
खरबुजा खेतीलाई बढवा देऊ
यो गर्मीको याममा खरबुजा निकै लोकप्रिय बनेको छ । तिर्खा मेटाउन र शरीरलाई सितलता प्रदान गर्न बजारमा खरबुजा किन्नेको भीड लाग्ने गरेको छ । केही दिनयता स्थानीय फलफूल बजारमा ब्यापार पनि राम्रो छ । गोरखामा मात्र नभै देशभर खरबुजाको माग बढिरहेको छ ।
तर खरबुजा विशेषगरी भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । यदि नेपालमै, अझै गोरखामै खरबुजा खेती गर्न सकेको भए यसले राम्रो बजार पाउने थियो र किसानको आयआर्जन पनि बढ्ने थियो । यही मनन गरी गोरखा नगरपालिका १० छेपेटारको मुलुकी कृषि सहकारी संस्थाले यसबर्ष गोरखाको दरौंदी बगरमा व्यवसायिक खरबजुा खेती राम्रो हुन्छ वा हुँदैन भनेर परीक्षणका रुपमा खेती गरेको थियो । अहिले यसको राम्रो उत्पादन भइरहेको छ ।
आगामि बर्षहरुमा यस सहकारीले र यसकै देखासिकीमा अरु व्यक्ति तथा सहकारीहरुले पनि खरबुजा खेती गर्नेछ र राम्रो आयआर्जन गर्नेछ । साथै खरबुजाका नाममा बाहिरिने नेपाली मुद्रा देशभित्रै रहनेछ । लामो समयदेखि बाँझो वा बालुवा मात्र देखिने दरौंदीका बगरहरू अहिले खरबुजाहरुले भरिएका छन ।
स्थानीय मुलुकी कृषि सहकारीले यस वर्ष परीक्षणका रूपमा सुरु गरेको व्यावसायिक खरबुजा खेतीले राम्रो उत्पादन दिन थालेपछि स्थानीय कृषक र सरोकारवालाहरू उत्साहित बनेका छन् । यो सफलताले केवल एक सिजनको उब्जनी मात्र दिएको छैन, बरु नेपालको माटो र हावापानीमा खरबुजा खेती सम्भव छैन भन्ने भ्रमलाई समेत चिरेको छ । परम्परागत खेतीबाट खासै लाभ लिन नसकेका किसानका लागि खरबुजा नगदे बालीका रूपमा आम्दानीको बलियो स्रोत बन्न सक्छ ।
नदी किनारका बालुवायुक्त बगरहरू, जहाँ अन्य बाली सप्रिँदैन, त्यहाँ खरबुजाले राम्रो उत्पादन दिनुले भूमि उपयोगको नयाँ मार्ग प्रशस्त गरेको छ । यदि गोरखामै व्यावसायिक रूपमा ठूलो परिमाणमा उत्पादन गर्न सके खरबुजाका नाममा बाहिरिने करोडौँ नेपाली मुद्रा स्वदेशमै रोकिनेछ ।




