आकर्षक गन्तब्य बन्न सक्छ लिगलिगकोट
नेपाल राज्यको जगको रुपमा प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । पालुङटार नगरपालिकाले नगरभित्रको मूख्य पर्यटकीय गन्तब्यको रुपमा लिगलिगकोटलाई बिकास गर्न थालेको छ ।
नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न भन्दै ६० फिट उचाईको फलामे खम्बामा ४० फिट उचाईको राष्ट्रिय झण्डा राखेको छ । लिगलिगकोटलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न पर्यटकको आकर्षण बढाउन टेलिस्कोप राख्ने, सिँढी बाटो (पैदल मार्ग) बनाउने, दुईवटा पार्क निर्माणको काम भइरहेको छ । संग्रहालय निर्माणको योजना पनि बनेको छ ।
अग्लो ठाउँ भएकाले लिगलिगकोटबाट वरपरका रमणिय दृष्य पनि देख्न सकिन्छ । जसका कारण त्यहाँ पुगेका पर्यटक त्यहाँ सहजै समय बिताउन सक्छन् ।
लिगलिगकोटमा शाहवंशीय दरबारको भग्नावशेष, लिगलिग कालिका मन्दिर, भुमेथान लगायतका थुपै मन्दिरहरु तथा ऐतिहासिक महत्वका स्थानहरु छन् । त्यहाँ जाने पाहुनालाई ऐतिहासिक महत्वको बारेमा जानकारी दिन पथप्रर्दशक राख्न सकिन्छ । वा बिभिन्न ठाउँमा सुचना बोर्डहरु राखेर पनि जानकारी दिन सकिन्छ ।
अहिले युवा युवतीहरु घुम्न जाने क्रम बढेको देखिन्छ । बिभिन्न ठाउँबाट अध्ययन अवलोकन भ्रमणका लागि पनि मानिसहरु लिगलिगकोट पुग्छन् । स्तरीय होटलको त्यहाँ आवस्यकता छ । इन्टरनेटको पहुँच राम्रो बनाउनुपर्ने देखिन्छ । पानी बिजुली इन्टरनेटको ब्यवस्था राम्रो गर्न सक्ने हो भने बनभोज खान आउनेहरुको लागि पनि लिगलिगकोट राम्रो ठाउँ बन्न सक्छ ।
यहाँ अहिले होमस्टे सुरु भएको छ । स्थानीयले आफ्नो संस्कार पाहुनालाई देखाउन सक्ने र गाउँमै उत्पादन भएको खानेकुरा खुवाउन सक्ने हो भने लिगलिगकोटमा पर्यटक ओईरो लाग्न सक्छन् । त्यसका लागि स्थानीय नागरिक, स्थानीय सरकारको ध्यान विषेश रुपमा पुग्नुपर्छ ।




