
गोरखा दरबार क्षेत्र ः पर्ला त विश्व सम्पदा सूचीमा ?
किरण लोहोनी ः गएको साउन अन्तिम सातातिर गोरखा दरवार क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल थालिएको खबरहरु सार्वजनिक भए । खासगरी जिल्ला समन्वय समितिले जिल्लासभाबाट औपचारिक निर्णय गर्दै काठमाण्डौंमा पर्यटनकर्मीहरु सहितको बृहद जमघटमा यो प्रस्ताव उठान गरेपछि त्यसले खबरको रुप पायो । जनप्रतिनिधिहरुका कामबाट आशाको सञ्चार हुन नसकिरहेको बेला अन्तर्राष्ट्रिय रुपमा समेत महत्व राख्ने प्रस्ताव जनप्रतिनिधिमूलक एउटा निकायबाट औपचारिक मञ्चमा पेश हुनुले निराश नागरिकलाई आशाको सञ्चार गराउने नै भयो । तर आजभन्दा २३ वर्ष अघिदेखि नै गोरखा दरवार क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रिया सुरु भएको, बरु पछिल्लो समय हामी गोरखालीहरुकै कारण यो क्षेत्रलाई त्यस सूचीमा समावेश गराउन सकिने सम्भावना कमजोर बन्दै गएको कुराले भने हामीलाई निराश तुल्याउन सक्छ । यथार्थ यही हो, नेपालले युनेस्को समक्ष गोरखा दरवार क्षेत्र सहित थप १५ वटा प्राकृतिक तथा साँस्कृतिक सम्पदालाई विश्व सम्पदाको मान्यता दिन सन् १९९६ मै औपचारिक प्रस्ताव गरेको हो । तर जति वर्ष बित्दै गयो, गोरखा दरवार क्षेत्रको हकमा त्यो सम्भावना कमजोर बन्दै गएको देखिन्छ । यसका कारण केलाउनु अघि विश्व सम्पदा के हो र उक्त सूचीमा पर्नका लागि पूरा गर्नुपर्ने प्रक्रियाहरुबारे चर्चा गरौं ।
के हो विश्व सम्पदा सूची ?
संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र साँस्कृतिक संगठन युनेस्कोले बहुमूल्य सम्पदाका रूपमा सूचीकृत गरेका विश्वभरका स्मारक र स्थानहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ । यूनेस्कोले कुनै पनि राष्टूको विशेष सांस्कृतिक महत्व राख्ने वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर लगायत धरोहरहरुलाई आफ्नो सुचिमा सूचीबद्ध गर्छ । जुन विश्व सम्पदा समितिद्वारा चयन गरिन्छ र सोही समितिले त्यस्ता सम्पदा क्षेत्रको रेखदेख युनेस्को मार्फत गर्दछ । पछिल्ला मानव पुस्ताका लागि विभिन्न कोणबाट महत्वपूर्ण ठानेर युनेस्कोले यस्ता सम्पदाहरुलाई सूचीकृत गरी संरक्षण गर्दछ जुन संस्कृतिको दृष्टिले मानवताको लागि महत्वपूर्ण हुन्छ । विश्व सम्पदा सूचीमा समावेश साँस्कृतिक धरोहर र स्मारक लगायतका सम्पदाहरुलाई विश्व सम्पदा समितिले खास परिस्थितिमा आर्थिक सहयोग पनि गर्छ । युनेस्को विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदा सांस्कृतिक र प्राकृतिकलाई सूचीकृत गरिएका छन् । सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौं उपत्यकाभित्रका तीनवटा ऐतिहासिक दरवार सहित सात स्मारक क्षेत्र, दुई वटा वौद्ध स्तुप, चाँगुनारायण र पशुपतिनाथ मन्दिर र लुम्बिनी तथा प्राकृतिक सम्पदा अन्तर्गत चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा छन् । काठमाण्डौं उपत्यकाका ती सम्पदालाई सन् १९७९ मात्रै युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो । प्रत्येक सम्पदा क्षेत्रलाई सम्बन्धित देशको विशेष सम्पत्ति त मानिन्छ नै तर पूरै विश्व समुदायलाई त्यस्ता सम्पदा संरक्षणको जिम्मेवारी रहन्छ । अर्थात, सम्पत्ति त्यही देशको भएपनि त्यसको संरक्षणको दायित्व भने विश्व समुदायको हुन्छ ।
विश्व सम्पदा सूचीमा पर्ने प्रक्रिया
कुनै पनि देशले सर्वप्रथम आफ्नो महत्वपूर्ण सांस्कृतिक र प्राकृतिक सम्पदाको एउटा सूची बनाउनु पर्ने हुन्छ । यसलाई प्रारम्भिक सूची पनि भन्ने गरिन्छ । विश्व सम्पदा समितिले कुनै पनि राष्ट्रलाई यसप्रकारको कागजात बनाउदा चाहिएको सल्लाह तथा सहयोग पनि गर्छ । यसरी तयार भएको प्रस्तावलाई दुई स्वतन्त्र सङ्गठनहरु अन्तर्राष्टिूय स्मारक तथा स्थल परिषद तथा विश्व संरक्षण संघद्वारा मुल्यांकन गरिन्छ । उनीहरुले आफ्नो मुल्याङ्कनपछिको राय अर्थात सिफारिस विश्व सम्पदा समितिलाई पठाउँछन् ।
समितिको बैठक वर्षमा एक पटक मात्रै हुन्छ, जसमा सिफारिस गरिएको सम्पदालाई विश्व सम्पदा सूचीमा राख्ने वा नराख्ने भन्ने बिषयमा निर्णय हुन्छ । सम्पदा सूचीमा नराख्ने निर्णय भएमा पनि समितिले आफ्नो निर्णयलाई सुरक्षित राख्छ अर्थात एकपटक विश्व सम्पदा सूचीमा नपर्दैमा सँधैका लागि सम्भावना सकिँदैन । युनेस्कोले कुनै पनि सम्पदालाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न १० मापदण्ड बनाएको छ जसमध्ये सुचिकृत हुन कम्तीमा एउटा मापदण्ड पुरा गर्नु पर्दछ । पहिले सिफारिस गरिएको सम्पदालाई तोकिएको मापदण्ड पूरा भएको आधार सहित फेरि सिफारिस गरेमा युनेस्कोले विश्व सम्पदा सूचीमा नराख्ला भन्न सकिन्न ।
गोरखा दरवारको सम्भावना किन कमजोर ?
जिल्ला समन्वय समितिले औपचारिक निर्णय सहित देशका प्रतिष्ठित पर्यटनकर्मीहरुको मञ्चमा गोरखा दरवार क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि प्रस्ताव गर्नु स्वागतयोग्य हो । तर एकातिर सम्पदा सूचीमा सूचीकृत हुनका लागि पूरा गर्नुपर्ने मापदण्ड मिच्दै जाने र अर्कोतर्फ प्रस्ताव गर्दै जाने कुरामा संगति देखिन्नँ । युनेस्कोले बनाएको १० मापदण्डमध्ये प्राकृतिक सम्पदाको हकमा ४ र साँस्कृतिक सम्पदाको हकमा ६ वटा मापदण्ड छन् । गोरखा दरवार र अहिले संग्रहालय भएको तल्लो दरवार साँस्कृतिक सम्पदा हुन्, जसले तोकिएका ६ मध्ये एउटामात्रै मापदण्ड पूरा गरेपनि विश्व सम्पदा सूचीमा पर्न सक्छन् । जुन यसप्रकार छन् ।
१. कुनै पनि साँस्कृतिक सम्पदा विश्व सम्पदा सूचीमा पर्नका लागि त्यस्तो सम्पदा मानवीय सिर्जनशीलताको उत्कृष्ट नमुना हुनुपर्दछ ।
२. इतिहासको विभिन्न वा खास कालखण्डको साँस्कृतिक तथा मानवीय मूल्य मान्यतालाई प्रदर्शन गर्ने खालको हुनुपर्दछ ।
३. विशिष्ट खालको वा हराइरहेको साँस्कृतिक सभ्यता वा परम्पराको वाहक हुनुपर्दछ । ४. मानव इतिहासको महत्वपूर्ण चरण वा विभिन्न चरणलाई अभिब्यक्त गर्ने भवन, वास्तु वा प्रविधि वा साँस्कृतिक भू(दृश्य वा तिनीहरुको अद्वितीय नमुना हुनुपर्दछ ।
५. परम्परागत मानव बस्ती वा भूउपयोगको अद्वितीय नमुना हुनुपर्दछ । ६. अद्वितीय महत्वका, प्रत्यक्ष देखिने खालका ऐतिहासिक घटना, जीवन्त परम्परा, विश्वास, कलाकारिता र साहित्यिक कार्यसँग सम्बन्धित हुनुपर्दछ ।
हामी सबैको मनमा लाग्छ, अहिले पुननिर्माणको क्रममा रहेको गोरखा दरवार र तल्लो दरवारले माथिका ६ वटै बुँदालाई बोक्न सक्छन् वा यी मापदण्ड पूरा गर्न सक्छन् । तर गोरखा दरवार क्षेत्रको हकमा ६ मध्ये एउटा मात्रै बुँदालाई आधार मान्दा दावी बलियो नहुने भएकाले ६ वटै मापदण्ड पूरा गरेको आधारमा दावी गर्दा विश्व सम्पदा सूचीमा पर्ने सम्भावना बलियो रहन्छ । यसलाई सरल गरी यसरी बुझौं, गोरखा दरवारलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि ६ मध्ये एउटा मात्रै आधारलाई टेकेर पुग्दैन । यी ६ वटा बुँदामध्ये गोरखा दरवार क्षेत्र आसपासका नीजि घरहरु परम्परागत वास्तुकला र शैली अनुसार बनाउनु पर्ने भएपनि त्यसो हुन नसक्दा विश्व सम्पदा सूचीमा पर्ने सम्भावना कमजोर बनेको हो । पुरातत्व विभागले गोरखा दरवार र संग्रहालय क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रमा सूचीकृत गरेको छ । यस्तो क्षेत्र आसपास पर्ने नीजि घरहरु पनि ती सम्पदा अनुकुल हुने गरी बनाउनु पर्ने विभागको मापदण्ड छ । तर स्थानीय बासिन्दाको निरन्तरको दवावपछि पुरातत्व विभागले गोरखाको हकमा उक्त मापदण्ड नै खारेज गरिदिएको छ । गोरखा दरवार शाहकालीन वास्तुकला प्रयोग गरेर बनाइएको र त्यस वरपरका घरपनि त्यस्तै वास्तुकला र शैली झल्कने गरेर बनाउनु पर्ने भएपनि मापदण्ड खारेज भएसँगै अब स्थानीय बासिन्दाले आफूले चाहे अनुसारको घर बनाउन त सक्नेछन् । तर त्यसकै कारण विश्व सम्पदा सूचीमा पर्ने सम्भावना भने कमजोर बनेको छ । संरक्षित स्मारक क्षेत्रमा सूचीकृत गोरखा दरवार आसपासका घर ३५ फिट भन्दा अग्लो बनाउन नपाइने, घरको कम्तिमा मोहडा मात्रै भएपनि परम्परागत शैलीमा बनाउनु पर्ने लगायतका मापदण्ड पूरा गर्न स्थानीयवासीले आनाकानी गर्दै आएका थिए । भूकम्पपछि भने स्थानीयले मापदण्ड अनुसार घर बनाउनै नसक्ने बताएपछि पुरातत्व विभागले गोरखा दरवार संरक्षित स्मारक क्षेत्रभित्र निर्माण गरिने नीजि घर सम्बन्धी मापदण्ड खारेज गरिदियो । यसले स्थानीयलाई आफूले चाहे अनुसारको स्वरुपमा घर बनाउने बाटो त खुल्यो तर हाम्रा ऐतिहासिक धरोहरहरुको गरीमालाई कमजोर पनि बनाएको छ । पुरातात्विक मापदण्ड अनुसारको घर नबन्ने भएपछि विश्व सम्पदा सूचीमा समावेश गर्ने आधार पनि कमजोर बन्यो । विश्व सम्पदा सूचीमा पर्ने आधारनै त्यो क्षेत्रको कला र वास्तुकला हो तर मापदण्डनै लागू नभएपछि जस्ता घर पनि बन्ने भए, त्यसले दरवारको भिजिविलिटि युनेस्कोले तोकेको मापदण्ड अनुसार नहुने सम्भावना बढ्यो । विश्व सम्पदा सूचीमा पर्न सक्ने महत्वपूर्ण आधारनै कमजोर बनेपनि गोरखा दरवार क्षेत्रको विकास कुन रुपमा गर्ने भन्नेबारे निर्णय गर्ने अधिकार अब स्थानीय तहलाई छ । यस बारे गत वर्षको पुस अन्तिमतिरको एक कुराकानीमा गोरखा नगरपालीकाका प्रमुखले आसपासका बासिन्दालाई गोरखा दरवारको साँस्कृतिक महत्वबारे बताएर शाहकालीन वास्तुकला र शैली झल्कने गरी घर बनाउन सकिने सम्भावना अझै बाँकी रहेको बताउनुभएको थियो । यस्ता घर निर्माणका लागि नगरपालीकाले परम्परागत झ्याल ढोका र इँटाहरुमा अनुदान दिएर यहाँका प्रचीन सम्पदा र स्मारकसँग मिल्दोजुल्दो घर बनाउन प्रेरित गर्न सक्छ । यस्तै काम भक्तपुर नगरपालीकाले गर्दै आएको छ । उनीहरुबाट पनि हामी धेरै सिक्न सक्छौं । बाहिर परम्परागत स्वरुप झल्कने गरेर बनाए पनि भित्र आफूलाई अनुकुल हुने सामग्री प्रयोग गर्न सकिन्छ भन्ने पनि नागरिकलाई बुझाउनु जरुरी छ ।
परम्परागत सामग्री प्रयोग गर्दा त्यसका ठाऊँमा प्रयोग हुने सिमेन्ट, बालुवा, ग्रील लगायतको मूल्य त बचत हुन्छ नि । घर बनाउनेले पनि यो कुरा बुझ्नुपर्छ र बुझाउन सक्नुपर्छ । संरक्षित स्मारक क्षेत्रभित्रका घरलाई वित्तीय संस्थाहरुले धितोको रुपमा सकार्दैनन् भन्ने पनि धेरै नागरिकको बुझाई रहेको पाइन्छ । यसमा नगरपालीकाले गर्ने नक्सापास लगायतका प्रक्रिया पनि जोडिन्छन् । हामीले ठूलै समस्या ठानेका यी ब्यवहारिक कठिनाईको गाँठो फुकाउन अहिलेको अधिकार सम्पन्न स्थानीय सरकारले गर्न सक्छ, सक्नुपर्दछ । पुरातत्व विभागले चारकिल्ला तोकेको गोरखा दरवार क्षेत्रभित्र कति घरधुरी छन् भन्ने यकिन छैन । तर सयौंको संख्यामा रहेका घरमध्ये एउटा पनि शाहकालीन वास्तुकला र शैली अनुसार बनेका छैनन् । चुनौती त छ, तर विश्व सम्पदा सूचीमा परेको अवस्थामा त्यही सूची हेरेर गोरखा आउने विश्वभरका पर्यटकको संख्या र युनेस्को लगायतले यहाँका सम्पदा संरक्षणमा गर्न सक्ने लगानी सम्झने हो भने हामीले यति काम गर्नै पर्छ । आखिर यो युनेस्कोका लागि होइन, हाम्रै लागि पनि त हो नि । एक दशकदेखि पत्रकारितामा सक्रिय लेखक गोरखाको च्वाईस एफएमका स्टेशन मेनेजर पनि हुन् ।




