| शुक्रबार, अशोज २२, २०८३

अस्तव्यस्त सडक तत्काल मर्मतको खाँचो

चाडबाडको उमङ्गले घर–आँगन छुनै लागेको छ । मनसुन पूर्ण रूपमा बाहिरिइसकेको छैन, तर नेपालीहरूको महान् पर्व बडादसैँ, तिहार तथा छठजस्ता चाडपर्वहरू संघारमै आइपुगेका छन्। केही दिनमै घटस्थापना सुरु हुँदै छ । रोजगारीका लागि विदेशिएका युवाहरू, अध्ययन तथा कामको सिलसिलामा सहर पसेका नागरिकहरू गाउँ फर्कने क्रम तीव्र बन्दै छ ।

यस्तै, पर्वका लागि किनमेल गर्न स्थानीय बजार र सहर आउजाउ गर्नेहरूको चहलपहल पनि ह्वात्तै बढेको छ । तर, यात्राको मुख्य आधार मानिने सडकहरूको दूरवस्थाले भने आम नागरिकमा उत्साहभन्दा बढी चिन्ता र सास्ती थपिदिएको छ ।
यतिबेला देशका ग्रामीण सडकहरूको अवस्था त अस्तव्यस्त छ नै, राष्ट्रिय राजमार्गहरूको बिजोग पनि उत्तिकै निराशाजनक छ ।

बर्खाको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गदेखि गाउँ–गाउँ जोड्ने सडकहरू खण्डहर बनेका छन् । खाल्डाखुल्डी, पहिरोको जोखिम र हिलाम्मे तथा धुलाम्ये सडकका कारण यात्रुहरू ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । चाडबाडमा घर फर्किने सर्वसाधारणले हप्तौँसम्म बाटोमै थन्किनुपर्ने वा अकालमा ज्यान गुमाउनुपर्ने डरलाग्दो स्थिति रहिरहनु अत्यन्तै दुःखद विषय हो ।

चाडबाडको समयमा नागरिकको यात्रा सहज, सुरक्षित र सुगम बनाउनु राज्यका संयन्त्रहरूको पहिलो कर्तव्य हो । सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय तथा स्थानीय पालिकाहरूले आफ्नो जिम्मेवारीबाट पन्छिने छुट पाउँदैनन् । मनसुनको बहाना बनाएर पन्छिनुको साटो उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी खाल्डाखुल्डी पुर्ने, पहिरो पन्छाउने र अवरुद्ध सडकहरू तुरुन्त सञ्चालनमा ल्याउनु अपरिहार्य भइसकेको छ ।

महान् पर्वहरूको यो घडीमा यात्रालाई सास्ती होइन, सुखद र सुरक्षित बनाउन सम्बन्धित सबै निकायले यथाशीघ्र सडक मर्मतसम्भारको कामलाई द्रुत गतिमा अघि बढाउनुपर्छ । सडक चुस्तदुरुस्त बनाएर मात्रै नागरिकलाई वास्तविक पर्वमय र उत्साहजनक वातावरणको अनुभूति गराउन सकिन्छ । सम्बन्धित निकायहरूको ध्यान बेलैमा जाओस् ।

प्रतिक्रिया दिनुहोस्