
चट्याङको डर र बच्ने उपाय
गर्मीयामको बेला प्रायजसो मनसुन पूवार्ध तथा मनसुनकालमा नेपालको विभिन्न स्थानमा चट्याङबाट थुप्रै मानिसको ज्यान जाने गरेको पाइन्छ ।
हुन त गर्मीयाममा मात्र नभई जाडोयाममा पनि चट्याङ पर्नेगर्छ तर तुलनात्मक रूपमा गर्मीयाममा चट्याङ बढी पर्ने र यसको प्रभाव बढी देखा पर्नेगर्छ ।
यसरी हेर्दा नेपाल चट्याङको जोखिमका हिसाबले विश्वकै चौँथो पाँचौं नम्बरमा पर्न आउँछ। भू(बनोटका हिसाबले पनि यो हाम्रा लागि जोखिमको विषय हो। विशेषगरी नेपालको दक्षिणपूर्वी भेग झापा र चुरे क्षेत्रमा असाध्यै धेरै चट्याङ पर्ने गरेको छ।
त्यसबाहेक नवलपरासीको नारायणी बेल्टदेखि पोखरासम्मको क्षेत्रपनि चट्याङको लागि पकेट क्षेत्र जस्तै हो।
चट्याङ एक किसिमको बिजुलीको धार हो जुन वायुमण्डलमा देखापर्ने गर्छ । वैज्ञानिक अध्ययन अनुसार एक चोटी चट्याङ पर्ने बेला १० हजार एम्पिएर वा सो भन्दा बढी मात्रामा करेन्ट उत्पत्ति हुने गर्छ । यति धेरै करेन्ट उत्पत्ति हुने भएकोले यस्तो बिजुलीको धार आकाशबाट पृथ्वीको धरातलतिर केन्द्रित भई प्रवाहित हुनेबेला यसको संसर्गमा आउने मानिस वा अन्य कुनै प्राणी क्षण भरमै मृत्यु हुने गर्छ ।
आकाशमा एक चोटी बिजुली चम्कने बेला वायुमण्डलमा अत्याधिक मात्रामा तापशक्ति पैदा हुने गर्छ । यसले वायुमण्डललाई आकस्मिक रुपमा तताईदिन्छ । अध्ययन अनुसार आकाशमा एक चोटी विजुली चम्कने बेला वायुमण्डलीय तापमान एक्कासी बढेर ३० हजार डिग्री सेल्सियस वा सो भन्दा बढी पुग्न थाल्छ । आकस्मिक रुपमा क्षणभरमै वायुमण्डलीय तापमान यति धेरै बढ्ने कारण त्यस क्षेत्रको वायुमण्डल तातिएर आयतन एक्कासी वृद्धि हुन थाल्छ जसले गर्दा त्यहा एक किसिमको विस्फोटनको आवाज निस्कने गर्छ । र यसलाई मेघ गर्जन भनिन्छ । यही कारणले गर्दा चट्याङ पर्ने बेला आकाशमा बिजुली चम्कनुको साथै मेघ गर्जनको आवाज आउने गर्छ ।
चट्याङ आकाशमा क्यूमलोनिम्बस नामको एक किसिमको वादल निर्माण हुनेवेला मात्र देखा पर्ने गर्छ । यस्तो वादलको स्वरुप कालो हुने गर्छ भने यस्तो वादलको निर्माणले चट्याङ पर्ने मौसमी गतिविधिलाई निम्त्याइरहेको हुन्छ ।
क्यूमलोनिम्वस बादलको तल्लो भागमा प्रशस्त मात्रामा पानीको थोपा रहेको हुन्छ भने माथिल्लो भागमा असिना, बरफको टुक्रा र हिउँ भैरहेको हुन्छ । त्यही कारण बादलको माथिल्लो भागको वायुमण्डलीय तापमान अत्यन्त कम हुने गर्छ । कहिलेकाही वायुमण्डलीय तापमान ४० डिग्री सेल्सियस वा सोभन्दा कम पनि हुने गर्छ । यो बादलको उचाई ठाउ अनुसार फरक फरक हुने गर्छ भने भूमध्य रेखा आसपास अर्थात् उष्ण प्रदेशतिर २० किलोमिटर वा सो भन्दा बढी पनि हुने गर्छ । यो बादल यसरी बाक्लो भएकै कारण कालो देखिने गर्छ भने यो बादलभित्र अत्यन्त जोडले हुरीबतास तलमाथि चलिरहन्छ ।
कालान्तरमा यही हुरीबतास वादलबाट वाहिर निस्कन थालेपछि पृथ्वीको सतहमा आधिवेहरी चल्ने गर्छ । पुनश्चः वादलभित्र हावा तलमाथि भईरहने कारण त्यस बादल भित्र रहेको पानीको थोपा, बरफ, असिना तथा हिउ आदि बीच एक आपसमा घस्रन हुन थाल्छ जसले गर्दा बादल भित्र घनात्मक र ऋणात्मक चार्जको विकास हुन थाल्छ । बादल भित्र विद्युतीय चार्ज उत्पत्ति हुनु नै चट्याङ पर्नुको प्रमुख कारण बन्छ । यीनै चार्जहरु बीच आकर्षणले आकाशमा बिजुली चम्कने गर्छ ।
सुरु सुरुमा आकाशको माथिल्लो भागमा बिजुली चम्कने गर्छ । यस्तो चट्याङबाट मानवीय हानी नोक्सानी हुने गर्दैन । तर जव आकाशमा छिटो छिटो बिजुली चम्कने र क्षण क्षणमा मेघ गर्जनको आवाज सुनिन थाल्छ तब चट्याङको डर बढ्दै जान्छ । यस्तो वेला हुरीबतास चल्न थाल्यो र पानी पर्न थाल्यो भने चट्याङबाट हानी नोक्सानी हुने खतरा बढी हुन्छ । किनभने वादलबाट निस्कने हुरीबतास र वर्षा संगसँगै विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर केन्द्रित भई प्रवाहित हुन थाल्छ । यस्तो वेला पानीमा भिज्ने व्यक्ति वा जो कोही प्राणीलाई पनि करेन्ट लाग्ने डर अत्याधिक मात्रामा हुन्छ र यस्तो बेला मानिसको ज्यान समेत जाने सम्भावना हुन्छ । त्यसैले हुरीबतास संगसगै पानी परेर चट्याङ परी रहेको वेला वाहिर निस्कनु खतरनाक हुन्छ । तर पानी रोकिइ सकेपछि भने चट्याङको डर हुँदैन ।
चट्याङ पर्ने बेला विद्युतीय धारको प्रवाह आकाशबाट पृथ्वीतिर केन्द्रित हुने भएकोले पहाडको उच्च भागमा चट्याङ पर्न सक्ने सम्भावना बढी हुन्छ । त्यही कारण पहाडको उच्च स्थानमा निर्मित घर, टहरा, गोठ आदि चट्याङको निशाना बन्न सक्ने डर हुन्छ । त्यस्तै रुख चट्याङको तारो बन्न सक्ने डर बढी हुन्छ । त्यसलेै रुखमुनी ओत लिनु खतराजनक हुन्छ भने विजुलीको खम्बामुनी बस्नु पनि खतरा नै हुन्छ । त्यस्तै चट्याङ परेको वेला खुल्ला आकाशमूनि हिडडुल गर्नु, खेतमा काम गर्नु, पोखरीमा पौडी खेल्नु वा डुङ्गा चलाउनु डरलाग्दो हुन्छ । पुनश्च चट्याङ पर्ने वेला विद्युतीय धारको प्रवाह फलाम वा अन्य धातुमा छिटो हुन सक्ने भएकोले फलाम वा धातु हातमा लिइ हिड्नु खतरा हुन्छ ।
चट्याङबाट बच्ने सबभन्दा उत्तम उपाय घरभित्र बस्नु हो । पक्की घर र त्यसमा पनि छानामा लाइटनिङ एरेष्टर लगाएको घर सबभन्दा उत्तम मानिन्छ । यदि घर बाहिर हो भने मोटरगाडी भित्र झ्यालढोका बन्द गरी बस्नु उचित हुन्छ ।आकाशबाट बग्दै जमिनतिर आउँदै गरेको करेन्टलाई कुनै धातुको माध्यामबाट सोझै जमिनमा गाड्दियौँ भने हामीले घरलाई सुरक्षित बनाउन सक्छौं। त्यसका लागि सरकारले विल्डिङ कोड (भवन संहिता) मै चट्याङको सुरक्षा अनिवार्य गर्नुपर्छ। हामीले सामान्य (आठ दश हजार) रकममै गाउँका घरलाई धेरै हदसम्म चट्याङबाट सुरक्षित बनाउन सकिन्छ।
गाउँका प्रायः घरहरु कच्ची र फलामे डण्डीको प्रयोग नगरी बनाइएका हुन्छन्। असार साउनमा पानी परिरहँदा खेतमा काम गर्नुपर्ने बाध्यताले पनि गाउँका मानिसमा चट्याङको जोखिम बढी छ। गड्याङ गुडुङ गरेर पानी पर्न थालेपछि ठूलो रुखको ओत लाग्दा पनि चट्याङ लाग्ने संभावना हुन्छ। चट्याङ पर्दा मानिसहरुले कहिले ढुंगा भेटेको कहिले बन्चरो भेटेको किस्साहरु सुनिने गर्छन्। तर यो सत्य होइन। चट्याङ बग्दै गर्दा त्यसबाट निस्कने तापक्रम सुर्यको सतहको भन्दा बढी हुन्छ। त्यो करेन्ट जुन वस्तुबाट प्रवाह हुन्छ त्यो तत्काल पग्लिन्छ र सेलाउँदा त्यसले एउटा ठोस आकार लिन्छ। मानिसले त्यसैलाई बन्चरो, ढुंगा भन्ने गरेका हुन्। चट्याङसँगै केही पनि ठोस बस्तु खस्दैन।
मोटरको टायरले बिद्युतीय धारलाई भू(सतहसंगको संसर्गबाट अलग्याइदिने भएकोले चट्याङले असर पार्न सक्दैन । तर चट्याङ पर्ने बेला कतै सहारा लिने ठाउ छैन भने घुडाले भूर्ईमा टेकेर हात टाउको माथि राखी निहुरिएर बस्नु उचित मानिन्छ । तर भूर्ईमा लम्पसार पर्ने वा सुत्ने गर्नु हुदैन । यसले चट्याङको खतरा झन् बढी हुने गर्छ । चट्याङ परीरहेको बेला टेलिभिजन, एरकन्डिसन वा बिजुलीको माध्यमबाट सञ्चालन हुने यान्त्रिक साधन सञ्चालन गर्नु खतरा मानिन्छ ।
अग्लो बस्तुले चट्याङलाई आफूतिर तान्छ, त्यसैले ठूला रुखमुनी ओत लागेर बस्नु हुँदैन। हाइटेन्सन लाइनका अग्ला अग्ला टावरलाई बराबर दुरी पारेर बस्दा पनि सुरक्षित हुन सकिन्छ। तर टावरमा जोडिन जान चाहिँ हुँदैन। टेलिफोन गर्दा गर्दै, नुहाउँदा नुहाउँदै चट्याङ लागेर मान्छे मरेका उदा हरण पनि छन्।
त्यसैले चट्याङ पर्न थालेपछि विद्युतीय उपकरण चलाउनु र नुहाउनु हुँदैन। यति सजगता अपनाइयो भने हामी चट्याङबाट सुरक्षित हुन सक्छौँ। साभार ः विभिन्न अनलाईनहरु ।




