
रगतको मूल्य बढ्यो
दरौंदी ः नेपाल रेडक्रस सोसाइटी ले अबैध रूपमा स्वास्थ्योपचारका लागि अत्यावश्यक रगतको मृल्य वृद्घि गरेको छ । रेडक्रसले सरकारको अनुमतिबिनै प्रतियुनिट रगतमा एक सय रुपैयाँ मूल्य बढाएको हो ।
रेडक्रसको केन्द्रीय रक्त सञ्चार सेवाले गत बिहीबारदेखि प्रति युनिट रगतमा यसअघि लिँदै आएको शुल्कमा एक सय रुपैयाँ थप लिने सूचना जारी गरेको छ । केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा. मनिता राज कर्णिकारले बिहीबार रगतको मूल्य वृद्घि भएको सूचना प्रकाशित गरेकी हुन् ।
सूचनामा ‘केन्द्रीय रक्त सञ्चार सेवा’ बाट रगत तथा रक्त तत्व उपलब्ध गराउने क्रममा लिइँदै आइएको शुल्कमा हाललाई रक्त संकलनमा रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि नेपाल सरकार राष्ट्रिय रक्त सञ्चार ब्युरोको निर्णयअनुसार बिहीबार (१५ कात्तिक) देखि प्रतियुनिट एक सय रुपैयाँ थप लिने व्यवस्थाका लागि सूचित गरिएको उल्लेख छ । ‘उहाँहरू (केन्द्रीय रक्त सञ्चार सेवा) ले यसरी रगतमा शुल्क बढाउनु अबैध हो’, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक एवं नेसनल टेक्निकल एडभाइजरी कमिटी (एनटयाग) का अध्यक्ष डा. हरिषचन्द्र उप्रेतीले भने, ‘यसरी बढाउँदै जाँदा कतिसम्म माथि बढाउने ? शुल्क धेरै माथि जान सक्ने भएकाले यसलाई कम गर्नेतर्फ सोच्नुपर्छ ।’
रगतको शुल्क बढाउने रक्त सञ्चार सेवाको एकलौटी निर्णय भएको जनाउँदै उनले एनटयाग सरकारको अंग रहेको र सरकारले रगतको मूल्य वृद्घि गर्ने सिफारिस वा निर्णय नगरेको समेत बताए ।
हालै भएको एनटयागको बैठकमा रगतको शुल्कका विषयमा कुनै छलफल वा निर्णय नभएको जानकारी दिँदै उप्रेतीले भने, ‘यदि उहाँहरूले शुल्क बढाउनुभएको हो भने किन बढाउनुभएको हो, आधार के हो ? आदि लिखित रूपमै एनटयागले प्रस्टीकरण सोध्छ ।’
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं एक सय ५५ पटक रक्तदान गरेका प्रेमसागर कर्माचार्यले रेडक्रसले रगतमा शुल्क हटाउनुपर्ने आफूहरूको मागविरुद्घ थप शुल्क बढाएको भन्दै कडा आपत्ति प्रकट गरेका छन् ।




