| शुक्रबार, असार ४, २०८३

वरिपरि पाइनै छाड्यो पाहा

केहीदिनअघि धार्चे ४ लाप्राकका रिदीलाल गुरुङ र अर्का एकजना साथी पाहा सिकार गर्न खोला खोल्सा चाहारे । बिगतमा जस्तै साँझ खाना खाएर रातभरि सिकार गरेर भोलिपल्ट बिहानसम्म एक झोला पाहा ल्याउँला भन्ने योजना थियो, तर यसपटक त्यसो भएन ।

उनहरु पाहा खोज्दै एकदिन पूरै हिँडेर ल्हे खर्क पुगे । पाहा सिकार गरेर फर्कन तीन दिन लागेको उनी बताउँछन् । ‘हामी बिहान घरबाट ६ बजे निस्केर साँझ ६ बजे ल्हेखर्क पुगेका थियौँ । ३३०० मिटर उचाइमा रहेको ल्हेखर्कमा रातभरि सिकार गर्दा थोरैमात्र पाहा भेटियो’, उनले भने, ‘अहिले त पाहा पाइनै छोडेछ । चारपाँचबर्ष अघिसम्म अहिले भेटेकोभन्दा दोब्बर धेरै भेटिन्थ्यो ।’ पहिले एक घण्टा हिँडेपछि जताततै भेटिने पाहा अहिले एक दिनको बाटो टाढा जाँदा पनि पाउन मुस्किल भएको उनको भनाइ छ । ‘पहिले १५०० मिटर उचाइतिर पनि पाहा पाइन्थ्यो । अहिले नपाउने त होइन, तर सानो–सानो त्यही पनि थोरै भेटिन्छ’, उनले भने, ‘३३००, ३५०० मिटर उचाइसम्म पुग्दा पनि एकदम थोरै भेटिँदो रहेछ ।’

गोरखाको उच्च भेगमा अवस्थित धार्चे गाउँपालिकाका सबै वडाका खोलाखोल्सीमा पाइने पाहा अहिले पाउन छाडेको अर्का स्थानीय दिलबहादुर गुरुङ बताउँछन् । ‘पहिले चिहानडाँडा खोल्सातिर पनि पाइन्थ्यो । लाप्राक र गुम्दाको बीचमा पर्ने खोलाहरुमा, नम्पैतिर पनि पाइन्थ्यो । रातभरि सिकार गर्दा बाल्टीभरि पाहा बोकेर आइन्थ्यो’, उनी भन्छन्, ‘पाहा समात्दा हाम्रो हात च्याप्पै समात्ने खालका ठूलाठूला पाहा पाइन्थ्यो, तर अहिले धार्चेडाँडा, रुकाङडाँडा, ल्हेखर्कतिर पुग्नुपर्छ । त्यही पनि धेरै पाइँदैन ।’ लापार्बाहीपूर्वक सिकार गर्नाले पाहा हराउँदै गएको उनले बताए ।

पाहा बर्षमा दुई सिजनमा पाइने अर्का स्थानीय मार्सिङ गुरुङको भनाइ छ । जाडोमा धेरै गहिरो खोँचभित्र कुना कन्दरामा पस्ने पाहा चैत लागेर केही न्यानो हुन थालेपछि बाहिर निस्कने उनको भनाइ छ । ‘आकासमा मेघ गड्याङगुडुङ गर्न थालेपछि पाहा बाहिर निस्कन्छन्’, उनी भन्छन्, ‘पानीको रहमा, ठूला ढुंगाभित्र बस्छन् । चम्किलो टर्च लाइट आँखामा बाल्दिएपछि तिनीहरु लाटिन्छन् । कतै पनि चल्न सक्दैनन् अनि, समातेर सिकार गरिन्छ ।’ पाहालाई खुट्टामा समातेर टाउको पछारेर सिकार गर्ने उनी बताउँछन् । उनका अनुसार पाहाको अर्को सिजन भदौ असोज हो । त्यतिबेला भेलबाढी नआउने र जाडो पनि नहुने हुँदा पाहा पाइने उनी बताउँछन् ।

धार्चेका बासिन्दाहरु पाहालाई धेरै पौष्टिक खाद्य पदार्थका रुपमा लिन्छन् । धेरै पौष्टिक हुने हुँदा विशेषगरी सुत्केरीलाई खुवाउने र बिरामीलाई उतार्न पनि पाहा खुवाउने स्थानीयबासी बताउँछन् । पाहाको फुल(अण्डा)समेत पोसिलो हुने भएकाले फुल पनि संकलन गर्ने गर्छन् । ‘पाएसम्म फुल पनि सिकार गर्ने हुँदा पाहा हराउन थालेको हो’, रिदीलाल गुरुङ भन्छन्, ‘बाढी, पहिरोका कारण पनि पाहा मासिएको हो । अब ट्राउट माछा पालन गरेझैं संरक्षित तरिकाले पाहा पालन गर्नुपर्छ ।’ नजिक पाहा पाउन छाडेको करिब १० बर्ष भएको र टाढा पनि कम हुन थालेको दुईचार बर्ष भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्