| बिहिबार, अशोज ७, २०८३

एक मात्र सरकारी क्याम्पसलाई धरासायी हुनबाट जोगाउँ

गोरखाको एक मात्र सरकारी र एक मात्र जेठो क्याम्पसको रुपमा रहेको गोरखा क्याम्पस जिल्लाको नै प्रतिष्ठा हो । आसपासका जिल्लाहरुमा समेत क्याम्पस नहुँदा यहाँ मात्र रहेको सो क्याम्पसमा लम्जुङ, तनहूँ, धादिङ लगायतका जिल्लाबाट समेत विद्यार्थीहरु पढ्न आउँथे । यसरी स्थापित धरोहर अहिले आर्थिक रुपले धरासायी बन्दै गएको छ ।
४८ वटा दरबन्दी रहेको यहाँ अहिले जम्मा ३५ जना मात्र पदपूर्ति छ । २१ जना शिक्षकको तलब आन्तरिक स्रोतबाट जुटाउनु पर्ने अबस्था छ । तह र बिषयको आधारमा नभै नहुने शिक्षकहरु पनि विश्वविद्यालयले पूर्ति नगर्दा क्याम्पसको आर्थिक अबस्था जटिल बन्दै गएको      छ । कारणबश कुनै शिक्षकको सरुवा हुँदा विश्वविद्यालयले सो को पदपूर्ति गर्ने गरेको छैन । मृत्यू भएका तथा अवकास पाएका शिक्षकको पद पनि पूर्ति गरेको छैन ।
एकातिर क्याम्पसले समयको माग अनुसारको विषयहरु थप गर्दै लगेको छ भने अर्कातिर दरबन्दी अनुसारको शिक्षक बढाउनुको साँटो घटाउँदै लगेको छ । जसले गर्दा क्याम्पसमा शिक्षको चरम अभाव देखिएको छ । विभिन्न बाध्यताले गर्दा शिक्षकहरु तनाबमा रहेर पढाउनु पर्ने अबस्था छ । तनाबमा रहेर पढाउँदा शिक्षकले गुणस्तरीय शिक्षा दिन सकेका छैैनन् । क्याम्पसले अहिले साइन्स र म्यानेजमेन्ट सुरु गरिसकेको छ । दूर शिक्षाको अबधारणा अघि सारेको छ । समयको माग पूर्ति गर्दै जाने क्याम्पसको लक्ष्य, उद्देश्य छ तर क्याम्पसले भोगेको आर्थिक संकटले गन्तव्यमा पुग्न उत्साहित बनाउनुको साँटो निरुत्साहित गराएको छ ।
गोरखा नगरपालिकामा रहेको सो क्याम्पसको स्तरवृद्धि गर्न, धरासायी हुनबाट जोगाउन तथा गन्तव्यमा अघि बढाउन स्थानीय तहले समेत प्राथमिकताका साथ सहयोग गर्नुपर्छ । अन्य विभिन्न सरोकारवाला निकायहरुले पनि होस्टेमा हैसे गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्