| बुधबार, साउन २६, २०८३

दसैं अर्थतन्त्र, किनमेल र नया नोट

नेपालीको महान् चाड दसैं सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको मात्र नभई मुलुकको समग्र अर्थतन्त्रलाई चलायमान बनाउने आर्थिक पर्वको रूपमा विकास भएको छ।
दसैंलगत्तै अर्को ठूलो र महत्वपूर्ण चाड तिहार पर्ने हुनाले यी दुवै पर्वलाई मध्यनजर राखेर नेपालीले किनमेल र खानपानका योजना बनाउने गर्छन्। धार्मिक तथा सांस्कृतिक रूपमा टीका थापेर मनाइने वा टीका नलगाउने, हिन्दु, बौद्धलगायत अन्य प्रायः धर्मावलम्बीहरूले दसैंलाई राष्ट्रिय उत्सवकै रूपमा मनाउने परम्परा छ। दसैं वर्षभरिको रिस, राग बिर्सने, चाडका रुपमा पनि लिइन्छ । पारिवारिक जमघट हुने, सँगै एकै ठाउँमा टीकाटालो र खानपान गर्ने पर्व भएकाले पनि यसको छुट्टै सांस्कृतिक र सामाजिक महत्व छ।
यस चाडमा सरकारी अड्डा–अदालतमा लामो समय सार्वजनिक बिदा दिएर आम नेपालीलाई उमंग र विन्दास भएर बडादसैं मनाउने अवसर दिइन्छ। यस चाडमा जुनसुकै वर्ग र क्षेत्रका समुदायले आफ्नो हैसियत र गच्छेअनुसार नयाँ नाना र मीठो खानाको प्रबन्ध गरी खुसीयालीका साथ मनाउने परम्पराले नेपालीको मौलिक चरित्रलाई निरन्तरता दिएको छ। जस्तै– कमजोर र विपन्न वर्गले पनि आफ्ना बाबूनानीलाई एकजोर नयाँ कपडा र दुईचार छाक मीठो खाने प्रबन्ध गर्नु आफ्नो परम कर्तव्य ठान्छन्।विदेशमा रहेका आफन्तहरू आउन नपाए पनि घरपरिवारलाई सहजरूपमा दसैं मनाउन आपूmले रगतपसिना बगाएर कमएको रकम दिल खोलेर पठाउँछन्। यसरी प्राप्त हुने रकमको अधिकांश हिस्सा उपभोगमै खर्च हुने गर्छ। त्यसैले दसैंलाई उपभोगको पर्वको रूप पनि लिइन्छ। यस पर्वमा हुने खरिदबिक्री र उपभोगले राष्ट्रिय अर्थतन्त्रलाई नै चलायमान बनाउँछ। आर्थिक वर्ष २०७४÷७५ को मुलुकको कुल उपभोग खर्च २५ खर्ब ५६ अर्बको करिब २० देखि २५ प्रतिशत उपभोग दसैं र तिहारमा मात्र हुने गरेको अनुमान छ। यस हिसाबले हेर्दा दसैं र तिहारजस्ता महत्वपूर्ण चाडपर्वहरूमा मात्रै पाँच खर्ब ५० अर्बभन्दा बढीको उपभोग हुने गरेको पाइन्छ। निजामती, जंगी, प्रहरी, शिक्षक लगायत संघसंस्थामा काम गर्ने राष्ट्रसेवक कर्मचारीहरूले एक महिनाको चाडपर्व खर्च पाउँछन् ।
यतिमात्रत्र होईन निवृत्तिभरण प्राप्त गर्ने सेवानिवृत्त राष्ट्रसेवकहरूले पनि एक महिनाको अतिरिक्त
रकम पाउने हुनाले यस अवधिमा झन्डै १२ अर्बबराबरको अतिरिक्त रकम सरकारी कोषबाट भुक्तानी हुन्छ, जसले सरकारको चालु खर्च बढाउन समेत सघाउँछ।
त्यसैले पनि समग्र अर्थतन्त्रलाई चलायमान बनाउन दसैं र तिहारजस्ता चाडपर्वहरूको महत्वपूर्ण भूमिका रहेकोमा दुईमत छैन।
किनमेलको पर्व दसैंं
दसैंको माहोल बढ्दै जाँदा मुलुकका मुख्य मुख्य सहरह बजारमा दसैंको सामग्री खरिदका लागि देखिने नेपालीको भीडले यस पर्वमा किनमेलको महत्व दर्शाउँछ।
दसैंमा हुने उपभोगको अंश सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत विस्तार हुने हुनाले यस पर्वले गाउँघरमा आर्थिक गतिविधि बढाई ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँछ। केन्द्रीय तथ्यांक विभागले गरेको पछिल्लो घरपरिवार सर्वेक्षणले नेपालीको कुल वार्षिक आयको ७५ प्रतिशत अंश उपभोगमा मात्र खर्च हुने देखिन्छ । त्यसको झन्डै ५० प्रतिशत दसैं र तिहारमा हुने अनुमान छ। दसैं अवधिमा खाद्यवस्तुको व्यापार ३० प्रतिशतले वृद्धि हुने गरेको छ ।यस पर्वमा मासुको खपत अत्यधिक हुने हुनाले दसैंलाई मासु खाने पर्वको रूपमा पनि लिइन्छ। यस्तै दसै अवधिमा फलपूmलको व्यापार मात्र झन्डै एक अर्ब हाराहारीमा हुने तथ्यांकले देखाएको छ। नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनले कार, जिप, भ्यानजस्ता हलुका सवारीको बिक्री दसैंतिहारको अवधिमा वार्षिक बिक्रीको झन्डै ४० प्रतिशत हुने जनाएको छ। इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, खासगरी वासिङ मेसिन, फ्रिज, रेफ्रिजेरेटर, टीभीजस्ता घरायसी सामग्री, लत्ताकपडा, जुत्ताचप्पलजस्ता पहिरनका सामग्री र आबास रङरोगनका सामग्रीको अत्यधिक बिक्री पनि दसैंतिहारको अवधिमा हुने गरेको देखिन्छ।दसैं र तिहारजस्ता महत्वपूर्ण चाडपर्वको अवधिमा आन्तरीक पर्यटक पनि घुमघाममा रमाउँछन् । आजभोली नेपालमै घुम्ने संस्कृतिको पनि विकास भएको छ । स्कुल, क्याम्पस, अफिस बिदा भएको मौका छोपेर पारीवारीक तथा मित्रहरुविच भ्रमण गर्ने, रमाईलो गर्ने क्रम बढेको छ । विदेशी पर्यटकको आगमन पनि बढ्ने गरेको छ। विश्वमै दुर्लभ, युनिक र विविधतायुक्त सांस्कृतिक पर्वहरूको अवलोकन र दृश्यपान गर्न लालायित पर्यटकका लागि यी चाडपर्वहरूको समय आकर्षक र महत्वपूर्ण अवधि हो। त्यसैले यस अवधिमा अन्य समयको तुलनामा पर्यटकहरूको आगमन बढ्ने गर्दछ। यो समयमा होटल व्यवसाय, ट्राभल तथा ट्रेकिङ व्यवसाय र पर्यटकलक्षित अन्य व्यवसायको कारोबारमा वृद्धि भई विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने गरेको छ। यातायात व्यवसायी, राजमार्गका होटेलहरू एवं चाडपर्वलक्षित मौसमी व्यापार व्यवसाय गर्नेहरू वर्षभरिमा हुने आयआर्जनको ठूलो हिस्सा यही समयमा प्राप्त गर्न सफल हुन्छन्। दसैंको समयमा मदिराको अत्यधिक खपत हुन्छ। दैनिक उपभोगका सामग्री र खाद्यवस्तुको अत्यधिक मागका कारण चर्को मूल्यवृद्धिको मारमा पनि उपभोक्ता नै पर्नुपर्ने हुनाले कालोबजारी, दुई नम्बरी र गलत व्यवसायबाट फाइदा उठाउने वर्गलाई भने दसैं, तिहारजस्ता चाडपर्व दुहुनो गाई सावित हुन्छन्।
दसैं र नयाँ नोट
दसैंको अर्को विशेषता नयाँ नोटको कारोबार र उपयोग हो। दसैंको दक्षिणाको रूपमा नयाँ नोट नै प्रयोग गर्ने नेपालीको बानी बसिसक्यो। महान चाडका रुपमा दशैं मनाईरहँदा हातमा कट्कटीए का नयाँ नोट खेलाउदै बालबालीका निकै खुसी हुन्छन् । दक्षिणा प्राप्त गर्ने बालबालिकाले पनि नयाँ नोटकै चाहना राख्छन्। बैंक काउन्टरमा पाँच÷सात घन्टा लामबद्ध भएर भए पनि नयाँ नोट साट्नैपर्ने नेपालीको चाहनाले दसैं र नयाँ नोटबीच अन्योन्याश्रित सम्बन्ध स्थापित गरेको छ। यस वर्ष दसैंको अवधिमा मात्रै नेपाल राष्ट्रबैंकले ४० अर्बबराबरका नयाँ नोट बजारमा पठाएको छ। चलनचल्तीमा रहेका ४८० अर्ब २१ करोड रुपैयाँमा दसैंको समयमा मात्र ४० अर्बभन्दा बढी नयाँ नोट बजारमा पठाउनुले पनि नयाँ नोट र दसैंबीचको सम्बन्ध छर्लंग बनाउँछ। वर्षैंभरि साना दरका नोटको अभाव भए पनि दसैंपछि टीका र रङले पोतिएका रंगीबिरङी नोटहरू बजारमा छ्यापछ्याप्ती आउँछन्। त्यसैले दसैं नयाँ नोटको पनि पर्व हो। दसैं र तिहारमा हुने अत्यधिक उपभोगले हाम्रोजस्तो व्यापारमा आधारित अर्थतन्त्र बढ्दो व्यापार घाटाको थप मारमा परेको छ। साउन एक महिनामा मात्र गत वर्षको तुलनामा ५४.३ प्रतिशतले आयात वृद्धि भएर व्यापार घाटा ११३ अर्ब ६९ करोड पुगेको छ। हुन त यस अवधिमा विप्रेषण आय गत वर्षको तुलनामा ३३ प्रतिशतले वृद्धि भई झन्डै ७४ अर्ब प्राप्त भएको छ। भदौ र असोज महिनामा यसभन्दा ठूलो परिमाणमा आयात हुन्छ किनकि यी महिना चाडपर्वलाई लक्षित गरेर उपभोग्य सामग्री बढी मात्रामा आयात गरिन्छ। हुन त चाडपर्वहरूमा उपभोग बढ्ने नेपालमा मात्र होइन। विश्वका प्रायजसो देशहरूमा प्रत्येक वर्ष मनाइने राष्ट्रिय उत्सव र चाडपर्वहरूले मुलुकको अर्थतन्त्र लाई गतिशील र चलायमान बनाउँछ। भारतमा दसैंलाई दुर्गापूजा र तिहारलाई दीपावली (दिवाली) को रूपमा उल्लास र भव्यताका साथ मनाइन्छ। यी दुई पर्वमा मात्र वर्षभरिमा हुने सुन तथा चाँदीको बिक्रीको ३५ प्रतिशत बिक्री हुन्छ।
गणेश चतुर्थीमा महाराष्ट्र, तेलंगना र हैदराबादमा मात्र दस दिनको अवधिमा ३० हजार करोडभन्दा बढीको व्यापार हुने गर्छ। पश्चिम बंगालमा दुर्गापूजाको अवधिमा मात्र २० हजार करोडको कारोबार हुने गरेको छ। त्यस्तै पश्चिमी मुलुकमा क्रिसमस लगायतका चाडपर्व भव्यरूपमा मनाउने गरिन्छ, जुन समयमा खरिदबिक्री र उपभोग अत्यधिक हुन्छ। फरक यति हो विकसित देशका जनताको आय अधिक हुने हुनाले क्रयशक्ति मजबुत हुन्छ र मन फुकाएर चाडपर्वमा खर्च गर्छन्। हाम्रोजस्तो विकासो न्मुख र अल्पविकसित देशका नागरिकले भने चाडपर्वमा हुने खर्चको बोझ वर्षभरि नै बोकिरहनुपर्ने बाध्यता छ।दसैंमा हुनेखानेहरूले आवश्यकता र चाहनाअनुसार खर्च गर्न सक्ने भए पनि विपन्न र सीमान्तकृत वर्ग जसलाई हुँदा खाने भन्ने चलन छ, लाई भने दसैं दशा बनेर आउने गरेको छ। छरछिमेक, इष्टमित्र र साथीभाइका बीचमा इज्जत र प्रतिष्ठा राख्नुपर्ने, छोराछोरीलाई एकजोर नयाँ कपडाको जोहो गरिदिनुपर्ने, पाहुनापाछालाई एकदुई छाक मीठो खुवाउनैपर्नेजस्ता बाध्यताले सीमित र न्यून आय हुने र आयआर्जनको कुनै स्रोत नहुने वर्गलाई भने दसैं, तिहारजस्ता पर्व पीडाको भारी बनेर आउँछन्।
कतिपय व्यक्तिले यस पर्वलाई प्रतिस्पर्धा गर्ने, प्रदर्शन गर्ने एवं भटकिलो रूपमा मनाउने गरेको पनि पाइन्छ। यसबाट समाजमा विकृति उत्पन्न हुन सक्ने देखिन्छ। यसै त नेपालीको औसत प्रतिव्यक्ति आय वार्षिक भर्खर १००४ डलर पुगेको छ र राष्ट्रिय बचत मुस्किलले १५ प्रतिशत रहेको छ। यस्तो अवस्थामा चाडपर्वलाई भटकिलो, खर्चिलो र धान्नै नसक्ने बनाउँदा ऋणको भार बढ्न गई दसैं दशा बन्नु हुँदैन। त्यो तर्फ सधै सचेत रहनुपर्छ ।
साभार ः अन्नपूर्णपोष्ट

प्रतिक्रिया दिनुहोस्