
रिएजेन्टको अभावले वीरगञ्जमा रोकियो पीसीआर परीक्षण
वीरगञ्जमा कोरोना संक्रमण भए नभएको जाँच गर्ने पीसीआर परीक्षण रोकिएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा रिएजेन्ट किट सकिएकोले पीसीआर परीक्षण रोकिएको हो ।
नारायणी अस्पतालस्थित प्रयोगशालाका अनुसार अस्पतालले खरिद गरेको रिएजेन्ट किट सकिएको छ । वीरगञ्ज महानगरपालिकाले पठाएको किट काम नलाग्ने भएको छ । त्यसैले गर्दा पीसीआर परीक्षण कार्य नै अवरुद्ध हुन पुगेको छ ।
नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विषेशज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले रिएजेन्ट सकिएकोले पीसीआर परीक्षण बन्द भएको जानकारी दिए । ‘इमर्जेन्सीमा प्रयोग गर्नका लागि बाहेक रिएजेन्ट किट सकिएको छ । रिएजेन्ट लिनका लागि साधन पठाइसकेका छौं,’ उनले भने, ‘रिएजेन्ट किट नआउँदासम्म पीसीआर परीक्षण सम्भव छैन ।’




