| बुधबार, साउन २६, २०८३

बस रिजर्भ राजिखुशीले कि बाध्यताले

बिहान १० बजेदेखि हरमटारीचोकमा रोकिने, कुद्ने बसको अवलोकन गर्ने हो भने रोचक तथ्यहरु भेटिन्छन् । ग्रामीण रुटका बसहरु विशेष गरी साँढे १० वा ११ बजेतिर सदरमुकाम आइपुग्छन् । त्यतिबेला आरुघाट बसपार्क, हरमटारी चोकको अबस्था निकै चहलपहलपूर्ण हुन्छ । बस तथा यात्रुले निकै नै खचाखचपूर्ण हुन्छ । यात्रुको घुइँचोको मौका छोपी यहाँ अनेक खेल हुन्छन् ।
यात्रुलाई जसरी पनि गन्तब्यमा पुग्नु पर्ने हुन्छ । दलाल वा यातायात मजदुर स्वयंले बस चपाएर तनाबमा रहेका यात्रुलाई कसैलाई नभन्ने सर्तमा पाँचसय वा एक हजार रुपियाँ भाडा तिर्ने भए रिजर्भमा बसमा चढाउने बाचा गराउँछन् । यदि प्रहरी वा पत्रकार कसैलाई खबर गरेमा नजाने घुर्की लगाएपछि यात्रुहरु सुटुक्क तयार हुन्छन् । अनि दलाल वा यातायात मजदुरले बस लिएर आउँछन् । फटाफट चढाउँछन्, कुदाउँछन् । काम तमाम, न कसैले उजुरी गर्छन्, न गुनासो ।
प्रहरीले सिठ्ठी फुकेको फुक्यै, पसिना चुहाएर ड्युटीमा खटिएको खटियै गरे पनि यसको सुइँको पाउँदैनन् । पाइहाले भने पनि हामीले राजीखुशीले पैसा तिरेका हौं भनेर यात्रुले भनिदिन्छन् । अनि गन्तव्यमा पुगेपछि फेसबुकमा यति दुरी यात्रा गर्न यति पैसा तिर्नुप¥यो, गोरखामा सरकार कहाँ छ ? भनेर पोष्ट गरिदिन्छन् । बुधबार एक सवारीसाधन चर्को भाडा तिर्नुपरेको गुनासोका कारण प्रहरीको नियन्त्रणमा प¥यो, तर यातायात मजदुर भन्दा अघि यात्रु आएर हामीले राजिखुशीले तिरेका हौं भनेर प्रतिवाद गरे । यस्ता घटना भइरहेका छन् । ठग्ने, ठगिने घटनाबाट जोगिन, जोगाउन राज्य पक्ष मात्र होइन, उपभोक्ता स्वयं पनि सचेत हुनुपर्छ भन्ने सन्देश दिएको छ । कहीं उपभोक्ता स्वयंले नै अनियमितता गर्नेलाई बल त पु¥याइरहेका छैनन् ? यस बारे सचेत हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्