| आइतवार, कार्तिक २२, २०८३

गोरखाका युवाहरुमा मुटुरोगको समस्या बढ्दै

गोरखाका युवाहरुमा मुटुरोगको समस्या बढ्दै गएको देखिएको छ । गोरखा अस्पतालमा दुई दिनसम्म भएको मुटुरोग शिविरमा उपचार गराउन आएकामध्ये धेरैजसो युवामा मुटुको कुनै न कुनै समस्या रहेको पाइएको हो । धेरैजसो युवामा उच्च रक्तचापको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले बताए । खानपान, जीवनशैली र ब्यायामको अभावका कारण युवाहरुमा मुटुको समस्या बढ्दै गएको पाइएको उनको भनाई छ । दुई दिनसम्म चलेको शिविरमा १ हजार १३ जनाले उपचार गराएका छन् । जसमध्ये ३४ जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको डाक्टर भट्टराइको भनाई छ । शिविरमा २ शय ३६ जनाको इको, ४ शय ७ जनाको इसिजि, ७० जनाको ल्यावटेस्ट र ४२ जनाको मुटुको एक्सरे गरिएको शिविरका संयोजक एवम् रोटरी क्लव अफ गोरखाका पूर्व अध्यक्ष पवनरमण खनालले बताए ।

मुटुको शल्यक्रिया गर्नुपर्ने ३४ जनालाई सेभ द हर्ट नामक संस्थाले काठमाण्डौंमा निशुल्क उपचारको प्रवन्ध गर्ने उनले जानकारी दिए । शिविरमा मनकामना बहिरा मावि, मानव सेवा आश्रम, बालमन्दिर मावि र महेन्द्रज्योती माविका बालबालिकाहरुको पनि मुटु जाँच गरिएको थियो । रोटरी क्लव अफ गोरखा, रोट्रयाक्ट क्लव अफ गोरखा, सेभ द हर्ट, गोरखा अस्पताल र मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको संयुक्त आयोजनामा शिविर भएको हो । आगामी वर्षदेखि निशुल्क मुटु उपचार शिविरलाई विद्यालय तहसम्म लैजाने योजना रहेको रोटरी क्लव अफ गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्