
गोर्खाली ख्रिष्टिय समुदायद्वारा भोटेकोशी बाढी पीडितलाई रु ११ लाख राहत वितरण
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडित परिवारलाई गोर्खाली ख्रीष्टिय समुदायले राहत सहयोग उपलब्ध गराएको छ । प्रेम, सेवा, सहकार्य र आशाको भावनासहित समुदायले रसुवा र नुवाकोटका बाढी पीडितलाई सहयोग गरेको हो ।
बाढीका कारण धेरै परिवारले आफन्त गुमाउनुका साथै ठूलो धनजनको क्षति व्यहोर्नु परेको थियो । सोही दुःखद् घडीमा पीडितहरुमा समभाव र सहानुभूति जनाउँदै गोरखाका विभिन्न पालिकाका ईसाई समाजबाट संकलन गरिएको एकमुष्ट रकम पीडितहरुलाई हस्तान्तरण गरिएको हो । गोर्खाली ख्रीष्टिय समुदायका कोषाध्यक्ष येशु विश्वकर्माका अनुसार संकलित रकम असोज २२ गते बिहिबार रसुवाका बाढी प्रभावित परिवारलाई वितरण गरिएको छ भने असोज २३ गते शुक्रबार नुवाकोटमा वितरण गरिने कार्यक्रम रहेको छ ।
समुदायको नेतृत्वमा कुल १० लाख ८६ हजार ४ सय ७० रुपैयाँ संकलन भएको थियो । जसमा गोरखा नगर इसाई समाजले २ लाख ७३ हजार ३३० रुपैयाँ, सिरानचोकले १ लाख ९३ हजार, पालुङ्टारले १ लाख ७९ हजार १८५ रुपैयाँ, धार्चेले १ लाख ६४ हजार २० रुपैयाँ, गण्डकीले ७३ हजार ५२० रुपैयाँ, चुमनुब्रीले ७५ हजार ३२० रुपैयाँ, भीमसेन थापाले ५४ हजार ९३५ रुपैयाँ, शहिद लखनले ४० हजार ६६० रुपैयाँ र अजिरकोट इसाई समाजले ३२ हजार ५०० रुपैयाँ सहयोग गरेको कोषाध्यक्ष विश्वकर्माकाले बताए । संकलित रकम रसुवा–नुवाकोटका बाढी प्रभावित घरपरिवारलाई प्रतिपरिवार ५ हजार रुपैयाँका दरले वितरण गरिएको समुदायकाले जनाएको छ ।
‘बेत्रावती भन्दा माथि सहयोग वितरण गर्न तुइन तरेर जानुपर्ने भएकाले धेरै राहत पुगेको छैन । ढुवानीमा कठिनाइ छ, हेलिकप्टरबाट मात्र राहत लैजान सकिने अवस्था छ,’ त्यहाँका स्थानीयको भनाइ उद्धृत गर्दै कोषाध्यक्ष विश्वकर्माले बताए । विपद्को बेलामा प्रभावितको दुःखमा साथ दिने उद्देश्यले गोरखाका विभिन्न चर्चहरूले स्वेच्छिक रुपमा रकम संकलन गरी पालिकास्तरीय ईसाई समुदायमार्फत गोर्खाली ख्रिष्टिय समुदायलाई हस्तान्तरण गरेका थिए । सोही रकम समुदायले पीडित परिवारलाई नगद राहत स्वरुप वितरण गरेको हो ।




