| सोमवार, जेष्ठ १०, २०८३

सांसद बजगाईँले सोधे, ‘पोखरा विमानस्थल बिआरआई अन्तर्गत हो ?’


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनाले बनाएको भनेर चिनियाँ राजदूतले दिएको सार्वजनिक वक्तव्यप्रति प्रतिनिधिसभामा सांसदले जवाफ माग गरेका छन् । शुक्रबार संसदमा बोल्दै सांसद राजेन्द्र बजगाईँले यसबारे नेपाल सरकारको धारणा माग गरेका हुन् ।


‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बिआरआईअन्तरगत हो भनेर चिनियाँ महामहिम राजदूतले भन्नु भएको छ । यो सत्य हो ? यसतर्फ सरकारको ध्यानाकर्षण होस् भन्न चाहन्छु’, बजगाईँले भने ।


साथै सांसद बजगाईँले युक्रेन र रस्सियाको युद्ध भइरहेको जोखिम परिवेशमा नेपाली नौजवानहरु रस्सियन तथा युक्रेनी सेनामा भर्ना भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘सम्माननीय सभामुखमार्फत म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि, रस्सिया र युक्रेन युद्धरत अवस्थामा जोखिमको पर्वाह नगरी नेपाली जवानहरु त्यहाँको सेनामा भर्ना भइरहेको भिडियोहरु सार्वजनिक भइरहेका छन्’, उनले भने, ‘यसमा कुनै दुर्घटना ननिम्तियोस् । भविष्यमा यसले हामीलाई कुनै समस्यामा नपारोस् । सरकार उत्तरदायी हुनुपर्ने परिस्थिति जबर्जस्त सिर्जना नहोस् । यसप्रति पनि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

कतारले पनि नेपाली युवाहरुलाई सुसज्जित हतियारसहित कतार प्रहरीमा भर्ना गरिरहेकोप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।


त्यस्तै सांसद बजगाईँले १९ जना यात्रु बोकेको बोलेरो जीप दुर्घटना भएको, पाँच जनाको मृत्यू भएको र १२ जना घाइते भएकोतर्फ ध्यानाकर्षण गराएका छन् ।

‘निजी नम्बरप्लेटको जीपले यात्रु बोक्न पाउने कि नपाउने ? एउटा बोलेरो जीपमा १९ जना यात्रुले यात्रा गर्न पाउने कि नपाउने ?’ सांसद बजगाईँले प्रश्न गरे, ‘मलाई लाग्छ, बोलेरो जीपले यात्रु होइन, सामान बोक्ने हो । यस बिषयमा छानबिन गर्न सम्बन्धित मन्त्रालय र माताहतका कार्यालयले तत्काल छानबिन गरोस् ।’

प्रतिक्रिया दिनुहोस्