| आइतवार, कार्तिक २२, २०८३

सरकारी डाक्टरको आन्दोलन : बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार

सरकारी डाक्टरहरुले बुधबारदेखि आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् ।

सरकारी चिकित्सकको समायोजनको विषयमा आफूहरुको माग पूरा नगरेको भन्दै उनीहरुले आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने बताएका हुन् ।सरकारी चिकित्सक संघ (गोदान) ले आइतबार सरकारलाई ७२ घण्टे अल्टिमेटम दिँदै माग पूरा नभए आकस्मिकबाहेकका सेवा ठप्प पार्ने बताएका हुन् । संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बुधबार नै पर्ने स्वास्थ्य सेवा दिवसको कार्यक्रम पनि आफूहरुले बहिस्कार गर्ने बताए ।

‘हामीले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएका छौं, त्यतिबेलासम्म माग पूरा नभएमा बुधबार आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने र र त्यसै दिन पर्ने स्वास्थ्य सेवा दिवसको कार्यक्रम पनि बहिस्कार गर्छौं’ उनले भने ।

वार्ता निश्कर्षविहीन

सोमबार स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवसँग सरकारी चिकित्सक संघका प्रतिनिधिले गरेको वार्ता विना निश्कर्ष सकिएको छ । अध्यक्ष पाण्डेका अनुसार स्वास्थ्य राज्यमन्त्रीले सरकारी डाक्टर समस्यामा परेको र यो विषय समाधान गर्नुपर्ने पक्षमा भए पनि कुन प्रक्रियाबाट गर्ने भन्नेमा निर्णय दिन नसकेकाले वार्ता निश्कर्षमा नपुगेको हो ।

‘सरकारी चिकित्सकहरु समस्यामा परेका हुन् भनेर स्वीकार गर्नुहुन्छ, उनीहरुको वृत्ति विकासमा असर परेको पनि स्वीकार्नुहुन्छ, माग जायज छ भन्ने पनि स्वीकार गर्नुहुन्छ’ उनले भने ‘तर कुन प्रक्रियाबाट समाधान गर्ने भन्ने विषयमा निर्णय दिन सक्नुभएन ।’

राज्यमन्त्रीले थप गृहकार्य गरेर फेरि वार्तामा बस्ने बताएका छन् । ‘अर्को वार्ताको मिति तोकिएको छैन, रेडी भएर बस्नु भन्नुभएको छ’ अध्यक्ष पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस्