
गोरखाबाट पर्यटक हिडाउन पूर्वाधार तयार गरौँ
यस बर्षको शरद ऋतुमा मनास्लु आरोहण गर्नेको संख्या देशभरका हिमाल आरोहण गर्नेको भन्दा धेरै छ । बिहिबारको मितिसम्म २७ समूहका २५४ जनाले देशका बिभिन्न हिमाल आरोहण गर्ने अनुमति लिएका छन् । त्यसमध्य गोरखाको मनास्लु हिमाल आरोहण गर्न १९ समूहका एकसय ९८ जनाले अनुमति लिएका छन् ।
हिमाल आरोहण गरेको सलामीवापतको राजस्व रकम देशभरबाट दुई करोड ६१ लाख संकलन भएकोमा गोरखाको मनास्लु हिमालबाट मात्र दुई करोड चार लाख रुपैयाँ संकलन भएको छ । विश्व प्रसिद्ध हिमाल सगरमाथा आरोहणका लागि यस बर्ष एक टिमका एक जनाको नाम मात्र अहिलेसम्म दर्ता भएको छ । जसबाट जम्मा छ लाख रुपैयाँ राजस्व उठेको छ ।
यो सन्दर्भ गोरखाका लागि गौरवको बिषय हो । यसलाई गोरखाले कति प्रचार, बिज्ञापन गर्न वा बेच्न सक्छ ? गोरखाको मनास्लु हिमाललाई यति धेरैले किन मन पराए त्यसको खोजी गरी विकास गर्नुपर्छ ।
तर दुखद कुरा, आरोहीहरु मनाङ र हेलिकोप्टरबाट आवतजावत गर्छन् । यसको कारण के हो ? मनाङको भीमथाङ आसपाससम्म गाडी चल्छ । रसदपानी र मान्छे त्यहाँसम्म मोटरबाट जान सक्छन्, तर गोरखाबाट सात दिन त पैदल हिड्नु पर्छ । आरोही र पर्यटकलाई गोरखाबाट हिडाउन पूर्वाधार हुनुपर्छ । धेरैभन्दा धेरै आर्जन गर्नेभन्दा पनि धेरैभन्दा धेरै पर्यटक भित्र्याउन अपनाउनु पर्ने उपायको खोजी गर्नुपर्छ । पर्यटन पदमार्गको पर्यटन पूर्वाधार पनि विकास हुनुपर्छ । ढुंगा खसेर लाग्ने बाटोमा जबर्जस्ती पर्यटक हिडाउन खोज्नु पनि हुदैन । सुरक्षित र सुखमय यात्रा गर्न सकिने पदमार्ग निर्माण गर्नुपर्छ ।




