| सोमवार, असार १, २०८३

गोरखामा कांग्रेसको क्रियाशील सदस्य ८,१८० जना

गोरखामा नेपाली कांग्रेसको क्रियाशील सदस्य आठहजार १८० जना पुगेका छन् । आसन्न १५ औं महाधिवेशनलाई लक्षित गरी तोकिएको डेडलाइन जेठ २८ गतेसम्म ६ हजार ५७८ जनाले क्रियाशील सदस्यता नवीकरण गरेका हुन् भने आजसम्म एकहजार ६०२ जनाले नयाँ सदस्यता लिएको र यो क्रम निरन्तर रहने कांग्रेसका जिल्ला सचिव किशोरजंग थापाले जानकारी दिए ।

तीमध्ये जिल्लाको क्षेत्र नम्बर–१ बाट पाँचहजार ६७९ जना र क्षेत्र नम्बर –२ बाट दुईहजार ५०२ जना क्रियाशील सदस्यहरुले सदस्यता अद्यावधिक गराइसकेको जिल्ला कार्य समितिका सचिव थापाले जानकारी दिए । ११२ जना नयाँ सदस्यको भने प्राविधिक कारणले अद्यावधिक हुन नसकेको जिल्ला कार्य समितिका कार्यवाहक सभापति धिरन थापाले बताए ।

‘पुराना क्रियाशील सदस्यको अद्यावधिक रोकिएको छ । उहाँहरुले पन्द्रौँ महाधिवेशनमा सहभागी हुन पाउनु हुन्छ । नयाँ सदस्यता वितरणको काम निरन्तर भइरहन्छ’, उनले भने । यसअघि गोरखामा करिब ८ हजार क्रियाशील सदस्य थिए । अद्यावधिकका लागि प्रत्येक वडामा वडा सभापति र प्रतिनिधिलाई खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्