खच्चड पनि चेकजाँच गर्नुपर्छ
उत्तरी गोरखा र तिब्बतको सीमा नाकाबाट अवैध सामान ओसारपसार हुने गरेको छ । कतिपय सामान तल्लो भेगबाट तिब्बती भूभागतिर जाने गरेका छन् भने कतिपय सामान तिब्बततिरबाट आई काठमाडौं वा भारत निकासी हुने गरेको छ ।
केहीसमय अघि अर्बौं रुपियाँको चिरुको रौं तिब्बततिरबाट उत्तरी गोरखा हुदै तल्लो भेगतर्फ आउने क्रममा बरामद भयो । त्यस्तै तल्लोभेगबाट अथाह जडिबुटी नाका हुदै तिब्बती क्षेत्रतर्फ जाने गरेको छ । छेकम्पारसम्म, सामागाउँसम्म, सिर्दिबासम्म भनेर पूर्वी, पश्चिमी नेपाल तथा भारतदेखि आएका जडिबुटी नाका हुदै अवैध रुपमा निकासी हुने गरेको छ । तल्लो भेगबाट लगिएको गाईगोरु तथा तिनका सुकुटी पनि अवैध रुपमा नाका कटाइने गरेको पाइन्छ ।
सीमावर्ती क्षेत्रमा हुने गरेका अवैध गतिबिधि नियन्त्रण गर्न गृहमन्त्रालयले हेलिकोप्टर उँडानमा कडाइ गरेको छ । अनुमतिप्राप्त क्षेत्रभन्दा जथाभावी उडान गर्ने गरेका हेलिकोप्टरले अवैध गतिबिधि गर्ने गरेका हुनसक्छन् । आरोही ओसार्न भन्दै आधारशिविर वा त्यो भन्दा पनि माथिल्लो स्थानमा हेलिकोप्टर आवत जावत गर्ने गर्छन् । ती हेलिकोप्टर सही नियत वा वद्नियतले त्यस क्षेत्रमा गएका हुन्छन् भन्ने बारे अध्ययन तथा निरीक्षण नियमन गर्नुपर्छ ।
त्यतिमात्र होइन, जालीका जाल अनेक हुनसक्छन् । बिभिन्न सामान ओसार्ने भन्दै खच्चडहरुले अवैध सामान ओसारपसार गर्नसक्छन् । उपभोग्य सामग्री वा निर्माण सामग्री ओसारेर फर्केका खच्चडहरुले पनि यस्ता सामान ओसार्न सक्छन् । त्यसको पनि सघन चेकजाँच गर्नु जरुरी छ । यसो भन्दैमा त्यस भेगमा अवैध गतिबिधि मात्र हुन्छन्, अत्यन्तै सावधान हुनुपर्छ भन्न खोजिएको होइन । हुनसक्छन् मात्र भन्न खोजिएको हो । त्यसतर्फ सजग, सचेत र सावधान हुनुपर्छ ।




