| सोमवार, कार्तिक २३, २०८३

धार्चेमा नयाँ पर्यटन गन्तव्यको सम्भाव्यता अध्ययन

दरौंदी ः गोरखाको धार्चे क्षेत्रमा नयाँ पर्यटकिय गन्तब्य पहिचानका लागि सम्भाब्यता अध्ययन भएको छ ।
धार्चे मनास्लु पर्यटन विकास समिति र धार्चे गाउँपालिका १ हुल्चुकका जनप्रतिनिधीको संयुक्त टोलीले गणेश हिमाल पदमार्गको सम्भाब्यता अध्ययन गरेको हो । गणेश हिमाल पदमार्ग यारु वगरबाट शुरु भएर जोङदुर खर्क, दुङदुङ खोला, उलेखर्क, इचम्पा हुँदै गणेशहिमाल बेसक्याम्प पुग्न सकिने समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए । यारु वगरबाट गणेश हिमालको बेस क्याम्पसम्म करीब ३४ किलोमिटरको पदमार्ग मा गणेश हिमाल ताल र दुमङ ताल पनि छ । जंगल तथा भिरको बाटो हुँदै एक साताको यात्रा गर्न सकिने समितिका अध्यक्ष गुरुङले बताए । ‘उकालो ओरालो बढि छ’ उनले भने ‘प्राकृतिक सुन्दरतामा रमाउँदै ग्रामीण पर्यटन रुचाउने पर्यटकका लागि यो उपयुक्त गन्तब्य हुन सक्छ ।’ पदयात्राका क्रममा डाँफे, मुनाल, हिमाल कुखुरा, मृग, कस्तुरी, हिउँ चितुवा, थार लगायतका वन्यजन्तु पनि देख्न सकिने उनको भनाई छ । सो पदमार्गमा विभिन्न किसिमका जडिबुटीका साथै जंगली फूल र सिजनमा रातो, सेतो, गुलाफि, गाढा रातो रङका गुरास पनि पाईन्छ ।
टोलीले सामान्य पुर्वाधार विकास गरेर सो क्षेत्रमा पर्यटक पु¥याउन सकिने निष्कर्ष निकालेको समितिका अध्यक्ष गुरुङले बताए । ‘पर्यटक भित्राउनलाई पहिले पुर्वाधार बनाउन हामीले सम्भाब्यता अध्ययन गरेका हौं’ उनले भने ‘बाह्य मात्रै नभएर आन्तरीक पर्यटक पनि सो क्षेत्रमा पु¥याउने हाम्रो लक्ष्य छ । सम्भाब्यता अध्ययनले पदमार्ग अन्तरगत कलेखर्क, उलेखर्क, धुपिखोला, दोभान खोला र गणेश हिमाल बेस क्याम्प नजिकै काठेपुल हाल्नुपर्ने ठहर गरेकोे छ । साथै गोरेटो बाटो फराकिलो बनाउनुपर्नेमा पनि जोड दिईएको छ । हाल पर्यटकले खानेबस्ने बन्दोबस्त आफैले गर्नुपर्ने भएपनि पछि पुर्वाधार विकास गर्दै जाने योजना रहेको अध्यक्ष गुरुङले बताए । ‘यो पदमार्ग भविष्यमा अन्नपुर्ण पदमार्ग जस्तै हुनेछ’ उनले भने ‘पर्यटन मार्फत नै आम्दानी गर्न सकिने आधार धेरै देखियो । भारतीयहरु गणेश भगवान प्रति आस्थावान हुने भएकाले सो क्षेत्रमा भारतिय पर्यटक पनि आकर्षित हुने उनले बताए । गाउँपालिकाले पर्यटनका लागि चालु आर्थिक बर्ष २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्