बाँदर आतंक सर्बत्र समस्या
बिगत दुई÷तीनबर्षदेखि जिल्लाभरि बाँदर आतंक ठूलै समस्याको रुपमा देखा परेको छ । खेतबारी बाँझो बस्न थालेपछि पहिले भन्दा अहिले जंगल र झाडी बढेको छ । जसले गर्दा गाउँको नजिकैसम्म जंगल जोडिन आएको छ । यसले गर्दा पनि बाँदरको गतिबिधि गाउँसम्म बढेको हो । त्यस्तै सिकार नियन्त्रण भएको छ । गाउँघरमा बन्दुक राख्न कडाइका साथ निषेध गरिएको छ । जसले गर्दा पनि बाँदरलगायत अन्य जंगली जनावरको संख्या बढेको छ । परिणमस्वरुप बाँदरको चकचकी बढेको हो ।
बाँदर अहिले जंगलको सीमा नाघेर खेतबारी र त्यसको पनि सीमा नाघेर घरघरमा पस्न थालेको छ । जुन गाउँ जाँदा पनि बाँदरको समस्या चर्को रुपमा उठेको सुन्नु पर्छ । भालु, बाँदर लगायत जंगली जनावरको समस्या समाधान गर्न चुमनुब्रीका गाउँहरुमा इलेक्टिूक तारबार गरिएको छ । गाउँपालिकाको सबैभन्दा ठूलो हिस्सा बजेट तारबारमा नै खर्च हुने गरेको छ । अहिले त सदरमुकाम आसपासका गाउँमा समेत यसले दुख दिएर बिछट्ट छ । जसले गर्दा किसानहरु खेतीबाली नै छोड्न बाध्य भएका उदाहरण पनि छन् । सांसद, मन्त्रीहरु गाउँघर कार्यक्रममा जाँदा किसानहरुले चर्को समस्याको रुपमा बादरको समस्या राख्ने गरेपछि यसबारे सदनमा समेत कुरा उठ्ने गरेको छ । सर्बोच्च अदालतले बाँदरले नष्ट गरेको खेतीबालीको क्षतिपूर्ति दिन सरकारलाई अन्तरिम आदेश जारीसमेत गरेको थियो ।
कुरा उठे पनि संसदले बाँदरविरुद्ध घातक निर्णय गर्न सक्दैन । त्यसैले केही घरेलु विधिहरु अपनाएर बाँदरलाई खेतीबाली नजिक आउन बचाउ गर्नुपर्छ । जस्तो मोलासिस घाँस खेती गर्नाले बाँदर भाग्छ । त्यस्तै हेरालु राखेर छेकबार गर्नाले पनि बाँदर आउन सक्दैन ।
सबै खेतबारीमा खेती गर्नाले जंगल, झाडी बढ्न पाउँदैन । यस खालको घरेलु विधि अपनाएर बाँदरबाट बच्नु, बचाउनु पर्छ ।




