| मङ्लबार, कार्तिक २४, २०८३

सुन्तला कृषकका समस्या हल गर

राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम गोरखा कार्यान्वयन एकाइको तथ्याङ्कलाई बिश्वास गर्ने हो भने यस बर्ष जिल्लामा सुन्तला उत्पादन बढेको देखिन्छ । १५ देखि २० प्रतिशतको दरले उत्पादन बढेको कार्यालयको दावी छ । पछिल्ला केही बर्षयता उत्पादनमा क्रमश ह्रास आएर चिन्तित बनेका किसानलाई यो बर्षको तथ्याङ्कले केही खुशी पक्कै थपिदिएको छ । उत्पादन बढेसँगै आम्दानीमा पनि उनीहरु सन्तुष्ट पक्कै छन् ।

तर बिडम्वना यो बर्षको उत्पादन बृद्धिले सुन्तला कृषकलाई दिएको खुशी क्षणिक मात्र हो । बर्षाैदेखि उनीहरुले भोग्दै आएका समस्याले अझै निकास पाउन सकेको छैन । बोट मर्ने, टुप्पा सुक्ने, दाना सानो लाग्ने जस्ता समस्याले उनीहरुलाई पिरोलिरहेको छ । यसबाट उनीहरुले छुटकारा पाउन सकेका छैनन् । वगैचा सुदृढिकरणको आवश्यकता देखिन्छ । यस्ता समस्याहरुबाट छुटकारा पाउन सम्बन्धित कार्यालयले बिशेष पहलकदमी चाल्नुपर्ने हो ।

तर ती कार्यालयको काम पनि कछुवा गतिमा छ । कृषकको आवश्यकता भन्दा आफूखुशी कार्यक्रम संचालन हुने गरेको आरोप छ । जसका कारण बेलाबखत कार्यक्रमको प्रभावकारीतामामाथि नै प्रश्न चिन्ह उठ्ने गर्छ । सुन्तला खेती जिल्लामा अझै पनि कतिपय किसानहरुको जिविकोपार्जनको मुख्य स्रोत हो । बालबच्चाको पढाइ खर्च देखि घरखर्चसम्म त्यही खेतीले धान्नुपर्ने बाध्यता उनीहरुलाई छ । तर उनीहरुको समस्यामा सम्बन्धित कार्यालयको चासो कमै पुग्ने गरेको देखिन्छ ।

किसानहरु स्वयमबाटै यी गुनासोहरु सुनिन्छन् । यस्ता समस्या समाधानका लागि तत्परता देखाउनु सम्बन्धित कार्यालयको दायित्व हो । उत्पादन बृद्धिका लागि बिभिन्न योजना र कार्यक्रम लागू गर्न कन्ज्यूँस्याई गर्नुहुदैन । गोरखाको सुन्तला भनेर एउटा छुट्टै पहिचान बनिसकेको अवस्थामा यसको संरक्षण र प्रवद्र्धनमा जुट्नु जरुरी देखिन्छ । जोन क्षेत्र लागू भएको जिल्लाका सुन्तला किसान निराश हुनुपर्ने अवस्था नआओस् ।

प्रतिक्रिया दिनुहोस्