| मङ्लबार, कार्तिक २४, २०८३

देउवालाई बाबुरामको प्रस्ताव : तपाईं अघि सर्नुहोस्, नत्र म सर्छु !

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि अग्रसरता लिन काँग्रेस सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) का नेताले आग्रह गरेका छन् । देउवा अघि नसरे आफूलाई सघाउन जसपा नेताको प्रस्ताव छ ।

नेपाली काँग्रेसनिकट स्रोतले रातोपाटीसँग भन्यो, ‘जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देउवालाई सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आग्रह गरेका छन् । आफूले प्रस्ताव दर्ता नगर्ने हो भने जसपालाई साथ दिन यादव र भट्टराईले प्रस्ताव गरेका छन् ।’

जसपाको उपेन्द्र–बाबुराम पक्षले राखेको यो प्रस्तावबारे देउवाका तर्फबाट कुनै जवाफ आइनसकेको स्रोतले रातोपाटीलाई बतायो । चैत २७ गते काँग्रेस र माओवादीसँग भएको छलफलमा जसपाका नेताहरुले आफ्नो पार्टीमा छलफल गरेर मात्रै सत्ता समीकरणबारे निर्णय दिने बताएका थिए ।याे पनि


सत्ता समीकरणबारे छलफल गर्न जसपाको पदाधिकारी बैठक बस्दै

देउवानिवासमा बसेको तीन दलीय बैठकमा काँग्रेस सभापति देउवाले आफूलाई प्रधानमन्त्रीमा समर्थन जनाउन जसपासँग प्रस्ताव राखेका थिए । देउवाको सोही प्रस्तावमाथि छलफल गर्न आज (आइतबार) दिउँसो २ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा जसपाको पदाधिकारी बैठक बस्दैछ ।

बैठकमा सत्ता समीकरणबारे छलफल हुने नेताहरुले बताएका छन् । आजको बैठकमा काँग्रेस र माओवादीसँग मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल हुने जसपाका एक नेताले बताए । काँग्रेस तयार नभएर जसपाकै तर्फबाट अविश्वास प्रस्ताव अघि बढाउनुपर्नेमा उपेन्द्र–बाबुराम पक्षको मत रहेको ती नेताले बताए । 

आजको पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठक बोलाउने बारेमा  पनि छलफल हुने बताइएको छ । आज बस्ने पदाधिकारीको बैठकले कार्यकारिणी समितिको बैठक तय गर्ने सो पार्टीले जनाएको छ ।

यसअघि चैत ५ गते बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । स्थगित बैठक होलीपछि बस्ने भनिएको थियो । होलीपछि नेताहरु उपत्यका बाहिर भएका कारण बैठक तय भइरहेको थिएन ।

प्रतिक्रिया दिनुहोस्