| आइतवार, कार्तिक २२, २०८३

चस्मा लगाउने मानिसलाई कोरोना सर्ने सम्भावना कम !

चीनका केही कोरोना बिरामीबारे अध्ययन गरेका अध्येताले एउटा नयाँ अनुमान गरेका छन्- नियमित चस्मा लगाउनेहरू नलगाउनेभन्दा कोरोनाबाट बढी सुरक्षित हुन सक्छन् !

अध्येताहरूले कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बिरामीहरूको तथ्यांक विश्लेषण गरेका थिए। यही क्रममा उनीहरूले यो अनौठो प्रवृत्ति फेला पारेका हुन्। उनीहरूले अध्ययन गरेका बिरामीमध्ये नियमित रूपमा चस्मा लगाउनेहरू थोरै मात्र थिए। 

चीनको सिजोउस्थित एक अस्पतालमा ४७ दिनको अन्तरमा दुई सय ७६ बिरामी भर्ना भएका थिए। कुल बिरामीको ६ प्रतिशत अर्थात् १६ जनाले दैनिक आठ घन्टाभन्दा बढी समय चस्मा लगाउन पर्थ्यो। उनीहरूमा नजिकका दृश्य मात्र देख्ने रोग (म्योपिया) थियो।

जबकि यसअघिको अर्को अध्ययनले त्यही भेगमा यही उमेर समूहका मानिसमा आँखाको यो कमजोरी ३० प्रतिशतभन्दा बढी जनसंख्यामा फेला परेको थियो। यति धेरै जनसंख्याले चस्मा लगाउने भए पनि कोरोना संक्रमितमध्ये चस्मा लगाउनेहरू त निकै कम छन्।

यसबारे अहिल्यै निष्कर्षमा पुग्नु भने हतारो हुने विज्ञहरूले बताएका छन्। मानिसहरूलाई जोखिमबाट बचाउन मास्कसहित चस्मा पनि लगाउनु भनेर सुझाव दिन अहिले नै पर्याप्त आधार नभेटिइसकेको उनीहरूले औंल्याएका छन्।

हुनसक्छ, चस्माले केही हदसम्म संक्रमण छेक्ने काम गर्ला! चस्मा लाएका बेला अगाडि बसेका मानिसले हाँछ्यु गर्दा वा खोक्दा छिटाहरू आँखामा पर्नबाट रोक्ला। वा अर्को कारण, चस्मा लगाइरहेका मानिसले अरूलेजस्तो घरिघरि हातले आँखा मिचिरहने सम्भावना पनि कमै होला। यसले हातमा भाइरस भए अनुहारसम्म पुग्न कम हुन सक्ला।

प्रतिक्रिया दिनुहोस्