| मङ्लबार, कार्तिक १७, २०८३

उत्तरी गोरखाका यावत समस्या समाधानमा चासो देऊ

उत्तरी गोरखाको हिमाली भेग स्वर्ग जस्तो सुन्दर छ । हिमाल, पहाड, नदीनाला, तालतलैया, झर्ना छहरा, पाटनले गर्दा उत्तरी गोरखाको हिमाली भेग हेर्नका लागि अत्यन्त सुन्दर, जीवन यापन गर्न कठिन छ । त्यसैले पर्यटकको रोजाइको सूचीमा मनास्लु क्षेत्र अग्रस्थानतिर आउँछ, तर त्यहाँ जीवन यापन गर्नेले अनगिन्ति पक्षमा कष्ट झेलिरहनु परेको छ ।

पर्याप्त खाद्यबाली उत्पादन नहुँदा आयातकै भर पर्नुपर्ने अवस्था तर ढुवानी गर्न बाटोको समस्या छ । एकठाउँबाट अर्को ठाउँमा काम विशेषले जानुपर्दा सडक सञ्जाल छैन । पदमार्ग पनि पहिरोले हरसाल क्षतविक्षत हुन्छ । घाइते, विरामी वा सुत्केरीलाई आकस्मिक स्वास्थ्य सेवा लिन उस्तै कठिनाइ ।

आवश्यक पर्दा गुणस्तरीय स्वास्थ्य सेवा लिई जीवन जोगाउन समेत हम्मेहम्मे हुनेगर्छ । त्यस्तै गाउँमा विद्यालय छैनन् । बालबालिका चार, पाँच बर्षको भएदेखि नै घर, गाउँ छाडेर आवासीय विद्यालय भएको ठाउँ वा सहरतिर जानुपर्छ । बच्चै उमेरदेखि सहर पसेको उसलाई गाउँको माया पनि औधी हुदैन । गाउँ फर्कने सम्भावना पनि न्यून हुन्छ ।

त्यस्तै बेला कुबेला विद्युत सेवा तथा सञ्चार सेवा अवरुद्ध भइरहन्छ । भौगोलिक जटिलताका कारण एकपटक बिगिएपछि मर्मत सम्भार गर्न हप्तौँ वा महिनौ लागेका उदाहरणहरु ताजै छन् । सञ्चार सम्पर्क नहुँदा आपद, विपद आइपर्दा सम्बन्धित निकायमा खबर गर्न पनि कठिनाइ पर्ने गरेको छ ।

यस्ता यावत समस्या र चुनौतिसंग जुध्दै जीवन यापन गर्नुपर्ने वाध्यता हिमाली तथा उच्च पहाडी भेगमा छ । यहाँको समस्याका बारेमा नेता, मन्त्री, प्रधानमन्त्री सबै जानकार छन् । समाधान गर्नुपर्छ भन्ने भावना पनि नभएको होइन, तर समयमा समाधानको प्रयास भएको पाइँदैन ।

माथि उल्लेख भएका समस्या अहिले यो समयमा पनि उत्तरी गोरखाबासीले भोगिरेहका छन् । त्यसैले प्रदेश तथा केन्द्र सरकारले समाधानका लागि पहल गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्