| सोमवार, अशोज ११, २०८३

देवल गाउँ तत्काल स्थानान्तरण गर्न भूगर्भविद्को सुझाव

निरन्तरको बर्षातले पहिरोको उच्च जोखिममा रहेको चुमनुब्री ३ को देवल गाउँलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न भूगर्भविदहरुले सुझाव दिएका छन् । पहिरोको उच्च जोखिममा रहेका त्यहाँका ८३ घरधुरी फिलिममा स्थानान्तरण गर्न भूगर्भविद्हरुले सुझाएका हुन् ।

देवल गाउँको अध्ययन गरेपछि तयार पारिएको प्रतिवेदन राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा प्रस्तुत गर्दै विज्ञहरुले यथाशीघ्र स्थानान्तरण हुनुपर्ने निश्कर्ष निकालेका स्थानीय वीरबल घलेले जानकारी दिए । ‘भूगर्भविद्हरुको टोलीले गत जेठ २८ गतेदेखि गरेको स्थलगत अध्ययनको प्रतिवेदन प्राधिकरणको कार्यालयमा सार्वजनिक गर्नुभयो’, सो कार्यक्रममा सहभागी भएर फर्किएका घलेले भने, ‘उहाँहरुले भिडियो सामग्री पनि प्रस्तुत गर्नुभएको थियो । त्यसमा जतिसक्दो छिटो गाउँ सार्नुपर्छ भन्ने निश्कर्ष सुनाउनु भयो ।’ विज्ञको टोलीले प्राधिकरणका पदाधिकारी र राजधानीमा उपलब्ध देवलका बासिन्दाका माझ प्रतिवेदन सार्वजनिक गरेको उनले बताए ।

‘विज्ञहरुको अध्ययन टोलीले गाउँको ५० मिटर गहिराइसम्म एक्सरे गरी माटो परीक्षण गरेको रहेछ । त्यहाँ भित्रदेखि नै माटो विस्तारै बगिरहेकाले उच्च जोखिममा रहेको निश्कर्ष निकालेका थिए’, उनले भने, ‘गाउँ स्थानान्तरणका लागि पाती, सानोफिलिम र ठूलो फिलिमको जग्गा अध्ययन गर्दा सानो फिलिम र पाती पनि असुरक्षित रहेको पाइयो । त्यसैले ठूलो फिलिम र फ्य्रक्पाको बीचको ठाउँ उपयुक्त देखियो ।’ स्थानान्तरणका लागि बजेट प्राधिकरणले व्यवस्था गर्ने र जग्गा व्यवस्था पालिकाले गर्नुपर्ने सुझाव प्राधिकरणको रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्