| शुक्रबार, असार ४, २०८३

दुर्गम बस्तीका घरघरमा पुगेर घटना दर्ता गर्दै धार्चे

जिल्लाको दुर्गममा अवस्थित धार्चे गाउँपालिकाले विभिन्न कारणले व्यक्तिगत घटना दर्ता गर्न छुटेकाहरुलाई लक्षित गरी टोलटोल, घरघरमा पुगेर घटना दर्ता गरेको छ । कसैले पनि राज्यको सेवा सुविधाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले घरघरमै पुगेर घटना दर्ता गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

गत जेठको २६ गतेबाट असार १८ गतेसम्म घटना दर्ता घुम्ती शिविर सञ्चालन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
पालिकाको पञ्जिकरण शाखाले सञ्चालन गरेको घटना दर्ता शिविरमा अहिलेसम्म ६५ जनाभन्दा धेरैको घटना दर्ता गरिएको छ । वडा नं. २ का २६ जना, वडा नं. ६ का २४ जनाको घटना दर्ता गरेको छ । वडा नं. ४ मा पाँचजना र वडा नं. ४ का विभिन्न टोलमा घुम्ति शिविर सञ्चालन गरी १० जनाभन्दा धेरैको व्यक्तिगत घटना दर्ता भइरहेको पञ्जिकरण शाखाका दीपेन्द्र गुरुङले जानकारी दिए ।

धार्चेमा कतिपय टोलबाट वडा कार्यालय पुग्न पनि चार, पाँचघण्टासम्म पैदल हिड्नु पर्ने वाध्यता छ । ‘कुनै वडामाचाहिँ एक वडा एक गाउँ छ । कुनै वडामाचाहिँ चार, पाँच वटा टोल पनि छन् । एउटा टोलबाट वडा कार्यालय पुग्न तीन, चारघण्टासम्म लाग्छ’, गुरुङ भन्छन्, ‘त्यस्ता टोलका वृद्धवृद्धा, अपांग, बिरामी सेवाग्राहीहरु सामाजिक सुरक्षा भत्ताको नवीकरण गर्न वडा कार्यालय पुग्न सक्दैनन् । अनि सेवाबाट वञ्चित हुन पुग्छन् । त्यस्तै टाढा भएकै कारण जन्मदर्ता, मृत्यूदर्ता, विवाह दर्ता गर्न पनि आलटाल भइरहेको हुनसक्छ ।’

यी सबै अवस्थालाई मध्यनजर गरी शाखाले घटना दर्ता घुम्तिशिविर सञ्चालन गरेको उहाँले बताउनुभयो । घुम्ती शिविरमा हिँड्ने पञ्जिकरण शाखाका कर्मचारीले वायोमेट्रिक मेसिन, आइरिस उपकरण, ल्यापटप, प्रिण्टर तथा फारामहरु बोकेर घरघरमा हिँडिरहेका छन् ।

सात वटा वडा रहेको सो पालिकाको बुधबारसम्म वडा नं. २, ४, ५ र ६ को व्यक्तिगत घटना दर्ता कार्यक्रम सकिएको छ । समयमै घटना दर्ताको दर बढाउन तथा जनसंख्या र तथ्यांक अद्यावधिक गर्न शिविर उपलव्धीमुलक हुने गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्