
लिगलिगकोटमा फहरायो ४० फिट अग्लो राष्ट्रिय झण्डा
दरौंदी समाचारदाता
पुष २७, गोरखा ।
राष्ट्रिय एकता दिवसको अवसरमा लिगलिगकोटमा ४० फिट अग्लो राष्ट्रिय झण्डा फहराईएको छ । पालुङटार नगरपालिका वडा नं.२ स्थित ऐतिहासिक तथा सांस्कृतिक भुमी लिगलिगकोटमा नेपालकै ठुलो झन्डा मध्यको एक ४० फिट अग्लो राष्ट्रिय झन्डा फहराईएको हो । पर्यटन प्रबद्र्धन तथा राष्ट्रियताको सम्मान गर्ने उदेश्यले पालुङटार नगरपालिकाले लिगलिगकोटमा नेपालकै ठुलो मध्येको एक झण्डा फहराएको हो । औपचारिक कार्यक्रमका बीच मेयर दीपक बाबु कंडेलले शुक्रबार विहान पुजा आजा सहित झण्डात्तोलन गरे । लिगलिगकोट मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबर्दन गर्दै नगरक्षेत्रका जनताका आर्थिक क्रियाकलापहरुमा अभिवृद्धि गरि संवृद्ध पालुङटार नगरपालिका बनाउने योजना रहेको मेयर कडेलको भनाई छ । झण्डाले पर्यटन विकास तथा लिगलिगकोट चिनाउनलाई कोशेढुंगा सावित हुने उनको विश्वास छ। कार्यक्रममा पालुङटार नगरपालिकाका उप प्रमुख पम्फा बसेल, वडा अध्यक्ष लोक नाथ वाग्ले लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

समुन्द्री सतहदेखी १४ सय ३७ मिटरको उचाईमा रहेको लिगलिगकोटबाट बौद्ध हिमाल, मनास्लु, हिमालचुली, गणेश हिमाल लगायतका दर्जन बढी हिमश्रृंखला देख्न सकिन्छ । यहाँ कालिका माई, भुमे, भीमसेन र द्रव्यदेवीको स्थान, मूलकोटसहित ५ वटा गढी, केही शिलालेखहरू पनि छन् । वि.सं. १६१६ मा दौडबाट घलेहरूलाई हराएर लमजुङका राजा यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाह लिगलिगकोटको राजा भएको इतिहासमा उल्लेख छ । दुई सय ४० वर्षसम्म एकछत्र शासन गरेको नेपालको शाह वंशको उदयबिन्दुका रुपमा लिगलिगकोटलाई लिइन्छ। नेपाल राज्यको उद्गम स्थल मानिने लिगलिगकोट ऐतिहासिक, सास्ंकृतिक तथा पर्यटकिय हिसाबले महत्वपुर्ण मानिन्छ ।




