| बुधबार, अशोज २०, २०८३

बजार अनुगमन एकपटकको औपचारिकता होइन, नियमित बनोस्

दशैँ, तिहार तथा छठजस्ता नेपालीहरूका महान् चाडपर्वहरू दैलोमै आइपुगेका छन् । चाडपर्वको यो मौसमी रौनकले एकातिर जनजीवनमा हर्ष र उत्साह थपेको छ भने अर्कातिर बजारमा दैनिक उपभोग्य सामग्रीको माग, आपूर्ति र खपतलाई अत्यधिक बढाएको छ । बजारमा वस्तु तथा सेवाको कारोबार ह्वात्तै बढ्ने यो समयमा स्थानीय प्रशासन, नगरपालिका तथा उद्योग वाणिज्य संघजस्ता निकायहरूबाट वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन संस्थागत पहलहरू भइरहेका छन्, जुन सकारात्मक पक्ष हो ।

तर, यही चाडपर्वको भीडभाड र उच्च खपतको मौका छोपेर बजारमा अवाञ्छित र गैरव्यावसायिक गतिविधिहरू मौलाउने खतरा उत्तिकै रहन्छ । केही असीमित मुनाफाखोर व्यापारी र व्यवसायीहरूले सर्वसाधारण उपभोक्ताको सोझोपन र बाध्यताको फाइदा उठाउँदै अरू बेला नबिकेका, म्याद नाघेका, मिसावटयुक्त तथा सडेगलेका अखाद्य सामग्रीहरू बिक्री–वितरण गरी ग्राहकलाई भिडाउने सम्भावना निकै बढी हुन्छ ।

चाडपर्वको नाममा नागरिकको भान्छासम्म विषालु वा गुणस्तरहीन खानेकुरा पुग्नु भनेको सिधै जनस्वास्थ्यमाथिको गम्भीर खेलबाड र आपराधिक हेलचेक्र्याइँ हो । यस्ता जोखिमलाई ध्यानमा राखेर हालै गोरखा बजार क्षेत्रमा नगरपालिका र सरोकारवाला निकायले बजार अनुगमन सुरु गरेको थियो । बजार अनुगमन भनेको वर्षमा एकपटक चाडपर्वको पूर्वसन्ध्यामा एक पटक, मात्र गर्ने होइन । बजार अनुगमन निरन्तर, आकस्मिक र प्रभावकारी रूपमा भइरहने नियमित प्रक्रियाका रूपमा स्थापित हुन आवश्यक छ ।

अनुगमनको दायरा सदरमुकामबाट विस्तार गरी ग्रामीण तथा दुर्गम भेगका स्थानीय बजारहरूमा पुग्नुपर्छ, जहाँ राज्यको पहुँच झनै फितलो हुनेहुँदा अखाद्य र म्याद नाघेका वस्तु खपत गर्ने अखडा बन्ने गर्छन् । प्रत्येक गाउँपालिका र नगरपालिकाले आ–आफ्नो क्षेत्रभित्रका बजारहरूमा कडा, निष्पक्ष र नियमित अनुगमनको व्यवस्था मिलाउनुपर्छ । उपभोक्ता अधिकार र जनस्वास्थ्यको रक्षा गर्ने पहिलो जिम्मेवारी स्थानीय सरकारकै हो ।

व्यवसायीहरूलाई पनि संयमित र मर्यदित व्यवसाय गर्न सचेत गराउँदै कालोबजारी, मूल्यवृद्धि र मिसावट गर्नेहरूमाथि कानून बमोजिम कडा कारबाहीको डण्डा चलाउनै पर्छ । उपभोक्ता स्वयं पनि वस्तु खरीद गर्दा उपभोग्य मिति, मूल्य र गुणस्तर हेर्न जागरूक हुनुपर्छ ।

चाडपर्वको खुसी तब मात्र वास्तविक बन्न सक्छ, जब नागरिकले शुद्ध, स्वच्छ र जायज मूल्यमा उपभोग्य वस्तुहरू प्राप्त गर्न पाउँछन् । त्यसैले, अनुगमनलाई वर्षैभरि निरन्तरता दिइयोस्, जनस्वास्थ्यमाथिको हेलचेक्य्राइँ बन्द गरियोस् ।

प्रतिक्रिया दिनुहोस्