दार्चुलाको महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच एमओयूमा हस्ताक्षर
भारतको अनुदान सहयोगमा दार्चुलाबाट भारत जोड्ने महाकाली नदीमा मोटरेबल पुल निर्माणका लागि नेपाल र भारतबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र भारतका लागि राजदूत विनयमोहन क्वात्राले सम्झौतापत्रमा हस्ताक्षर गरे । काठमाडौंस्थित भारतीय दूतावासका अनुसार पुलले नेपालको सुदूरपश्चिम प्रान्त र भारतको उत्तराखण्ड राज्यबीच महाकाली नदीमा सम्पर्क विस्तार गर्ने छ जहाँ सीमाका दुबै छेउका समुदायबीच नजिकको जनता–जनसम्पर्क रहेको छ ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ूयो व्यापारिक, सांस्कृतिक र जनताबीचको आदानप्रदानलाई सुव्यवस्थित गर्नका लागि सीमापार सम्पर्क विस्तार गर्न दुवै सरकारले साझा गरेको प्राथमिकता अनुरूप हो ।
छिट्टै निर्माण सुरु हुने र तीन वर्षमा पुल तयार हुने भारतीय अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नियोजित भारत भ्रमणका क्रममा पुल निर्माणको सम्झौतामा हस्ताक्षर हुने थियो । तर भारतमा कोविडका केसहरू बढेपछि भ्रमण रद्द गरिएको थियो ।




