| बिहिबार, साउन २७, २०८३

हाम्रा छोराहरूले का“धमा मर्दको बोझ नबोकून्

महिलाका हरेक कुरा पुरुषसँग जोडिन्छन्। एउटी महिला पुरुषविना बलात्कृत हुन सक्दिन। धेरैजसो आत्महत्या पनि पितृसत्ता र महिलासँग गरिने व्यवहारसँग जोडिएका हुन्छन्। महिला र पुरुष भनेको बेलायती र भारतीय भनेजस्तो होइन। हामी साथ जन्मन्छौं र जीवन बिताउँछौं।
म सन् १९७६ देखि लगातार नेपाल आइरहेकी छु। पहिलोपटक आउँदा संयुक्त राष्ट्रसंघमा आबद्ध थिएँ। त्यसयता कम्तीमा वर्षको एकपटक आइरहेकै छु। अहिले एउटा नारीवादसम्बन्धी क्षमता अभिवृद्धि तालिमनिम्ति आएकी हुँ। सबभन्दा पहिले नेपालीहरूलाई बधाइ! लोकतन्त्र र धर्म निरपेक्षता क्षेत्रमा ठूलो फड्को मारेकोमा। नेपालमा समावेशिताको बहस सुरू भएको छ। संसदमा ३३ प्रतिशत महिला उपस्थिति सुरक्षित गरिएको छ।
समलिङ्गी सम्बन्धलाई कानुनी मान्यता दिइएको छ। वैवाहिक बलात्कार अपराधको सूचीमा छ। जे जति भएको छ, वास्तवमै गज्जब छ। राजनीतिक संघर्ष कठिन हो। अहिले सांस्कृतिक संघर्ष महशुस गरिरहेकी छु। हाम्रो धर्म परिवर्तन गर्ने संघर्ष। हाम्रो संस्कृति, परिवार सबै परिवर्तनको संघारमा छन्। यो अझ कठिन हुनेछ। हामी नागरिकले नै संविधान सुस्त बनाइरहेका छौं। भारतमा पनि अधिकांश सांस्कृतिक अभ्यास संविधानविपरित छन्। चाहे त्यो कन्यादान होस्, चाहे करवाचौथ, तीज वा ऋषिपञ्चमी।
यी प्रत्येक संस्कारले हाम्रो संविधान मार्दै लगेको छ। यी सब परिवर्तन गर्न हामीलाई केले रोकिरहेको छ?
प्रत्येक आधुनिक र शिक्षित नेपाली महिला दस(बाह्र दिन अँध्यारो कोठामा थुनिएर निस्किएका हुन्छन्। न बाबु र दाजुभाइको अनुहार हेर्न पाउँछन्, न सूर्य देख्ने अनुमति हुन्छ। यो कस्तो विडम्बना! सन् २०१८ मा पनि! धार्मिक उत्सवमा सरिक हुन महिलाहरू ’हर्मोन’ लिइरहेका छन्। मासिकश्राव अशुद्ध र फोहोर हो भने, यो संसारमा एक जना यस्तो मानव देखाइदिनुहोस् जो हाम्रो मासिकश्रावको रगतविना पैदा भएको छ। यति महत्वपूर्ण चिज अशुद्ध भइदियो? हाम्रो धर्म र पितृसत्तात्मक सोचको यो कतिसम्म निकृष्ट र लज्जास्पद व्यवस्था हो?
त्यसैले अबको लडाइँ संविधानलाई हाम्रो जीवनमा कसरी ढाल्ने भन्ने हो। यो ठूलो चूनौती हो। पुरुषहरूमा पित्तृसत्तात्मक समाजका बोझबारे उल्लेख गर्नुअघि चारवटा कुरा राख्न चाहन्छु। पहिलो, लैंगिक समानताको संघर्ष। यो महिला र पुरुषबीचको संघर्ष हुँदै होइन। यो त दुइटा फरक सोचले भरिएको दिमागबीचको संघर्ष हो। यसमा दुई विचारधारा छन्। एउटाले भन्छ पितृसत्ता उचित हो। पुरुषहरू विशेष हुन्। अर्को भन्छ, होइन। समानता उचित हो। यी दुवै ध्रुवमा महिला र पुरुष छन्।
दोश्रो, महिला पनि पितृसत्तात्मक धारणाका हुन्छन्। पुरुष पनि नारीवादी हुनसक्छन्। छन् पनि। तेस्रो, जबसम्म महिला स्वतन्त्र हुँदैनन, पुरुष स्वतन्त्र हुन सक्दैनन्। यो असम्भव छ। किनकि यो सृष्टि नै हामी सँगसँगै चल्नुपर्ने गरी बनेको छ। चौथो, मुलुक अग्रगामी दिशामा बढ्नुछ भने नारी(पुरुष समान हुनैपर्छ। धेरैले सोच्छन, लैंगिकता (जेन्डर) भनेको महिला र पुरुषबीचको भेद हो। गलत। यो भेद त यौनिकता (सेक्स) हो जुन प्रकृतिले दिएको हो। पुरुष र महिलाबीच सामान्य अन्तर मात्र छ। पुरुषको पाठेघर हुँदैन। स्तन हुँदैन। यो भिन्नता प्रकृतिले सृष्टि चलाउन मात्र दिएकी हुन्। सन्तान उत्पादननिम्ति दिएकी। यीबोहक पुरुष र महिलामा अरू अन्तर छैन।
अनि के आधारमा महिलाले खाना पकाउनुपर्ने र पुरुष बाहिर जाने? के अन्तर छ र, न्यायाधीशको कुर्सीमा पुरुष मात्रै देखिन्छन्? प्रकृतिले त्यसो त भनेको छैन।
कसले हामी दुई फरक हौं भनिदियो?
लैंगिकता (जेन्डर) ले। लैंगिकता नै त्यो बाटो हो जसमा समाजले पुरुष र महिलालाई विभेद गरिदिन्छ। त्यसबाटै आउँछ सामाजिक सांस्कृतिक व्याख्या जसले पुरुषले फलानो कुरा गर्ने र महिलाले फलानो गर्ने भनेर छुट्याइदिन्छ।
साढे सात अर्ब मान्छेमा कुनै पनि दुई जना उस्तै छैनन्। प्रकृतिले विविधता दिएको छ। हामी मानवले यो ‘भेद’लाई ‘भेदभाव’मा परिणत गरिदियौं। भेदले यो संसार जति सुन्दर बनाएको छ भेदभावले ध्वस्त पारेको छ। यो भेदभाव समाजले बनाएको हो। प्रकृतिले कहिल्यै पुरुष विशेष हुन् भनेको छैन। प्रकृतिले गुलाफलाई अरू फूलभन्दा विशेष भनेको छैन। हात्ती कमिलोभन्दा विशेष पनि भनेको छैन।
प्रकृतिले त हात्ती भनेको हात्ती र कमिला भनेको कमिला नै भनेको छ। सृष्टि अघि बढाउन यी दुवैको आवश्यकता उत्तिकै जरुरी छ।
प्रकृतिले महिलालाई मान्छे जन्माउन सक्ने बनाएको छ। दूध चुसाएर हुर्काउने क्षमता दिएको छ। यसरी हुर्केका तिनै पुरुष ‘चोलीके पिछे क्या है?’ भनेर भयावह ढंगले गीत गाउन सक्षम हुन्छन्। हाम्रो भेगमा महिलाहरूको सशक्त अभियानका ५०(६० वर्षपछि पनि हामी जेन्डर भनेको ’महिला’ भन्छौं। जहाँ जेन्डरको कुरा हुन्छ त्यहाँ महिला मात्र भेला हुन्छन्। जेन्डर महिला र पुरुष दुवैबारे कुरा गर्ने विषय हो।
भारत, नेपाल, बंगलादेशजस्ता मुलुकमा जेन्डरलाई ’लिंग’ का रुपमा अनुवाद गरेको देखिन्छ। नगर्नुहोस्। असमानता जेन्डर होइन। जेन्डर लिंग होइन। लैंगिक भेदभाव हो।
लिंग यौनिक र लैंगिक हुन्छ। जेन्डरको कुरा आउँदा सामाजिक लिंग भन्नुपर्ने हुन्छ। सामाजिक लिंग समाजले बनाएको हो। प्रकृतिले होइन। असमानताको जरो यही जेन्डर हो। सामाजिक लिंग हो।
जेन्डर आफैंमा समस्या होइन। पितृसत्ता भन्ने समस्याले यसलाई जन्माएको हो। सोझो अनुवाद गर्ने हो भने यो ‘पिताको सत्ता’। आज यसको अर्थ यो हुँदैन। समाजशास्त्रका अनुसार पितृसत्ताको अर्थ पुरुष हाबी हुनु हो। पुरुषले चलाएको शासन हो। यो एउटा सामाजिक प्रणाली हो। मेरा पिताले मलाई उनको सम्पत्ति दिँदैनन् भने उनी दानव होइनन्।
सामाजिक प्रणाली पछ्याएका मान्छे हुन्। यो प्रणालीमा पुरुष भनेकै ’विशेष’ हुन्। कुनै वैज्ञानिक आधारविनै ठोकुवा। जस्तो, हिन्दू धर्ममा ब्राह्मण विशेष हुन्। किनकि ब्राह्मण ब्रह्माको टाउकोबाट उत्पत्ति भएका रे!
पितृसत्तामा पुरुषको श्रोतहरूमा पहुँच बढी हुन्छ। त्यसैले निर्णयकर्ता उनै हुन्छन्। विचारधारा उनैले बनाउँछन्। सबथोक उनीहरूकै नियन्त्रणमा हुन्छ। पितृसत्ताले पुरुषहरूलाई मानवताबाट टाढा लगिरहेको छ। मान्छे बन्न दिइरहेको छैन। उनीहरूभित्रको मानवता खोसिरहेको छ। योभन्दा ठूलो नोक्सानी अरू के हुनसक्छ? यतातिर जानुअघि पितृसत्ताबाट पुरुषलाई कसरी फाइदा भइरहेको छ भन्ने उल्लेख गर्न चाहन्छु। यसले पुरुषलाई महत्व दिन्छ। उनीहरूको आवश्यकताबोध गराउँछ। आशीर्वाद दिँदासमेत ‘दूधो नहाओ, पूतो फलो’ भनिन्छ। सयवटा पुत्रकी आमा बन् भनिन्छ। यही हिसाबमा सबैले छोरा नै जन्माउने हो भने छोरी कसले पाइदिने? हामी पुरुषको कामना गर्छौं। प्रेम गर्छौं।
सम्मान गर्छौं। हामी सबैका एउटा देउता त छँदैछन्। हरेक विवाहले अर्को लघु देउता भिडाइदिन्छ। पति परमेश्वर! चाहे रक्सीले मातेर मस्त होस, चाहे व्यवहारमा तुच्छ। ऊ परमेश्वर भयो। ‘राजा बेटा’, ‘कूलको दीपक’, ‘कूलको भविष्य चलाउने’ अनेक उपाधि पाएको छ। पैतृक सम्पत्ति पाउँछ। समाजका यिनै कुराले पुरुषले महिलालाई आफ्नो साम्राज्यमा कैद गरेका छन्।
साम्राज्य यस्तो ठाउँ हो जहाँ मान्छेलाई सबै श्रोतबाट विमुख बनाइन्छ। एक जर्मन नारीवादीले भनेका थिए, ‘महिलाहरु अन्तिम साम्राज्य हुन्।’ यो संसारमा साम्राज्यवादी युग अन्त्यसँगै सबै स्वतन्त्र भए। महिलाहरू भने आज पनि स्वतन्त्रताको पर्खाइमा छन्।
सन् १९९५ मा महिलाहरूको बेइजिङ सम्मेलन भएको थियो। राष्ट्रसंघीय विकास कोषले मानव विकास रिपोर्टमा महिलाले घरमा गर्ने कामलाई पारिश्रमिक व्यवस्था गर्ने हो भने संसारभरिका महिलाले गर्ने कामको मूल्य एक सय दस खर्ब अमेरिकी डलर औंल्याएको थियो।
यति ठूलो रकम एकातिर छ। अर्का्तिर हाम्रा श्रीमान ‘मेरी श्रीमती गृहिणी हुन्। केही पनि गर्दिन भन्छन्।
धेरै महिला आफैं पनि ‘म गृहिणी मात्र हुँ। काम गर्दिनँ’ भन्छन्। एक सय दस खर्ब अमेरिकी डलर बराबरको श्रमदान सित्तैमा संसारले भोगिरहेको छ, पति परमेश्वर र तिनका परिवारका नाममा।
पुरुषको जनसंख्या ५० प्रतिशत छ। तर, धेरैजसो मुलुकमा उनीहरूले श्रोतको ९० प्रतिशत हिस्सा ओगटेर बसेका छन्। संसदको कुर्सीमा उनीहरू नै। उच्च अदालतदेखि सर्वोच्चसम्म ९० प्रतिशत उनीहरूकै। कर्पोरेट संसार उस्तै।अर्को पाटो हेरौं। महिला ५० प्रतिशत छौं। उनीहरूलाई बलात्कार गर्ने शतप्रतिशत पुरुष छन्। आतंकवादी र आत्मघाती बम विष्फोट गराउनेहरू ९९ प्रतिशत पुरुष छन्।
हत्यारा, लागूऔषध अम्मली, चेलीबेटी ओसारपसार गर्ने ९० प्रतिशतभन्दा बढी पुरुष छन्।
मैले ८५ वर्षका हजुरबाले १७ वर्षीया नातिनीको बलात्कार गरेको सुनेँ। ७५ वर्षीया महिलालाई १८ वर्षे केटोले बलात्कार गरेको सुनेँ। मान्छेहरू हिजोआज एक वर्षे बच्चीलाई पनि बलात्कार गर्न थालेका छन्। यी बलात्कारी रोगी हुन्। उनीहरूलाई उपचारको खाँचो छ। बाटोमा छोरीचेली देखे कुनै न कुनै नराम्रो संकेत गर्नेहरू बिरामी होइनन् र? बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्छन्। म यो पक्षमा छैन। सबभन्दा बढी बलात्कार कसले गरिरहेको छ? आफन्त, नातेदार र चिनजानकाले। छोरीचेलीलाई उनीहरूका बुबा, काका, मामाले बलात्कार गरिरहेका छन्।
बलात्कारीहरू चन्द्रमाबाट आएका होइनन्। हाम्रै घरबाट निस्किरहेका छन्।
अनि कसरी मृत्युदण्ड माग्ने? बरु कानुन परिपालना गराउनमा जोड दिनुपर्छ। पुरुषहरूमा मानवीयता नासिँदैछ। सरकारी आँकडाअनुसार भारतमा ४० प्रतिशत पुरुषले श्रीमती पिट्छन्। एक अन्तर्रा्ष्ट्रिय संस्थाले गरेको अध्ययनले त यो आँकडा झन्डै साठी प्रतिशत फेला पारेको छ।
आफ्नो ’मर्दानगी’ देखाउन घरबाहिरका समस्याको रिस श्रीमतीमाथि पोख्ने पुरुषमा मानवीयता हुनै सक्दैन। फेरि एकपटक बलात्कारकै कुरा गरौं। कोही बलात्कृत भइन् भने सुनिन्छ, ‘उसको त इज्जतै गयो।
उसको कूलकै इज्जत गयो। फलानो त ज्यूँदो लाश भई।’ योनी रहस्यमयी जञ्जाल होइन। नाक, आँखा, हात, खुट्टाजस्तै शरीरको एउटा भाग हो। यसमा कुनै रहस्य लुकेको छैन। अनि यही योनी कूलको इज्जतसँग कसरी जोडियो पितृसत्ताले। पतृसत्ता हामीलाई घरमा कैद गर्न चाहन्छ। यसले अनेक विकृति दिमागमा भरिदिएको छ। योनीकै कारण कुनै महिला घरबाहिर जानु हुँदैन। उत्ताउलो हुनु हुँदैन। धेरै कुरा गर्नुहुँदैन। गोडा फट्याएर बस्नु हुँदैन। रुख चढ्नु हुँदैन।
अनि लिंग हुनेलाई? रुनु हुँदैन। तर्सिनु हुँदैन। भावुक बन्नु हुँदैन। पितृसत्ताका यी दुवै पाठले दुवैतिर दुःखी बनाइरहेको छ। लोग्ने मानिसलाई कंकाल बनाउँदैछ। हिंस्रक बनाउँदैछ। मनोरञ्जन क्षेत्र पनि यसबाट विमुख छैन।
भारतमा बलिउडले हाम्रा पुरुषलाई के सिकाइरहेको छ? ‘बद्तमिज दिल, बद्तमिज दिल मानेना मानेना।’
’मैं तन्दुरी मुर्गी हुँ, गट्काले सैयाँ एल्कोहोलसे।’ के भन्न खोजेको यो गीतले? यसमा हामी महिलालाई तन्दुरी चिकेनसँग दाँजिएको छ र रक्सीसँगै पिउने वस्तुका रूपमा प्रस्तुत गरिएको छ।
यस्तै गीतमा हाम्रा नानीहरूलाई नाच्न सिकाइन्छ। स्कुलका कार्यक्रममा घन्काइन्छ। महिलालाई होच्याएर, जिस्क्याएर बनाइएका यस्ता गीतमा हाम्रा उत्सवहरू मनाइन्छन्। यस्तै गीत भएका फिल्मले यहाँ सय करोड कमाउँछन्। अिन हामी एक(दुई जना बलात्कारीलाई मृत्युदण्ड सजाय मागेर आफ्नो कर्तव्य पूरा भएको ठान्छौं।
सानैदेखि छोराहरुको पिटाइ गरिन्छ, ताकि ऊ मर्द बनोस्। त्यसपछि उसले पनि भोलि उसका छोरालाई त्यही गर्छ। अनि कलिला केटाहरू भित्रभित्रै बलियाबांगाहरूबाट बलात्कारको शिकार भएका घटना सार्वजनिक भइरहेका छन्। तर उनीहरू चुपचाप बस्न बाध्य हुन्छन्।
साभार ः उज्यालो अनलाईन ।

साभार ः उज्यालो अनलाईन ।

यसरी पितृसत्ताले पुरुषलाई यतिसम्म प्रधानता दिएको छ, उसले पुरुषलाई समेत बलात्कार गर्न थालेको छ।

पितृसत्ताका प्रत्येक कुरा जसले स्त्रीलाई असर पार्छ, त्यसले पुरुषलाई पनि पारेरै छाड्छ। चाहे दाइजोका कारण कुनै बुहारी घर निकालामा परून्, चाहे छोरी बलात्कृत हुँदा। कुनै पुरुष पीडित भएकै हुन्छ। जसलाई हामी महिलाका समस्या भन्छौं, त्यो पुरुषको पनि समस्या हो।

त्यसैले हामी चाहन्छौं, पुरुषहरूले महिलालाई केही गरिदिनू पर्दैन। आफैंलाई सहयोग गरून्। आफ्नो बारेमा ख्याल राखून्। महिलाहरू स्वतः ठीकठाक हुनेछन्। हामीलाई नपिट्नुस्। घरेलु हिंसा बन्द गर्नुस्। बलात्कार नगर्नुस्। बाटोमा नजिस्क्याउनुस्। हाम्रो सहर सुरक्षित हुनेछ। हामी सुरक्षित रहनेछौं। अनि कुनै पनि छोरालाई बलात्कारी बन्नबाट रोक्नेछौं। लैंगिक समानताबारे कुरा गर्ने पुरुष उत्पादन गर्नेछौं।

त्यसैले पुरुषहरू आउनुहोस्, हामी मिलेर पितृसत्ताविरुद्ध लडौं।

ताकि, तपाईं र हाम्रा कुनै छोरी छाउपडी वा गुफाको शिकार नबनून्। ’दान’ नगरिऊन्। ‘पति परमेश्वर’ सँग बिहे नगरून्।

अनि हाम्रा छोराले काँधमा ’मर्द’ को बोझ नबोकून्। हत्याहिंसा नगरून्। बलात्कारी नहोऊन्।

प्रतिक्रिया दिनुहोस्