| बुधबार, अशोज ६, २०८३

गोठ समिति जस्ता संस्कृति जोगाउनु पर्छ

बिभिन्न गाउँका आ—आफ्नै राम्रा नराम्रा संस्कार संस्कृति हुन्छन् । तिनीहरुमध्य बिकृति भए हटाउनु पर्छ, संस्कृति भए जगेर्ना गर्नुपर्छ । धार्चे गाउँपालिकाका बिभिन्न गाउँहरु पनि संस्कार संस्कृतिले धनी छ । त्यहाँ राम्रा नराम्रा दुवैथरी संस्कृति छन् । गोठ मेला पनि एउटा संस्कृति हो । थिति बसाल्ने खालको यो समितिको काम सह्रानीय छ । गोठ समितिले गोठ सार्ने तिथि मिति तय गर्छ । कसैको बस्तुभाउले बिराए जरिबाना गर्छ । जरिबाना बापत संकलित रकमले लेक, खर्क, गोठमा जाने बाटोघाटो मर्मत सम्भार गर्छ । घासे जंगल संरक्षणको काम गर्छ । यसको आफ्नै विशिष्टता छ । त्यसैले यो संस्कृतिको संरक्षण गर्नुपर्छ । अहिले संघ, प्रदेश र स्थानीय तह पनि जनप्रतिनिधिले भरिभराउ भएको छ । गाउँपालिका, वडाहरुमा अध्यक्ष, उपाध्यक्ष, सदस्यहरु गाउँटोलमा छन् । परेको बेला, चाहिएको बेला उनीहरु उपस्थित हुन सक्छन् तैपनि गोठ समिति जीवित छ । जीवित हुनुपर्छ पनि । जसरी सामुदायिक वन व्यबस्थापनका लागि वन समिति छ, विद्यालय व्यबस्थापनका लागि विद्यालय व्यबस्थापन समिति छ, साहित्य, संस्कृतिको संरक्षण तथा गतिबिधि सञ्चालन गर्न साहित्यिक, सांस्कृतिक समितिहरु छन्, बिभिन्न आमा समूह, युवा क्लवहरु छन् । उनीहरुले आफ्नै क्षेत्रका काम गरिरहेका छन् भने गोठलाई ब्यबस्थित बनाउन गोठ समिति हुनु पनि त्यस्तै हो । यसलाई स्थानीय तहको समानान्तर निकाय मान्नु भन्दा पनि सहयोगी संस्थाको रुपमा लिनुपर्छ । यस्ता समिति र उनका राम्रा कामहरुलाई प्रश्रय दिनुपर्छ । नराम्रो काम यदि गरेको छ भने हटाउनु पनि पर्छ ।

प्रतिक्रिया दिनुहोस्