
हिमचुली सहकारीको ३४ औँ साधारणसभा तथा १६ औँ अधिवेशन सुरु
जिल्ला सदरमुकामकै ठूलो मध्यको एक हिमचुली वचत तथा ऋण सहकारी संस्थाको ३४ औं साधारण सभा तथा १६ औं अधिवेशन सुरु भएको छ । सहकारीका सातवटा इकाइहरुको साधारणसभा गत शुक्रबारबाट सुरु भएको हो ।
१६ देखि २२ गतेसम्म हुने इकाइको साधारण सभामध्य मंगलबारसम्म पाँचवटा इकाइको साधारणसभा सम्पन्न भएको प्रवन्धक प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।
सबै इकाइको साधारणसभा सम्पन्न भएपछि त्यहाँ भएका निर्णयहरुका संस्लेषण गरी २९ गते प्रमाणिकरण सभा गरी त्यसलाई वैधता दिइने उनले बताए । सहकारीको विधानमा दुईहजारभन्दा धेरै सेयर सदस्य भएको सहकारीमा इकाइ निर्माण गर्ने व्यवस्था छ । हिमचुली सहकारीको हालसम्म दुईहजार छसय ३७ जना सेयर सदस्य छन् । उनीहरुलाई भौगोलिक अवस्थितिका आधारमा विभिन्न सात इकाइमा समेटिएको छ ।
सहकारीको गत असोज १ गते निर्वाचन कमिटी गठन गरी नयाँ सञ्चालक समिति र लेखासमिति पनि चयन गरिसकेको छ । २९ गते हुने प्रमाणिकरण सभामा उनीहरुको नाम अनुमोदन गर्ने कार्यसूची रहेको पनि प्रवन्धक श्रेष्ठले जानकारी दिए ।
हिमचुली सहकारीको गत असार मसान्तसम्मको कूलपुँजी ४९ करोड ११ लाख ७४ रुपैयाँ रहेको प्रवन्धक श्रेष्ठले जानकारी दिए ।




