मनास्लु क्षेत्रमा होटल ब्यबस्थित छैनन्
गोरखाको पर्यटनको झण्डै ७५ प्रतिशत हिस्सा मनास्लु क्षेत्रले ओगटेको छ । यहाँ आंशिक रुपमा देशी र अत्याधिक रुपमा विदेशी पर्यटक आउने गर्छन् । बार्षिक करिब सातहजार विदेशी पर्यटक यस क्षेत्रमा आउँछन् । देशी, विदेशी पर्यटक आउने क्रम बर्षेनी बढ्दै छ ।
तर सदरमुकामबाट धेरै टाढा रहेकाले यस क्षेत्रमा प्रशासनको निगरानी कम छ । जसले गर्दा त्यस क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, टिसप, लजहरु दर्ता भएका छैनन् । दर्ता नभै सञ्चालन हुँदा राज्यलाई कर पनि तिरेका छैनन् । एकातिर अनाधिकृत रुपमा कर छली गरेर सञ्चालन हुने, अर्कातिर मनपरी दररेट कायम गर्ने गरेकाछन् । यो अब्यबस्था हटाउन र पर्यटकमा सकारात्मक सन्देश फैलाउन जरुरी छ । त्यतिमात्र होइन, पर्यटक लिएर आउने गाइड तथा भरियाले खाए, बसेको शुल्क नतिर्ने र व्यबसायीलाई अप्ठ्यारोमा पार्ने गरेको पनि पाइन्छ । यस्ता अब्यबस्था हटाएर पर्यटकीय क्षेत्रमा सुब्यबस्था कायम गर्नु जरुरी छ । त्यसका लागि स्थानीय तह, मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) र आवश्यक परे जिल्ला प्रशासन, प्रहरीको समेत ध्यानाकर्षण हुनपर्छ । हालै एमक्यापले संयुक्त पर्यटन ब्यबस्थापन उपसमिति गठन गरेको छ । समितिले मनास्लु क्षेत्रभरि सञ्चालित होटलहरुमा दररेट कायम गर्ने निर्णय गरेका छन् । त्यस्तै गाइड तथा भरियाहरुलाई टोकनको अनिबार्य ब्यबस्था गर्ने निर्णय गरेका छन् । यद्यपि यो निर्णय असोज पहिलो सातादेखि लागु गर्ने जनाएका छन् ।
पर्यटन ब्यबसायलाई ब्यबस्थित गर्ने, पर्यटकमा सकारात्मक सन्देश प्रबाह गर्ने र पर्यटन उद्योगको हितको पक्षमा हुने गरी बिभिन्न नीति नियम अबलम्बन गर्नुपर्छ । यसका लागि सरोकारवाला पक्षले बेला बेला अनुगमन, निरीक्षण समेत गर्नुपर्छ ।




