
विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा शिविर
गोरखा लायन्स आँखा केन्द्रले गोरखामा विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । ‘आँखालाई माया गरौँ, दृष्टिलाई रक्षा गरौँ’ भन्ने मूल नाराका साथ बिहिबार प्रभातफेरी तथा आँखा परीक्षण शिविर आयोजना गरिएको हो ।
गोरखा लायन्स आँखा सेवा केन्द्र, लायन्स क्लब अफ गोरखा, लायन्स क्लब अफ गोरखा कालिका, लायन्स क्लब अफ गोरखा डायमण्ड, लायन्स क्लब अफ गोरखा लक्ष्मीबजार र लायन्स क्लब अफ गोरखा बज्रकालीका, सदरमुकामका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरू र कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको थियो ।
प्रभातफेरी समापन कार्यक्रममा क्लबहरुको तर्फबाट श्री शंकर कुँवर, प्रअहरुको तर्फबाट भार्गव पाण्डेले विश्व दृष्टि दिवसको महत्व तथा आँखाको नियमित परीक्षण तथा दृष्टि संरक्षणका विषयमा मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा गोरखा नगरपालिका वडा नं. ५, ६ र ७ को आयोजना तथा गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोगमा वडा नं. ५ को कार्यालयमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।
गोरखा लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष श्यामबाबु श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा विश्व दृष्टि दिवसको महत्व, यस वर्षको मूल नारा तथा गोरखा लायन्स आँखा सेवा केन्द्रले समुदायमा प्रदान गर्दै आएको आँखा स्वास्थ्य सेवाका बारेमा जानकारी गराउदै आँखाको नियमित परीक्षण, दृष्टिको संरक्षण तथा समयमै उपचारको महत्वबारे जानकारी गराइएको थियो ।




