| शनिबार, बैशाख ८, २०८१

कर्मचारी नहुदा सिङला स्वास्थ्य संस्था एक महिनादेखि बन्द

धार्चे गाउँपालिका ५ को सिङला स्वास्थ्य संस्था एक महिनादेखि स्वास्थ्यकर्मीविहिन भएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी ब्यबस्थापन गर्न नसक्दा संस्था बन्द भएको स्थानीय माहिला गुरुङले बताए ।
यसअघि सो स्वास्थ्य संस्थामा एक अहेब र दुई अनमी कार्यरत थिए ।साविकको जिल्ला विकास समितिले कर्मचारी ब्यबस्थापन गर्दै आएको थियो । स्थानीय सरकार गठन भएपछि सहयोग रोकिएको माहिला गुरुङले बताए । तर हिमालय यात्रा नामक संस्थाको सहयोगमा एक अनमीले सेवा दिँदै आएपनि साउनदेखि उसले पनि सहयोग रोकेको गुरुङले जानकारी दिए । ‘सहयोगी संस्थाले पनि अबदेखि सहयोग गर्न सक्दैनौ भन्यो’ उनले भने ‘हामीले स्वास्थयकर्मी चाहियो भनेर गाउँपालिकामा पटक पटक निवेदन दिएका छौं । नियुक्ति गर्छौ भन्ने आश्वासन मात्र आयो तर गाउँपालिकाले पनि कोही पठाउँदैन ।’ दुर्गम ठाउँमा बर्षायामको समयमा स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सम्बन्धी जोखिम रहेको उनको भनाई छ ।
‘सिङ्लाबाट अर्को गाउँ पुग्न साँढे तीनघण्टा लाग्छ । हाम्रो गाउँमा सामान्य औषधीपसल समेत छैन’, उनले भने ‘वर्षायाममा महामारी फैलन सक्छ । के कसो होला । हामी त बिरामी भएपनि उपचार नपाएर मरिहाल्छौं कि भन्ने पिर भो ।’
सिङला गाउँमा करीब दुई सय २० घरधुरी छन् । स्वास्थ्य उपचारका लागि लाप्राक स्वास्थ्य चौकी वा गुम्दा स्वास्थ्य चौकी जान बाध्य हुनुपरेको गाउँलेले बताएका छन् । दुबै स्वास्थ्यचौकी पुग्न करीब साढे ३ घन्टा हिड्नुपर्ने गुरुङले जानकारी दिए ।
गाउँलेहरु आइतबार भेला गरेर स्वास्थ्यकर्मी नियुक्तिका लागि गाउँपालिकालाई दबाब दिने निर्णय पनि गरेका छन् । उनीहरुले गाउँपालिकाको स्वास्थ्य शाखामा पनि स्वास्थ्यकर्मी नियुक्तिका लागि ध्यानकर्षण गराएका छन् । स्वास्थ्य शाखाका कर्मचारी आयुष गुरुङका अनुसार करारमा स्वास्थ्यकर्मी नियुक्तिका लागि गाउँपालिकाले निर्णय गर्नुपर्ने हुन्छ ।
गाउँपालिकाको तर्फबाट स्वास्थ्यकर्मी नियुक्ति गर्न आर्थिक समस्या भएपनि विभिन्न गैह्रसरकारी संघसंस्थासँग स्वास्थ्यकर्मी ब्यबस्थापनका लागि समन्वय भैरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्