भाडा बढाउने गल्ती नहोस्
गोरखाको ग्रामीण सडकमा यातायात सञ्चालन गर्दै आएको यातायात ब्यबसायी गोरखाले सवारी भाडा दर बढाउन लबिङ गरिरहेको छ । बिगत बर्षमा ग्राभेल भएका बाटो पनि कच्ची भएको, इन्धनको मूल्यवृद्धि भइरहेको, पार्टपूर्जाको भाउ बढेको, चालक, सहचालक लगायतका मजदुरको पारिश्रमिक बढेको लगायतका कारण पेश गर्दै समितिले भाडा बढाउन माग गरेको हो ।
केही दिनअघि बसेको भाडा समायोजना सिफारिस कार्यदलको बैठकले तत्काल भाडा नबढाउने ब्यहोराको सिफारिस गरेको छ । सरकारले हालसालै बढाएको भाडा बाध्यकारी रुपमा पालना गर्नै पर्ने भएपछि फेरि जिल्ला स्तरको निर्णय गरेर थप भाडा बढाउन मनासिब नहुने कार्यदलको दाबी छ । सोही सिफारिसलाई सिरानी हाल्दै जिल्ला भाडा समायोजन समितिको बैठकले तत्कालका लागि भाडा नबढाउने निर्णय गरेको छ ।
तत्कालका लागि भाडा नबढाउने भन्नुको अर्थ केही समयपछि बढाउने भन्ने बुझिन्छ । ग्रामीण सडकका लागि पनि साबिकको भाडादरको १० प्रतिशत त बाध्यकारी रुपमा बढिसकेको छ । १० प्रतिशत बृद्धि गर्दैमा पार्टपूर्जाको मूल्यवृद्धि, इन्धनको मूल्यवृद्धि, मजदुरको तलव वृद्धि जस्ता व्यबहारिक पाटोको सम्बोधन भइसकेको छ । फेरि त्यही कारण देखाएर थप गर्नुको औचित्य छँदै छैन ।
समितिको तर्क छ, गोरखाको परिवेश बेग्लैछ भन्ने । गोरखा नेपालभित्रैको भूभाग होइन र ? यदि कच्ची सडकको कारण देखाएर वृद्धि गर्ने हो भने, ती कच्ची सडक त कात्तिक, मंसीरदेखि फेरि ग्राभेल हुनेछ । के फेरि माघ, फागुनतिर बैठक बसेर भाडा घटाउँछ ? यो सम्भव छैन । इतिहासमा यस्तो घटना देखिएको छैन । भाडा बढेपछि बढ्यो बढ्यो । त्यसैले भाडा बढाउने गल्ती नहोओस् ।




