
चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना संक्रमण
कोरोना संक्रमण अस्पतालहरूबाट फैलिएको अध्ययनले देखाएको छ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनमा संक्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो।
केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल संक्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन।
यो संख्या आजसम्म संक्रमित संख्याको २० प्रतिशत हुन आउँछ।
संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति संक्रमित भएको पाइएको उनले बताए। यसलाई हेर्दा संक्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ।
त्यसबाहेक संक्रमित अन्य १०१ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा संक्रमण भएको बताएको उनले जानकारी दिए।
‘जिल्लामा जम्मा संक्रमणको ५० प्रतिशत हिस्सा अस्पतालहरुको रहेको पाइयो’, तिवारीले भने।
अध्ययनका क्रममा उद्योग, व्यापार, होटल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १११ मा संक्रमण देखिएको छ।
कलकारखाना, होटल, इन्टरप्राइजेज वा व्यवसायमा देखिएको संक्रमण बढ्दो क्रममा रहेको छ। घर भाडामा एकै घरमा धेरै व्यक्ति बस्ने, एउटै शौचालय प्रयोग गर्नेहरुमा संक्रमण फैलिएको पाइएको छ।
अध्ययनले अस्पताल उच्च जोखिममा देखिएपछि कोभिड संक्रमण फैलन नदिनका लागि आन्तरिक कार्ययोजना बनाएर काम गर्ने विषयमा जिल्लामा रहेका अस्पतालसँग छलफल भइसकेको तिवारीले बताएका छन्।
संक्रमण फैलिन नदिन अस्पतालमा जाँदा बिरामीको साथमा एक कुरुवा मात्र पठाउनुपर्ने, कुरुवा फेरिन नहुने, अस्पतालमा उपचारका लागि गएका र कुरुवा बसेका व्यक्तिहरु कम्तीमा एक हप्ता होम क्वारेन्टिन पालना गरी बस्ने र अन्य व्यक्तिको सम्पर्कमा नजान केन्द्रको सुझाव छ।




