
सुत्केरी व्यथाले च्यापेकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार
गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि नै सुत्केरी व्यथाले च्यापेपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका वडा नं. ३ आँगा टोलकी २० बर्षकी पवित्रा गुरुङलाई सोमबार तीन बजे हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ पठाइएको जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
‘आउँदो असोज २५ गते सुत्केरी हुने म्याद थियो तर, अहिले नै सुत्केरी व्यथाले च्यापेपछि सुविधा सम्पन्न अस्पताल पठाउनु पर्ने देखियो’, कार्यालयका वीरबहादुर श्रेष्ठले भने, ‘यसअघि पहिलो सुत्केरीमा पनि शल्यक्रिया गरेर बच्चा जन्माइएको र अहिले पनि अवस्था जटिल भएपछि उद्धार राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ अनुसार हेलिकोप्टरबाट उद्धार गरिएको हो ।’
सो कार्यविधिमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको सरकारले निशुल्क रुपमा हेलिकोप्टरबाट उद्धार गर्ने गर्दछ । सो कार्यविधिमा ज्यान जोखिममा परेका गर्भवती तथा सत्केरी महिला भन्नाले लगातार लामो प्रश्रव बेथा लागी बच्चा जन्मन कठिनाई भएको, बच्चाको हात खुट्टा वा शरीर पहिला निस्किएर बच्चा जन्मन कठिन भएको, शिशु जन्मेको ३० मिनेटसम्म पनि सालनाल ननिस्केको तथा गर्भमा नै बच्चाको मृत्यु भएको,अवस्थाको महिला भन्ने बुझिन्छ ।
त्यस्तै गर्भ अवस्थामा गर्भवती महिलाको हात, खुट्टा र शरीर अधिक सुन्निएको, गर्भवती अवस्थामा हुने र प्रसूति पछिको अवस्थामा हुने अधिक रक्तश्राव भएमा, सुत्केरी हुने क्रममा उच्च रक्तचाप तथा एक्लम्प्सिया भएमा, पाठेघर फुटेको लक्षण देखिएमा, पाठेघर भन्दा बाहिर बच्चा बसेको शङ्का खुट्टा भएमा, बच्चा जन्मेको २४ घण्टाभित्र बच्चा अत्याधिक निसास्सिएर सास फेर्न गाह्रो भएमा र रक्तअल्पता भएको गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क हेलिकोप्टरबाट उद्धार गर्ने प्रावधान छ ।




