| बुधबार, कार्तिक ११, २०८३

तरुण दलको स्थापना दिवसमा अस्पतालका बिरामीलाई फलफूल वितरण

नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसरमा प्रदेश अस्पताल गोरखामा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल तरुण दल गोरखाको आयोजनामा मंगलबार अस्पतालमा उपचाररत करिब ६० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

तरुण दलका नेता तथा कार्यकर्ताहरु अस्पताल पुगेर बिरामीहरुलाई स्याउ, केरा, सुन्तला लगायतका फलफूलहरु वितरण गर्दै स्वास्थ्य लाभको कामना गरेका अध्यक्ष आनन्द गुरुङले जानकारी दिए । स्थापना दिवसको अवसरमा सामाजिक सेवाको भावनाले बिरामीहरुलाई फलफूल वितरण गरिएको तरुण दल गोरखाका अध्यक्ष आनन्द गुरुङले बताए ।

स्थापना दिवसलाई भव्य रुपमा मनाउनु भन्दा पनि सामाजिक सेवामा खर्चिने सोचले अस्पतालका बिरामीलाई फलफूल वितरणसँगै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको उनले जानकारी दिए । नेपाल तरुण दल नेपाली कांग्रेसको भ्रातृ संस्था हो ।

कार्यक्रममा नेपाल तरुण दल गोरखाका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरु, मातृपार्टी नेपाली कांग्रेसका पदाधिकारी तथा सदस्यहरु, नगर कार्य समितिका पदाधिकारी, नेपाल विद्यार्थी संघका प्रतिनिधि तथा नेपाली कांग्रेसका अरु भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्