
एसईईको नतिजा उत्कृष्ट बनाउन सर्वपक्षीय भूमिका
एसर्ईईलाई वर्तमान नेपालको शैक्षिक प्रणालीको एउटा महत्पूर्ण खुड्किलो मानिन्छ, जसले विद्यार्थीको उच्च शिक्षाको बाटो निर्धारण गर्छ । यसको नतिजाले विद्यार्थीको भविष्य मात्र होइन, देशको समग्र मानव संसाधन विकासमा पनि प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले, एसईईमा उत्कृष्ट नतिजा ल्याउनका लागि गरिने पहल आजको नितान्त आवश्यकता हो ।
तर केही बर्षयता एसईइको नतिजा सार्वजनिक हुँदा देशमा सकारात्मक भन्दा नकारात्मक तरंग पैदा हुने गरेको छ । पहिलेका र अहिलेका विद्यालय उस्तै हुन्, शिक्षक उस्तै हुन्, विद्याथी त्यस्तै हुन्, अभिभावक पनि उस्तै हुन् । नतिजाको प्रकृति पनि उस्तै हो तर, केहीबर्ष यताको नतिजापछि आलोचनाको ग्राफ भने निकै उकालो लागेको छ ।
नतिजाले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीच खुसी, हर्षोल्लास, उत्साह फैलिनुपर्ने, तर तेस्रो पक्षको तीब्र आलोचनाका कारण शिक्षकहरुले शिर निहु¥याउनु पर्ने अवस्था छ जसले गर्दा, अध्यापन गराउँदै आएका शिक्षकहरुमा निराशा, सन्नाटा आउँछ । एसईईको नतिजामा शिक्षकको मात्र सतप्रतिशत भूमिका हुदैन । राम्रो वा नराम्रो नतिजामा धेरै कारण, धेरै आयामहरु छन् । हेर्ने, विश्लेषण गर्ने दृष्टिकोण कुन हो भन्ने मात्र फरक हो ।
शैक्षिक गुणस्तर सुधारका लागि समय सापेक्ष पाठ्यक्रम, अनुभवी र तालिमप्राप्त शिक्षक, पर्याप्त शैक्षिक सामग्री, आधुनिक शिक्षण विधि र प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक र व्यावहारिक शिक्षालाई पनि उत्तिकै महत्व दिनुपर्छ । विद्यार्थीमा उपलब्धी मूल्यांकन गर्दा केवल एउटा परीक्षा सर्वेसर्वा होइन ।
परीक्षाका बेला बिरामी हुने विद्यार्थीको नतिजा नराम्रो आउँछ । यसको अर्थ उसको स्तर गएगुज्रिएको छ भन्ने होइन । विद्यार्थीको वास्तविक सिकाइ, बुझाइ र विश्लेषण क्षमताको मूल्याङ्कन गर्ने विधि विभिन्न खालको बनाउनुपर्छ । निरन्तर आन्तरिक मूल्याङ्कन प्रणालीलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।
एसईईमा उत्कृष्ट नतिजा ल्याउन केवल विद्यार्थीको मात्र जिम्मेवारी होइन, यसमा शिक्षक, अभिभावक, विद्यालय प्रशासन, सरकार र समुदाय सबैको सक्रिय भूमिका अपरिहार्य छ । यदि हामी सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक पहल ग¥यो भने, एसईईको नतिजा साँच्चिकै उत्कृष्ट हुनेछ र यसले समृद्ध राष्ट्र निर्माणमा महत्वपूर्ण टेवा पुग्नेछ ।




