| सोमवार, कार्तिक २३, २०८३

भिमसेन गाउँपालिकाको विधालयमा इ–हाजिरी सुरु

दरौँदी ः जिल्लाको भिमसेन थापा गाउँपालीकाले विद्यालयको शिक्षण प्रणालीको गुणस्तर वृद्धिका लागी आईसिटि शिक्षण कक्षा सुरु गरेको छ । वडा नं ६ अश्राङ्गमा रहेको नव जागृति चण्डी माध्यमिक विद्यालयबाट गाउँपालीकाले आईसिटि शिक्षण कक्षा सुरु गरेको हो । सो विद्यालयमा शुक्रबार ई हाजिरी सेवा जडान गरि गाउँपालीका प्रमुख ईश्वर पाण्डेले एक कार्यक्रमका बिच उद्घाटन गरेर सुरु गरेका हुन् । शिक्षकलाई समयको पालना गराउनुका साथै शिक्षालाई गुणस्तरिय बनाउन शिक्षकहरुको उपस्थिति पारदर्शी हुनुपर्ने भन्दै विद्युतिय हाजिरी सुरु गरिएको गाउँपालीकाका शिक्षा शाखा प्रमुख उदय बहादुर भट्टले जानकारी दिए ।

‘गाउँपालीकाको अन्य आधारभुत तथा माध्यमिक तहका विद्यालयमा पनि ई हाजिरी सेवा शुरु गर्दैछौँ’ उनले भने ‘गाउँपालिका भित्रको शिक्षाको गुणस्तर बढाउन यो हाम्रो पहिलो चरण हो ।’८ वटा वडा रहेको गाउँपालीकामा पहिलो चरणमा १७ वटा आधारभुत तथा माध्यमिक बिधालयमा विद्युतिय हाजिरी सुरु गरिने उनले बताए । विद्युतिय हाजिरी शुरु भएपछि शिक्षक विद्यालयमा समयमा आए न आएको जानकारी लिन सकिने गाउँपालिकाले जनाएको छ । उनका अनुसार अब गाउँपालीकाले विद्यालयमा सिसिटिभि क्यामेरा र अफलाईन सर्भरसमेत जडान गर्ने तयारी गरेको छ । गाउँपालीका प्रमुख ईश्वर पाण्डेले सामुदायिक विद्यालयको गुणस्तर बनाउने कामलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए । त्यस्तै नवजागृति चण्डी माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुर पाण्डेले विद्यालयको शैक्षिक गतिविधि बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्