
फूलपातीको दिनमा १२ औं बारपाक दौड
बारपाक मित्रता समाजले बडादशैं २०८३ को अवसरमा १२ औं बारपाक दौड आयोजना गरेको छ । आउँदो असोज ३१ गते फूलपातीका दिन महिला र पुरुष दुवैका लागि अलगअलग बारपाक दौड प्रतियोगिताको आयोजना गरेको समाजका अध्यक्ष पूर्ण गुरुङले जानकारी दिए ।
आयोजकका अनुसार पुरुषतर्फको दौड विहान सात बजेदेखि र महिलातर्फको दौड विहान साढे छ बजेदेखि सुरु हुनेछ ।
पुरुषतर्फको दौड स्नान घुम्तीदेखि बारपाकको मानेडाँडासम्मको ८.७ किलोमिटर दौड हुनेछ । प्रतियोगितामा बारपाक सुलिकोट गाउँपालिकाभरिका धावकले भाग लिन पाउने समाजका अध्यक्षसमेत रहेका वडा नं. २ का वडाअध्यक्ष पूर्ण गुरुङले जानकारी दिए ।
प्रथम हुने धावकलाई रु २५ हजार प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई १५ हजार प्रमाणपत्र र मेडल र तृतीय हुनेलाई १० हजार प्रमाणपत्र र मेडल प्रदान गर्ने आयोजक संस्थाका अध्यक्ष गुरुङले जानकारी दिए । महिलातर्फ भने क्याङस्याङ कङदेखि मानेडाँडासम्मको ५.५ किलोमिटर दौड हुनेछ । प्रतियोगितामा बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ र २ अर्थात बारपाक गाउँबाट मात्र सहभागी हुन पाइने व्यवस्था रहेको छ ।
सो प्रतियोगितामा प्रथम हुनेले १० हजार नगद, प्रमाणपत्र र मेडल, द्वितीय हुनेले ७ हजार नगद, प्रमाणपत्र र मेडल र तृतीय हुनेले पाँच हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । युवाहरुलाई सिर्जनात्मक र क्षमता अभिवृद्धि गराउने उद्देश्यले विगत २०७० सालदेखि बारपाक मित्रता समाजले बारपाक दौड प्रतियोगिता आयोजना गर्दै आएको समाजका अध्यक्ष पूर्ण गुरुङले जानकारी दिए ।
अहिले भने गाउँपालिका तथा वडा कार्यालय र नागरिक स्तरबाट सहयोग जुटाएर प्रतियोगिता गर्न लागिएको उनले बताए ।




