| शुक्रबार, असार ४, २०८३

बर्षासँगै बाढी, पहिरो र डुबानको समस्या ? अब के गर्ने ?

केही दिनदेखिको लगातार वर्षाका कारण पहाडमा पहिरो जाने क्रम बढिरहेको छ भने तराईको समथर भाग जलमग्न हुने क्रम रोकिएको छैन । यससँगै जन र धन दुबै क्षति बढ्दो छ । अझै पनि सिंगै साउन र भदौ नेपालमा वर्षा मौसम हो । त्यसैले बाढी र पहिरोका कारण क्षती अझै बढ्ने सम्भावना छ । तपाइँ हामीले बाढी, डुबान वा पहिरोजस्ता कुनै पनि प्राकृतिक विपत्तिका बेला थोरै मात्र पूर्वतयारी गर्ने हो भने आफू र समाजका अरू सदस्यलाई बचाउन सकिने विज्ञको धारणा छ ।
नेपालमा बाढीपहिरोको समस्या हरेक वर्ष हुने गरेकाले त्यस्ता विपत्तिको प्रभावित क्षेत्रका विद्यालयहरू तथा हरेक वडामा महिनामा कम्तिमा एक पटक प्राकृतिक विपत्तिका बेला कसरी बच्ने भन्नेबारे पूर्वाभ्यास हुनुपर्ने विपत्ति पूर्व तयारीविज्ञ रामचन्द्र न्यौपाने बताउनुहुन्छ ।
लगातारको वर्षाले पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकाले जति बेला पनि सतर्क भएर बस्नुहोस् । वस्ती नजिक पहिरो आइसकेको छ भने आपसमा छलफल गरी जतिसक्दो चाँडो सुरक्षित ठानिएको समथर भागतिर जानुहोस । नदी तटीय क्षेत्रको वस्ती हो र लगातार वर्षा भइरहेको छ भने बाढीको सम्भावना जतिबेलै हुन्छ । त्यसैले उच्च भागतिर बसाई सार्दा राम्रो हुन्छ । भुकम्पले धेरै भुगोलमा माटो हल्लाएर खुकुलोरकमजोर बनाएकाले जतिबेला पनि पहिरोको सम्भावना छ । त्यसैले सतर्क भएर बस्नुहोस । भुकम्पले घर भत्काएको छैन, चिरा मात्र पारेको छ भने पनि भारी वर्षाकै कारण त्यस्ता घर भत्किन सक्छन् । त्यसैले भारी वर्षा भइरहे त्यस्ता घर छाडेर सुरक्षित स्थानतिर जानुहोस ।
विगतमा नदेखिएका ठाउँमा मुल उम्रियो र अस्वभाविक रुपमा पानी बगेको देखियो भने तुरुन्त त्यस्ता ठाउँ छाड्नुहोस । पहिरो जाने बित्तिकै नजिकको प्रहरी वा पालिकामा खबर गर्नुहोस । ताकी बेलैमा क्षति रोक्न राज्यस्तरबाट पहल सुरु गरियोस् । ३०÷४० वर्षदेखि बसेको वस्तीमा पानीको तह बढ्न थाल्यो भने तुरुन्त प्रहरीलाई खबर गर्नुहोस् । कुनै नदीमा पानीको तह एकाएक बढेर मानव वस्तीनजिक आयो भने सचेत भएर प्रहरी वा पालिकालाई खबर गर्नुहोला । यदी कुनै क्षेत्रमा विपद् र जोखिमका हिसाबले सुरक्षित स्थान पहिचान गरिएको छ भने त्यहीं ठाउँमा गएर बस्नुहोस । पानीको तह घटेपछि मात्र वस्तीमा फर्कनु राम्रो हुन्छ । बाढी र पहिरो जुनसुकै अबस्थामा आउन सक्ने भएकाले मनसुन सुरु भएपछि ‘अलर्ट’ भएर बस्नुहोस । सरकारले सञ्चारमाध्याम मार्फत् दिने सूचनालाई ध्यान दिनुहोस । तपाईले ख्याल गर्नुपर्ने विषयहरु ः
सुरक्षित स्थानको पहिचान
बाढी, पहिरो वा डुबानको समस्या हुने क्षेत्रमा यस्तो विपत्ति आइपरेमा स्थानीय बासिन्दा वा व्यक्तिले आफू र समुदायका अन्य व्यक्तिलाई राख्ने सुरक्षित स्थान कहाँ छ भन्ने कुराको पहिचान पहिले नै गरिनुपर्र्छ । बाढी,पहिरो वा डुबान हुने क्षेत्रमा अग्लो स्थान वा ओत लाग्न मिल्ने स्थानको पहिचान गरी त्यसबारेमा परिवार समुदायका सबै सदस्यलाई जानकारी दिने र त्यो स्थानसम्म पुग्ने सुरक्षित बाटोहरू तथा बैकल्पिक स्थानहरूको पनि पहिचान गर्नुपर्छ । झटपट झोलाको व्यवस्था
कुनै पनि प्राकृतिक विपत्तिका बेला काम लाग्ने गरी अत्यावश्यक सामग्रीहरू प्राथमिक उचारका लागि आवश्यक औषधि तथा दीर्घ रोगी भए उनीहरूले नियमित प्रयोग गर्ने औषधि, हल्का खानेकुरा जस्तै चिउरा, चाउचाउ आदि, एक दुई बोत्तल सफा पानी र टर्च लाइट आदि राखिएको झोलालाई विपत्तिका बेला सजिले फेला पार्न सकिने गरी राख्नुपर्छ । त्यस्तो झोलामा अत्यावश्यक कागजता जस्तै नागरिकता, जग्गाधनी प्रमाणपूर्जा, शैक्षिक प्रमणपत्रका फोटोकपी र केही हल्का औजार उपकरण जस्ता कुरा पनि राख्ने र सो झोलाका बारेमा परिवारका सदस्यलाई जानकारी गराइ राख्नुपर्छ ।
अशक्तलाई विशेष ध्यान दिने
विपत्तिको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने परिवार वा समुदायका केही सदस्य अपङ्गता भएका छन वा अशक्त, बालबालिका वृद्धवृद्धा आदिलाई सम्भव भए यस्ता विपत्तिको मौसम सुरु हुनासाथ वा विपत्ति आइपर्ने जानकारी हुनासाथ सुरक्षित स्थानमा लाने वा सुरक्षित क्षेत्रमा रहेका आफन्तकोमा पठाउने त्यो सम्भव नभए उनीहरूलाई विपत्तिका बेला कसले कसले सुरक्षित स्थानमा लाने भन्ने पूर्वतयारी गनुपर्छ ।
सूचना प्रविधि वा सञ्चार सम्पर्कको तयारी
अहिले बाढी पहिरोको पूर्व जानकारी दिने एप्सहरू विकास भएकाले त्यस्ता एप्स तयारी अवस्थामा राख्ने, त्यो सम्भव नहुने स्थानमा समुदायबीच मा नै पनि सूचना आदान प्रदान कसरी गर्ने भन्ने विषयमा तयारी गर्नुपर्छ । बाढीको खतरा भएका स्थानमा माथिल्लो तटिए क्षेत्रका बासिन्दाले तल्लो तटिए क्षेत्रमा रातको समयमा कराएर वा राँको वा टर्च लाइट आदिको प्रयोगबाट जानकारी गराउने वा दिउँसोको समयमा भए रातो झण्डा देखाएर सचेत पार्ने खालको प्रणालीको विकास गर्नुपर्छ । त्यस्तै विपत्तिका बेला खबर गर्न नजिकको सुरक्षा निकाय वा जनप्रतिनिधीमुलक संस्थाका प्रतिनिधि, चिकित्सक आदि वा महत्वपूर्ण व्यक्तिहरूको फोन नम्बर आदि सुरक्षित राख्नु जरुरी हुन्छ ।
पूर्वतयारी अभ्यास
प्राकृतिक विपत्तिका जोखिम भएका स्थानका विद्यालय तथा वडा जस्ता निकाय क्लब आदिले विपत्तिका बेला कसरी सुरक्षित रहने वा उद्धार कसरी गर्ने जस्ता विविध विषयको प्राविधिक ज्ञानसहितको पूर्वअभ्यास गर्नु उपयुक्त हुन्छ । बाढी आउनु अघि वा पहिरो जानु अघि केही सङ्केतहरू पाउन सकिने र पूर्व अभ्यासका बेला ती कुराको जानकारी विद्यार्थीहरू वा समुदायका सदस्यलाई गराउनुपर्ने विज्ञको राय छ । उदाहरण लागि कहिले पानीको मूल नफुटेको ठाउँमा एक्कासि मूल फुटेमा वा धमिलो पानी आउन थालेमा, जमिनमा चिरा वा धाँजा देखा परे , रुख विरुवा ढल्कन थाले सो स्थानमा पहिरो जान सक्ने सम्भावना हुने कुराको जानकारी पूर्वअभ्यासका बेला गराउनुपर्छ ।
स्थानीय प्रविधिको व्यबस्थापन
बाढीका वा पहिरोमा परेकाको उद्धारका लागि डोरी, लाइफ ज्याकेट डुङ्गा जस्ता वस्तुको पहिले नै तयारी गर्ने , स्थानीय स्थतरमा पाइने ट्युव, प्लास्टिकका बोत्तल, भेनेस्ता वा जस्ताको पाताको प्रयोगबाट डुङ्गा, लाइफ ज्याकेट जस्ता सामग्री बनाउन सकिने हुनाले त्यस्ता सामग्री कतिको भरपर्दा छन् भन्ने सुनिश्चित गरेर मात्र तिनको प्रयोग गर्न सके त्यसबाट पनि धेरैको ज्यान बचाउन सकिनेछ ।
विपत्तिको घटना भए पछि के गर्ने
विपत्ति आउनुपूर्व चुप बस्ने र जब विपत्ति आइपर्छ तब आत्तिने वा बढी सुरो हुने जस्ता काम दुबै नगर्नु राम्रो हुन्छ । कुनै स्थानमा बाढी आइहाल्यो र कोही व्यक्तिलाई बगायो भने आफू सुरिएर एक्कासि पानीमा हाम नफाल्ने र डोरी आदिको प्रयोग गरेर आफू सुरक्षित भएको निश्चित गरेर मात्र उद्धारमा लाग्ने सुझाव पनि विज्ञको छ । त्यस्तै कुनै पनि स्थानमा विपत्ति पर्दा नेपाल प्रहरी, सेना वा स्थानीय प्रशासनलाई तत्काल खबर गर्ने सुझाव विज्ञको छ ।
स्वास्थ्यमा ख्याल गरौं
देशका धेरै ठाउँमा बाढी पहिरो गइरहेको छ। यसैले धेरैजसो खाने पानीको मुहानमा बाढी पसेर मानिसहरु दुषित पानी खान बाध्य भइरहेका छन्। जसले गर्दा विभिन्न खालका रोगहरुको जोखिम बढ्दै गइरहेको छ। यस मौसममा धेरै जसो दुषित पानीको प्रयोगका कारण बर्षेनी मानिसहरु यो मौसममा विभिन्न खालका संक्रमण बाट प्रभावित हुने गर्छन्। दुषित पानीका कारण विभिन्न स्वास्थ्य समस्या आउन सक्छ ।
टाइफाइड ः दुषित पानी र खाद्य पदार्थको सेवनबाट टाइफाइट ज्वरो हुन सक्छ । यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरु प्रभावित हुने गरेको देखिएको छ। शरीरमा हनहनी ज्वरो आँउछ । त्यसबाहेक रिँगाटा लाग्ने, वाकवाकी लागि कसै कसैलाई बान्त पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ।
झाडापखला ः खानेपानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म हुने हुदाँ झाडापखला धेरै देखिने गर्छ।
हेपटाइस ए, बी ः हामीले खाने कुरा र पानीले गर्दा यस मौसममा देखिने अर्को प्रमुख सरुवा रोग हेपटाइस ए, बी अर्थात जन्डिस हो। बासी खाने कुरा दुषित पानीले धेरैलाई जन्डिस देखिने गर्छ। शरिरमा पानीको कमी हुनु तथा बजारमा राखिएका बासी खाने कुरा खाने गर्नाले पनि धेरैलाई जन्डिस देखिने गर्छ। सुरुमा ज्योरो आउने शरीर गल्दै जाने जन्डिसको प्रमुख लक्षण हो। आउँ र हैजा हामीले खाने दुषित पानी र खानेकुराले गर्दा यस मौसमा धेरैलाई आउँ तथा हैजा देखिने गर्छ। पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने लामो समयसम्म उपचार नगरेमा शरीरमा पानीको मात्र कम हुने र अन्यमा शरीरका महत्वपुर्ण अगंहरुले काम गर्न छोड्न हुन्छ। जसले गर्दा यस मौसममा आउँबाट बच्न हामीले खाने पानी र खाने कुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ।
यस्ता रोगबाट कसरी बच्ने ?
पानी उमालेर खाने बर्षाको बेलामा धेरै बाढी पहिरो आउने गर्छ। जसले गर्दा हाम्रो घरवरपरको खानेपानीको मुहानहरुमा बाढी पसेर खानेपानीको मुहान दुषित पार्ने गर्छ। यसरी बाढी पसेको पानी हामीले सेवन गर्न बाध्य हुन्छौँ जसले गर्दा हामीलाई झाडापखला, आउँ जस्ता संक्रमण देखिने गर्छ। त्यसैले पानीलाई उमालेर खाने गर्नु पर्छ। यदि पानी उमालेर खान नसक्ने अवस्था आएमा पानीलाई निर्म्लिकरण मार्फत् पानीमा कोलोरीन भए पनि राखेर खाने गर्नु पर्छ। पानीलाई कम्तिमा पनी एक मिनेटसम्म भकभक उमालेर खाने गर्नु पर्छ। व्यक्तिगत सरसफाइमा ध्यान दिने सरुवा रोगबाट जोगिन सबै भन्दा पहिले हरेक व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ।
बर्षात को मौसममा अझ बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिमा पानीजन्य समस्याको प्रकोप धेरै हुने हुदाँ हामीले खाने पानीको शुद्धतामा बिशेष ध्यान दिनु आवश्यक हुन्छ। बर्षात मा दुषित पानी बाट लाग्ने रोगहरुबाट बच्ने सबैभन्दा पहिलो विकल्प भनेकै दुषित पानीको सेवन नगर्नु र हात धोएर मात्र खानेकुरा खाने गर्नु पर्छ। जथाभावी दिसापिसाब गर्नु हुदैन। खानेकुरा लाई राम्रोसंग पकाएर खानु पर्छ। यसका साथै साबुन पानीले हात धुने गरेमा पनि यी रोगबाट बच्न सकिन्छ । दिसा गरीसकेपछि, खाना खानुभन्दा पहिला, खाना बनाउनु अघि र खाना सर्भ गर्नु पहिला साबुन पानीले हात धुनु आवश्यक हुन्छ। घरबाहिर निस्कदा माक्स प्रयोग गरौँ अर्को यस मौसममा बासी खाने कुरा नथा काचोँ खानेकुरा खानु हुदैन। घरबाहिर निस्कदाँ माक्सको प्रयोग गर्ने गर्नु पर्छ।
यस मौसममा बाढीले विभिन्नखालका जिवजन्तुहरुलाई बगाएर ल्याउने धेरै सम्भावना हुन्छ। जसले गर्दा दुर्गन्ध फौलिने गर्छ यस्ता खालका दुर्गन्धले हाम्रो स्वास्थ्यलाई असर गर्ने गर्छ। त्यसैले बाहिर निस्कदा माक्सको प्रयोग गर्नु राम्रो हुन्छ। किटजन्य रोगबाट सजग रहौँ बाढी आइसकेको केही दिन पछी पानी जमेर बसेको वरपर धेरै लामखुट्टे बस्ने गर्छ। यसरी बसेको लामखुट्टेको टोकाइले किट जन्य रोगहरु डेंगु, मलेरिया, स्क्रब टाइफस) जस्ता रोगहरु लाग्ने सम्भावना हुन्छ। त्यसैले यस्ता संक्रमण बाट बच्न घरबाहिर निस्कदा बाक्लो कपडा लगाउने। धरै झाडी भएको ठाउँमा नजाने तथा सुत्दा झुल प्रयोग गर्ने गर्नु पर्छ।
विभिन्न अनलाईनको सहयोगमा यो जानकारी तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्