| सोमवार, साउन २४, २०८३

खेलाडी गहना हुन्, प्रोत्साहन गर्नुपर्दछ

गोरखाको कराँते क्षेत्रको विकासमा घ्याच्छो लामाको महत्वपूर्ण योगदान रहेको छ । उनले केवल एक खेलकोमात्र नभएर गोरखाली युवाको अनुशासन, आत्मरक्षा र शारीरिक तथा मानसिक सुदृढताको विकासमा पनि योगदान दिएका छन् ।

उनको मार्ग निर्देशनले कैयौं खेलाडीले प्रदेश स्तरको, राष्ट्रिय स्तरको तथा अन्तर्राष्ट्रिय मञ्चमा समेत पदक जित्ने अवसर दिलाएका छन् । कराँते खेलमार्फत युवाहरूलाई स्वस्थ र अनुशासित जीवनशैली अपनाउन प्रेरित गर्ने कार्यमा उनको योगदान अतुलनीय छ । तर, विडम्बना यो छ कि उनीको अथक परिश्रम र त्यागको उचित कदर हुन सकेको छैन ।

लामो सेवापछि उनी हालसालै निवृत्त भएका छन् । तर रित्तो हात घर फर्कन बाध्य छन् । उनीमात्र होइन, उनीजस्ता अन्य खेलाडीहरूले सीमित स्रोतसाधन र चुनौतीका बाबजुद पनि गोरखाको, देशको नाम उँचो राखेका छन् । प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सगौरव भाग लिने, पदक जित्ने विषय जिल्लाासीका लागि गौरवको विषय हो ।

तर त्यो गौरव पछाडि घ्याच्छो गुरु तथा उनीजस्ता निस्वार्थ सेवा गरेका गुरुहरुको वर्षौको कठोर प्रशिक्षण, व्यक्तिगत जीवनको त्याग लुकेको हुन्छ । उनीहरूले खेलकुदको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाएका छन्, युवाहरूलाई लागूपदार्थ दुव्र्यसनबाट बचाएर खेलकुदमा लाग्न प्रेरित गरेका छने । यति धेरै योगदानका बाबजुद कराँते गुरु तथा खेलाडीहरूले पर्याप्त सम्मान, सुविधा र प्रोत्साहन पाउन सकेका छैनन् ।

धेरै खेलाडीहरूले आधारभूत प्रशिक्षण सुविधा, पौष्टिक आहार र उचित स्वास्थ्य सेवाको अभाव झेल्नुपरेको छ । आर्थिक समस्याका कारण कतिपय प्रतिभाशाली खेलाडीहरूले आफ्नो खेल जीवन त्याग्न बाध्य भएका उदाहरण पनि छन् । राज्य र सम्बन्धित निकायहरूबाट खेलकुदमा लगानीको कमी, अपर्याप्त छात्रवृत्ति र सम्मानको अभावले खेलाडीहरूको मनोबल घटाएको छ । तसर्थ खेलाडी राष्ट्रका गहना हुन्, स्थानीय तहका गहना हुन् । उनीहरुलाई उचित मर्यादा, प्रोत्साहन गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्