दुर्गमको दुख दुहाइ गराऊ
हरेक समस्याले सताउने भएकाले त्यस्ता ठाउँलाई दुर्गम भनिएको हो कि, नेपालको सन्दर्भमा मात्र त्यस्तो देखिएको हो, दुर्गममा सबै कुराको दुख छ । खाने शुद्ध पानी छ, उपभोक्ताको घरघरमा छैन । ठूलो जमिनको भूभाग छ, गरी खाने उर्वर खेतबारी छैन ।
न सडक छ, न भरपर्दो टेलिफोन सुबिधा । न इन्टरनेट सेवा, न स्वास्थ्य सेवा । न स्वास्थ्य सेवा, न शिक्षाको सेवा । अरु त अरु, हिड्ने बाटो पनि दुर्गममा सुरक्षित छैन ।
चुमनुब्रीको अलिक सुगम ठानिने सिर्दिबासको पाङसिङको एक विद्यालयमा प्रधानाध्यापक गायब भएको तीन महिना भयो । न विद्यालय जान्छन्, न सम्पर्कमै रहन्छन् ।
उनको अनुपस्थितिका कारण त्यहाँ अध्ययरत १२० जना विद्यार्थीको भविष्य अन्धकारतर्फ उन्मुख हुदैछ । उनी नहुँदा रिक्त रहेको दरबन्दीको पदपूर्ति भएको छैन । त्यहाँ कार्यरत एक शिक्षिकाले तलब पाएकी छैनन् । अर्कीले पाउनु पर्ने जति पाएकी छैनन् । छात्रवृत्ति पनि वितरण नभएको दुई बर्ष भयो ।
गाउँपालिकाको केन्द्र रहेको ठाउँको अबस्था यस्तो हुँदा पनि नियमन भएको छैन । शिक्षा विकास तथा समन्वय इकाइ गाउँपालिकाले नियमन गर्ने हो भनेर स्थानीय शिक्षा इकाइतिर औंला तेस्र्याउँछ ।
कुन कुन क्षेत्रमा काम गर्ने हो भनेर स्पष्ट नआएको भन्दै गाउँपालिका पन्छन्छ ।
यसले मारमा त्यहाँका निर्दोष बालबालिका परेका छन् । दुर्गम सो ठाउँमा कसैको नजर पुगेको छैन । दुर्गमबासीमाथि बिभिन्न समस्याको खातैखात छ । त्यसैले सम्बन्धित सबैको ध्यान त्यसतर्फ पुगोस् । दुर्गमको हर किसिमको दुखको दुहाइ होओस् ।




