| शनिबार, अशोज ९, २०८३

मौसमी विपद्को जोखिम र नागरिक सतर्कता

बंगालको खाडीमा विकसित भएको ‘अर्णव’ नामको न्यून चापीय मौसमी प्रणालीका कारण मुलुक पुनः एकपटक प्राकृतिक विपद्को जोखिममा परेको छ । जल तथा मौसम विज्ञान विभाग र मौसमविद्हरूका अनुसार यो प्रणालीका कारण विशेषगरी नेपालका गण्डकी र लुम्बिनी प्रदेशका क्षेत्रहरू बढी प्रभावित हुने अनुमान छ ।

यस्ता मौसमी फेरबदलले ठूलो मात्रामा हावाहुरी, भारी वर्षा, चट्याङका साथै बाढी र पहिरोको रूप लिने गर्दछन् । जोखिमको पूर्वअनुमान गर्दै गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय सरकारहरूले नागरिकलाई उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरिसकेका छन् । राज्यका संयन्त्रहरू सतर्क रहनु स्वागतयोग्य कदम हो, तर यस्तो संवेदनशील समयमा विपद्को क्षति न्यूनीकरण गर्न नागरिक स्तरको सचेतना र पूर्वतयारी सबैभन्दा निर्णायक हुन्छ ।

विपद् बाजा बजाएर आउँदैन, तर आधुनिक प्रविधि र मौसम पूर्वानुमानका कारण यसको सम्भावित क्षतिबाट बच्ने समय हामीसँग हुन्छ । यस्तो अवस्थामा सर्वसाधारण नागरिकले त्रास मान्नुको सट्टा संयमित भई पूर्वसावधानी अपनाउनु अत्यावश्यक छ । सर्वप्रथम, सूचना र सञ्चारको आधिकारिकतामा ध्यान दिनु पहिलो कर्तव्य हो ।

सामाजिक सञ्जालमा आउने अफवाह वा अप्रमाणित समाचारको पछि नलागी जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनले जारी गरेका सूचनाहरूलाई नियमित रूपमा पछ्याउनु पर्छ । दोस्रो, यात्रा र आवतजावतमा पूर्ण सतर्कता अपनाउनुपर्छ । अति आवश्यक कामबाहेक हावाहुरी र भारी वर्षा भइरहेको समयमा घरबाहिर ननिस्कनु नै बुद्धिमानी हुन्छ ।

विशेष गरी पहिरोको जोखिममा रहेका पहाडी सडक र नदी किनारका मार्गहरूमा यात्रा गर्नबाट बचौँ । सवारी साधन चलाउँदा वा यात्रा गर्दा मौसमको अवस्था र बाटोको पूर्वजानकारी लिएर मात्र अघि बढ्नुपर्छ । तेस्रो, भौतिक सुरक्षा र पूर्वतयारीतर्फ ध्यान दिनु जरुरी छ । खोला, नदी किनार वा पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारहरूले सम्भावित खतराको संकेत पाउनेबित्तिकै सुरक्षित स्थान वा स्थानीय तहले तोकेका आश्रयस्थलतर्फ स्थानान्तरण हुनुपर्छ ।

चट्याङबाट बच्न हावाहुरी र पानी परेको समयमा रुखमुनि नबस्ने, खुला ठाउँमा नबस्ने र घरभित्रै विद्युतीय उपकरणहरू बन्द गरेर बस्नुपर्छ । साथै, प्रत्येक घरमा सुक्खा खाद्यान्न, पिउने पानी, टर्चलाइट, प्राथमिक उपचारका सामग्री र आवश्यक कागजातहरू एउटा सुरक्षित र सजिलै भेटिने झोलामा तयार राख्नु उपर्युक्त हुन्छ ।

स्थानीय प्रशासन र स्वयंसेवकहरूले विपद् व्यवस्थापनका टोलीलाई स्ट्यान्ड बाइ अवस्थामा राखेका छन् । नागरिकहरूले पनि आफ्नो टोल छिमेकमा जोखिममा रहेका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष सहयोग र प्राथमिकता दिनुपर्छ । प्रकृतिसँगको सम्भावित सङ्घर्षमा हाम्रो सतर्कता र एकता नै सबैभन्दा ठूलो हतियार हो ।

सरकारको चेतावनी र आह्वानलाई सामान्य रूपमा नलगी प्रत्येक नागरिकले जिम्मेवार बनेर सतर्कता अपनाउने हो भने सम्भावित जनधनको क्षतिलाई धेरै हदसम्म कम गर्न सकिन्छ । त्यसैले, आउनुहोस्, विपद्को यो घडीमा त्रास होइन, पूर्वतयारी र सतर्कता अपनाऔँ, आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ ।

प्रतिक्रिया दिनुहोस्