| बिहिबार, अशोज ७, २०८३

विकासको नाममा विनास यात्रा

सुशीला कार्की :
विकास अहिले नेपाली राजनीतिको मुख्य भाष्य बनेको छ। सरकार चलाउने हरेकले प्रत्येकपटक विकास र समृद्धि उच्चारण गर्न थालेका छन्। तर व्यवहारमा हेर्दा भने हामी विकासको पथमा छौं वा विनाशको भन्ने प्रश्न गर्नुपर्ने अवस्था छ। विकासका नाममा भएका अनेक अभ्यासले यस्तो प्रश्न गर्न बाध्य बनाउँछ।
वन विनाश एउटा मुख्य चिन्ताको विषय हो। कुनै बेला हरियो वन नेपालको धन भनिन्थ्यो। अहिले धेरै मात्रामा वन मासिएको छ। अझै मासिँदै जाने क्रममा छ। नेपालमा हरेक सरकार विकासका नाममा वन विनाश गर्न नै उद्यत् देखिन्छन्। सडक बनाउँदा, नहर बनाउँदा वा सहर बसाउँदा हरेकपटक सकेसम्म बढी वन विनाश भएको छ। हरेक विकास योजनामा वन विनाश नै पहिलो पंक्तिमा आउँछ। त्यस्तै वनजंगलमा सुकुमवासीको अतिक्रमण छ। जग्गा विस्तारका नाममा भूमाफियाको प्रहार अझ बढी छ।
वन विनाशको अर्को मुख्य कारण हो अव्यवस्थित प्लटिङ र जथाभावी सडक विस्तार। अहिले पहाडमा जताततै सडक निर्माणको लहर चलेको छ। कति आवश्यकताले र कति इन्जिनियरिङ ज्ञानका साथ सडक निर्माण भइरहेको छ भन्नेबारे कसैलाई चासो छैन। जथाभावी प्लटिङ र सडक निर्माणका कारण नेपालका नयाँ पहाडमा भूक्षय र पहिरो गइरहेछ। नेपालको भूबनोट हेर्दा तीन भाग नवीनतम पहाड र एक भाग समस्थल छ। पहाडलाई हामीले बग्न र मासिनबाट जसरी पनि जोगाउनुपर्नेछ, अन्यथा नेपाल एउटा उजाड खण्डहर बन्नेछ।
हाम्रो वन केवल प्राकृतिक सम्पत्ति मात्र होइन, विश्व तापमान वृद्धिलाई झेल्ने एक सशक्त हतियार पनि हो। विश्व तापमान वृद्धिका कारण हाम्रो देशमा पनि असर परेको छ। हाम्रा हिमालका हिउँ अनियन्त्रित मात्रामा पग्लिन थालेको छ, जसले गर्दा खोलानालामा पानीको बहाब बढी ठूलो नोक्सान हुने सम्भावना पनि छ। अर्कोतर्फ हाम्रा नदीनालाका स्रोत हिमाल नै रित्तिँदै जाँदा पानीका मुहान विस्तारै सुक्दै जानेछन्।
विकासका नाममा हामीले खनेका पहाडहरू झन्झन् कमजोर भइहेका छन्। अचेल हरेक पहाड हेर्दा कुनै राक्षसले कोपरेको खण्डहरजस्तो देखिन थालेको छ। विनाशको खेती गरेर हामीले डंका पिटिरहेको विकास आफैंमा एक भ्रममात्र हो। विकासका अनेकन परियोजना ल्याउने विभिन्न पक्षहरूले यी सबै तथ्य स्वीकार गर्छन्, तर व्यवहारमा किन उतार्दैनन् ?
प्रकृति विनाश गर्दा के हुन्छ भन्ने एउटा उदाहरण काठमाडौं उपत्यका नै हो। काठमाडौं खाल्डो अहिले प्रदूषणग्रस्त छ। डाक्टरहरू बिहान र बेलुकाको समयमा मर्निङ वाकसमेत नजान सल्लाह दिन्छन्। यहाँ प्रत्येक दिन लाखौं लिटर पेट्रोल जलिरहेको छ। यहाँको ट्राफिक व्यवस्थापन निकै कमजोर छ। जबसम्म निजी सवारी साधनलाई कम प्राथमिकता दिएर सार्वजनिक यातायातलाई जोड दिइँदैन, काठमाडौंजस्ता सहरमा प्रदूषणका कारकहरू रहिरहनेछन्।
अनियन्त्रित बसाइँसराइ र अव्यवस्थित बसोवास नेपाली विकासको अर्काे परिणति हो। अनियन्त्रित बसाइँसराइका कारण काठमाडौंका पर्खाल बनेका हरिया पहाडहरू धमाधम मासिइरहेका छन्। ती पहाडमा धनाढ्यका घर, रिसोर्ट, होटल र रेस्टुरेन्ट बनिरहेका छन्। प्रकृतिको वरदानस्वरूप रहेको दिएको वरदान पहाड, वन नदीनाला सबैमा अतिक्रमण भएपछि त्यहाँ बस्ने जलचर, जीवजन्तु, चराचुरुंगी सबैमा नकारात्मक असर परेको छ। परिणामतः प्रकृतिको सृष्टि लोप हुने स्थितिमा छन्। कति त लोप भइसकेका छन्। तर हामीले यसमा कहिल्यै चासो नै दिएका छैनौं। केवल विकासको सपनामा विनाशतिर दौडिरहेका छौं।
विकासको नाममा भएको अर्को गल्ती हो, हाम्रो रैथाने ज्ञान र सामाजिक सम्बन्धको अन्त्य। कृषि प्रधान भनेर भनिने नेपाल अब कृषिजन्य उत्पादनमा पनि परा िश्रत हुन पुगेको छ। कृषि विकासका लागि किसानबीच भाइचारा र आपसी समझदारी हुन जरुरी छ। पारम्परिक वीजन र मलको जाँगर, आपसी सहकारी र पर्र्मको परम्पराले नेपाली कृषि प्रणाली टिकाएको थियो। हाम्रो कृषिमा न आधुनिकीकरण भएको छ न त परम्परागत अवस्थामै छ। कृषिमा कुनै चाख र सहुलियत नहुँदा ग्रामीण क्षेत्रका युवा वैदेशिक रोजगारमा लागेका छन्।
कृषिमा आकर्षण नहुनुको अर्को कारण हो, बिचौलिया। मरीमरी उब्जायो दलालले १२ रुपैयाँमा खरिद गर्दछ र सहरमा त्यही उपभोग्य वस्तु तीन तहका दलालकहाँ पुगी सय रुपैयाँमा बिक्री हुन्छ। कृषि उपजमा किसान र बजारबीच प्रत्यक्ष सम्बन्ध नरहँदा यस्तो समस्या आएको हो। जसले गर्दा किसान पनि मारमा र उपभोक्ता पनि महँगीमा परेका छन्। नेपालमा अहिले त्यही मानिस कृषिमा मरेर लागेको छ, जोसँग अरू कुनै उपाय हुँदैन। बीउ, मलको खर्च जोडेर काट्नु, माड्नु, पानी पटाउनुलगायतका अनेक काम गरेपछि मात्र उत्पादन हुन्छ। यसरी खडेरी पर्दा वा पानीले बाली नष्ट गरिदिए घाटा खानुपर्छ।
बिचौलिया अन्त्यका लागि जापानीहरूबाट सिक्नु उचित हुन्छ। सन् २०१४ मा जापान भ्रमणका क्रममा त्यहाँका मित्रहरूले कृषिमा बिचौलिया कसरी अन्त्य गरियो भनेर सुनाएका थिए। जापानमा पनि पहिले किसानहरू बिचौलियाबाट आजित थिए। आफ्नो उब्जनीको सही मूल्य पाउँदैनथे।
किसानले आफ्नो उत्पादनको सही मूल्य नपाएपछि कृषिउपज प्रत्यक्ष किसानबाट उपभोक्ताको हातमा पुगोस् भन्ने उद्देश्यबाट जापानमा केही कम्प्युटर इन्जिनियरले काम गरे। उनीहरूले प्रत्यक्ष उत्पादक र उपभोक्ताबीच समन्वय स्थापित हुने एप्लिकेसनहरू बनाए, जसले गर्दा किसानले बजारसम्म पुग्न बिचौलियाको साथ लिनैपरेन।नेपालमा यस्ताखाले कुनै प्रयास नै भएको छैन। भ्रष्टाचार यति झांगिएको छ, किसानले गतिलो बीउसमेत पाउँदैनन्।
कतिपय स्थानमा सरकारी संस्थाले बिक्री गरेको बीउवीजनमा फल नलागेको र किसान मारमा परेको देखिन्छ। त्यसमा सरकार मौन बस्छ र कारबाही गर्दैन। समयमा पानी नपरे के गर्ने, बालीमा कीरा लागे के गर्ने र लगाएको बाली नष्ट भएमा किसानले कस्तो सहुलियत पाउने भन्नेबारे कुनै योजना नै छैन। किसानलाई बाढी प्रकोपलगायतका प्राकृतिक प्रकोपबाट सहुलियत पाउन बीमा, मल र पानीको बन्दोबस्त तथा विज्ञको सरसल्लाह र सहयोगको आवश्यकता छ।
सरकारी तवरमा विशेषज्ञ नभएका पनि होइनन्, तर तिनलाई आफ्नो कर्तव्यबोध नै छैन। त्यसैले हामी कृषि उत्पादनमा समेत पछि परेका छौं। परिणाम, हाम्रो कृषि उत्पादनमा ह्रास आएकै कारण चीनको प्याज र भारतको आलु खान विवश छौं।
धेरै पहिले एकजना कोरियाली मित्रसँग भेट भएको थियो। उनले नेपालमा चारैतिर खाली जमिन देखेपछि सोधेका थिए, ‘किन बाली नलगाएको ? ’ उनी भन्थे, ‘हामीकहाँ समुदै्रसमुद्र छ। खेतीयोग्य भूभाग कम छ तापनि हामी कृषिमा विशेष ध्यान दिन्छौं। जमिन खाली राख्दैनौं।’
हाम्रो देशमा रसिलो र उब्जाउ जमिन हुँदा पनि हामीलाई छैन। एकजना युरोपियन मित्रले भन्थे, ‘नेपाल त स्वर्ग हो। यहाँ जे रोपे पनि सफल हुन्छ।
जंगल लगाउनु पर्दैन मात्र जमिनको सुरक्षा गरी छाडिदिएमा चराले ल्याएको वीजनबाट पनि रूख उम्रन सक्छ। हाम्रोमा त्यस्तो सम्भव छैन।
धेरै परि श्रम गर्नुपर्ने हुन्छ।’ उनले पनि भन्थे, ‘खाली जमिनमा रूखबिरुवा फल रोपे हुन्छ। काठमाडौंबाट राम्रै आम्दानी हुन सक्छ।’ अहिले हामी नेपालको हरियो वन त भन्छौं, तर त्यो हाम्रो छैन। कुनै तस्करका हातमा धन बनेर बसेको हुनुपर्दछ।
वास्तवमा मुलुकको विकास गर्न हामी नै गम्भीर छैनौं।
बिहानदेखि साँझसम्म चियापसलमा बसी राजनीतिक उहापोहका गफ चुट्दै ठिक्क हुन्छ। घरमा आमा, दिदीबहिनी, छोरीले कुटीपिसी पकाएर साँझ–बिहानको भोजन तयार गरिदिएकै हुन्छ। अहिले पनि पुरुषप्रधान मानसिकताले काम गरेकै छ। त्यसैले पुरुषलाई जतिबेला पनि भान्सा ठिक्क परेकै हुन्छ। अर्कोतर्फ हामी काम गर्न पनि लाज मान्छौं। हामी सहयोगी पनि छैनौं। राजनीतिक दलका नाममा हाम्रा मानसिकता चिराचिरा परेको छ। यसैबाट हामी अघि बढ्न पनि सकेनौं र मुलुकको विकास पनि हुन सकेन।
हामी राजनीतिलाई मात्र महत्व दिन्छौं जबकि यो भावना र पद्धति मात्र हो। यसबाट गुजारा चल्दै चल्दैन। गुजाराका निम्ति त कर्म चाहिन्छ। उब्जाउ जमिन हुँदा पनि हामीलाई चासो छैन। मानिस समुदायमा बस्ने प्राणी हो। मानिसको विकासक्रम हेर्दा झन्डै भित्र बसी आपसी सहयोग र सद्भावबाट यो युगसम्म अस्तित्व कायम गर्न सकेको हो। मानव जाति अफ्रिकाबाट घुम्दैघुम्दै युरोप पुगे र एसिया आइपुगेका हुन्। उनीहरू एक ठाउँमा स्थिर भइनसकेर सदैव चलायमान भए। त्यसकारण पनि विकास भएको हो। नेपाल र नेपालीको हित चाहने हो भने आपसमा मिली कृषि व्यवसाय र पेसालाई सामूहिक रूपमा सञ्चालन गरी आपसी सुरक्षा र सद्भाव कायम गर्न जरुरी छ। मुलुकलाई सिंगो घर र जनतालाई परिवार मानी आपसी मेलमिलाप हुनुको अतिरिक्त सहयोगको भावना कायम गर्नु जरुरी छ। हामी आज राजनीतिलाई ठूलो ठानेका छौं। जबकि यो भावना र पद्धतिसम्म हो। यसबाट गुजारा चल्ने होइन। गुजाराका निम्ति त कर्म र परि श्रमबाट हुने हो। प्रत्येक वैदेशिक रोजगारबाट फर्कन श्रमिकको अनुभूति पनि त्यही हो।
साभार ः अन्नपुर्ण पोष्ट डटकम ।

प्रतिक्रिया दिनुहोस्