको प्राकृतिक बानी नै हो। तर रेबिज लागेको कुकुरहरूले कुनै पनि व्यक्तिलाई बिना कारण पनि टोक्छन्। आक्रामक र मुखमा फिँज हुदैमा रेबिज नै हो भन्ने कुरा पनि सत्य होइन।धेरैजसो रेबिज संक्रमित कुकुर आक्रामक हुने भएता पनि यसको बिपरित केही कुकुरहरुभने सुरुमा धेरै निष्क्रिय देखिन सक्छन्। रेबिज लागेको कुकुर वा अन्य जनावरको टोकाई बाट मात्र नभई शकास्पद जनावरको रयाल शरीरको बिभिन्न झिल्ली वा घाउको संपर्कमा आएमा समेत रेबिज रोग सर्ने संभावना हुन्छ ।
घाउको हेरचार र उपचार
रेबिज को रोकथाम संभाब छ तर रोगको लक्षण देखि सकेपछि भने रेबिज रोगको उपचार संभब छैन।धेरै जसो मानिसहरु कुकुरले टोकने बित्तिकै आतीने र घाउमा वरिपरी जे पाइन्छ त्यो प्रयोग गर्ने गरेको पाइन्छ। रोगको बारेमा आवश्यक ज्ञान नहूँदा वा हेलचक्राई गर्दा यो रोग बाट धेरै मानिसले ज्यान गुमाउनु परेको छ । त्यसैले कुकरले टोकिहालेमा घाँउलाई तुरुन्तै १०१५ मिनेट सम्म साबुन पानीले राम्ररी सफा गर्नुपर्दछ ।यदि सावून नभएमा पानीले मात्र भएनी पखाल्नु पर्दछ । सम्भव भएमा घाउलाई ७० प्रतिशत अल्कोहल वा पोभिडन आयोडिनले राम्रोसँग सफा गर्न सकिन्छ तर घाउलाई कुनै पनि ड्रेसिंग गर्ने वस्तु वा ब्याण्डेजले छोप्नु भने हुँदैन। घाउलाई साबुन पानीले धुनु नै रेबिज रोगबाट बच्न गरिने प्रमुख प्रथामिक उपचार हो ।
चिकित्सकको सल्लाहमा खोप
रेबिज रोग फैलन नदिन मानिस र जनावर दुवैका लागि खोपहरू उपलब्ध छन्। कुकुर वा जंगली जनावरले टोकेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी तुरून्तै रेबिज विरूद्धको खोप लगाउनु पर्दछ । कतिपयले अझै पनि रेबिजको उपचारका लागि पेटमा २० वा सोभन्दा बढी खोप लगाउनु पर्दछ भन्ने सोचदछन तर आजको उपचार पद्धतिमा सामान्यतया अबस्था हेरी पाखुरमा टोकेको दिन, तेस्रो दिन र सातौ दिन गरी ३ पटक खोप लगाए पुग्दछ । खोप बाहेक कहिलेकाही घाउको जटिलता र टोकेको स्थान हेरी चिकित्सकले इम्यूनोग्लोबिन समेत लगाउन सिफारिस गर्दछन ।
सैदांतिक रुपमा भन्नुपर्दा रेबिज बिरुद्द नियमित रुपमा खोप लगाएको कुकुरले टोकेमा खोप लागाउनु पर्दैन तर खोपको गुणस्तर, लगाएको समय तरिका र कुकुरको शारीरीक अबस्था उपयुक्त नभएमा खोप लगाएपनि कुकुरमा रेबिज रोग देखिन सक्छ तेसैले कुकुरलाई रेबिज विरुद्धको खोप लगाइए पनि परामर्शको लागि चिकित्सककोमा जानुपर्छ।चिकित्सकले टोकेको घाउको मूल्याङ्कन गरेर पोस्ट(एक्सपोजर भ्याक्सिन आवश्यक छ कि छैन भनेर निरकोल गर्दछन ।
रेबिज बिरुद्दको खोप लगाइएको र रेबिज बिरुद्द लड़ने क्षमता पूर्ण रुपमा बिकास भएको कुकुरबाट जन्मेको बच्चाहरुसग कम्तीमा ३ महिना सम्मको उमेरको लागि रोग सग लड़ने क्षमता माउबाट आएको हुन्छ । त्यसैले सामान्यतया ३ महिना भन्दा कम उमेरको कुकुरले टोकदा खोप लिनु पर्दैन तर हामीले पालेको कुकुरको आमा बारे हामीलाई धेरै जानकारी नहुने हुदा कम उमेरको बच्चा कुकुरले टोकेपनि रेबिज बिरुद्दको खोप लिनु बुद्दिमानी हुन्छ ।
पुरानो मानव खोपबाट केही साइड इफेक्टहरू भएता पनि नयाँ मानव खोप जुन हाल उपलब्ध छ त्यसले साइड इफेक्ट नहुने हुदा निर्धक्कको साथ खोप लगाउनु पर्दछ । सबै आधुनिक खोपहरु निसक्रिय, सुरक्षित र प्रभावकारी हुने भएकाले गर्भवती र स्तनपान माहिलाले रेबिज बिरुदको खोप लिन मिल्छ र बच्चालाई कुनै असर गर्दैन ।
टोक्ने कुकुरको निग्रानी
एउटै कुकुरले धेरै मानिसलाई वा जनावरलाई टोकेर रेबिज रोग सारेको उदाहरण पनि छन त्यसैले अन्य मानिसलाई नटोकोस भन्नको निमित्त टोक्ने कुकुरलाई केही समयसम्म निग्रानीमा राख्नु पर्दछ । सामान्यतया टोकेको कुकुर रेबिज रोगबाट संक्रमित छ भने १० दिन भित्र सो कुकुरको मृत्यु हुन्छ । कुनै कुकुरले टोकेमा र केही समयमा सो कुकुरको मृत्यु भएमा नजिकको पशु सेवा शाखा वा भेटेरीनरी अस्पतालमा सो को जानकारी गराई यसरी मरेको कुकुरलाई पशुपक्षि रोग अन्वेषण प्रयोगशाला बाट परीक्षण गराउनु पर्दछ । यदि रेबिज रोग पुस्टि भएमा सो कुकुरसग सम्पर्कमा आएका अन्य कुकुर र स्तनधारी जनावरलाई रेबिज बिरुद्दको खोप लगाउनु पर्दछ ।
रेबिज बाट बच्न घरपालुवा कुकुर बिरालोलाई अनिवार्य खोप
रेबिज रोग बाट आफू र आफ्नो समुदायलाई बचाउन कुकुरबिरालो लाई तीन महिनाको उमेरमा पहिलो पल्ट, चार महिनाको उमेरमा दोस्रो पल्ट र त्यसपश्चात हरेक बर्ष नियमित रुपमा अनिवार्य रेबिज बिरुद्दको खोप लगाउनुपर्दछ । घरपालुवा र बाहिर संपर्कमा नआउने कुकुर र बिरालाहरूलाई रेबिज बिरुद्दको खोप लगाउन पर्दैन भन्ने केही मानिसहरुमा भ्रम रहेको पाइन्छ । घरपालुवा कुकुर पनि घरबाट लुकेर बाहिर निस्कने र छिमेकको जंगली जनावरबाट रेबिज को जोखिममा पर्न सक्छ।
रेबिज बाट संक्रमीत चमेरा वा अन्य सानो प्रकारका जंगली जनावर जूनसुकै बेला तपाईंको घर भित्र पसि तपाईको कुकुरको संपर्कमा आएको हून सक्छ। रेबिज एक प्राणघातक रोग भएकोले घरपालुवा र बाहिर संपर्कमा नआउने कुकुर र बिरालाहरूलाई रेबिज बिरुद्दको खोप लगाउन उपयुक्त हुन्छ । लेखक भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय गोरखाका बरिष्ठ पशु चिकित्सक हुन् ।




