| सोमवार, कार्तिक २३, २०८३

विपद सामना गर्न सामुहिक तत्परताको खाँचो

अहिले देशभरि भीषण बर्षा भइरहेको छ । बर्षाका कारण जताततै बाढी, पहिरोको संत्रास फैलिएको छ । राजमार्ग, सहायक मार्ग, पदमार्ग जताततै पहिरैपहिरो छ । घर, गोठ, खेतबारी पहिरोले लगेको छ । कैयौँ जनधनको क्षति भएको छ । कैयौँ घाइते तथा कैयौँ घरबास बिहिन भएका छन् ।
यो अबस्थामा भरसक यात्रामा ननिस्कौँ । निस्किनै परे सुरक्षितपूर्वक यात्रा गरौँ ।
अहिले जताततै भयावह अबस्था भएपछि जिल्ला–जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने गरी जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा पूर्वतयारी गर्न सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार ‘कमाण्ड पोष्ट’ खडा गरी विपद्बाट धनजन जोगाउने कार्यक्रम भइरहेका छन् ।
विभिन्न राजनीतिक दल तथा उनीहरुका भातृसंगठनहरुले पनि विपद् विशेष कार्यदल बनाएर स्वयंसेवा गरिरहेका छन् । प्रेस विज्ञप्ति जारी गरी सजग, सचेत, सुरक्षित रहन अपिल गरिरहेका छन् । साथै उनीहरुले पिपद्मा परेकालाई सुरक्षितपूर्वक उद्धार गर्न, तात्कालीक र दीर्घकालीक राहतका प्याकेज प्रदान गर्न तथा क्षति भएका घरगोठको यथासीघ्र पुनर्निर्माणको प्रवन्ध गर्न अपिल गरिरहेका छन् ।
मौसम विज्ञान विभागले यस बर्षको मनसुनमा धेरै बर्षा हुने भएकाले सुरक्षा रणनीति अपनाउन पूर्व सूचना गरिसकेको छ । यसबाट हरेक नागरिक सचेत हुनुपर्छ । विपद्बाट बचाउने सरकारको दायित्व हो, तर त्योभन्दा पनि महत्वपूर्ण जिम्मेवारी त नागरिकको हो । पहिले आफू सुरक्षित हुनुपर्छ , अनि परिबार, आफन्तजन, समाज, समुदायलाई सुरक्षित राख्नु हरेक नागरिकको कर्तव्य हो । व्यक्तिको तागतबाट नहुने काममा सामाजिक संघसंस्था तथा सरकार तत्पर हुनुपर्छ ।
विपद कसैको पक्ष, कसैको विपक्ष होइन, विपद सबैको विपक्ष हो, त्यसैले सबैले विपद्बाट बच्न र बचाउन सामुहिक रुपमा डटेर सामना गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्